जीडीपीमा ८१ र रोजगारीमा ८५ प्रतिशत निजी क्षेत्रको योगदान

0
Shares

काठमाडौं । देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको एक अध्ययन देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पु¥याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख छ ।

‘नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र अवरोध’ शीर्षकको प्रतिवेदनले आर्थिक वर्ष २०११÷१२ देखि २०२०÷२१ सम्मको तथ्यांकलाई विश्लेषण गर्दै नेपालमा निजी क्षेत्रको योगदान र वर्तमान सन्दर्भको मूल्यांकन गरेको छ ।

प्रतिवेदन नेपालको सम्पूर्ण निजी क्षेत्रका लागि बृहत् आधार रेखा सिर्जना गर्ने पहिलो प्रयास गरेको जनाइएको छ। प्रतिवेदनले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको स्न्यापसट प्रदान गर्न प्रकाशित र अप्रकाशित दुवै माध्यमिक डेटाको विश्लेषणलाई संयोजन गरेको छ ।

१८ वटा क्षेत्रको औसत मूल्य अभिवृद्धिलाई ध्यानमा राख्दै विगत तीन दशकमा निजी क्षेत्रका प्रतिष्ठानहरूको संख्या उल्लेखनीय रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ । सन् १९८३ मा २८ हजार ६६० निजी प्रतिष्ठानहरु सन् २०१८ मा ९ लाख २३ हजार ३५६ वटा पुगेको छ। निजी क्षेत्र नेपालको सबैभन्दा ठूलो रोजगारदाता रहेको उल्लेख छ । जहा“ कुल श्रमशक्तिको ८५ दशमलव ६ प्रतिशतलाई रोजगारी दिइएको प्रतिवेदनमा उल्लेख छ। देशको श्रमशक्तिको ठूलो हिस्सा कृषि, वन, माछापालन (५७ प्रतिशत) र सवारीसाधन मर्मत (१२ दशमलव ५ प्रतिशत ) सहित थोक तथा खुद्रा व्यापारमा कार्यरत छ। २०१८ सम्म निजी क्षेत्रले करिब ५५ मानिसलाई रोजगारी दिएको छ, जबकी सार्वजनिक क्षेत्रले ४ लाख २७ हजार मानिसलाई रोजगारी दिएको छ। लगानीमा वृद्धि ७१ द्यशमलव ६ प्रतिशत छ। देशभित्र हुने कुल लगानीको ७६ दशमलव ९ प्रतिशत निजी क्षेत्रको हिस्सा रहेको अध्ययनमा उल्लेख छ।

प्रतिवेदनअनुसार कुल आयकरको ८० प्रतिशत योगदान निजी क्षेत्रबाटै हुने गरेको छ। सन् २०२१÷२२ मा निजी क्षेत्रले आयकरवापत सरकारलाई ७४९ मिलियन बुझाएको छ। त्यसैगरी, सूचीकृत कम्पनीहरूले ५६० मिलियन आयकर बुझाएका छन्।

प्रतिवेदनमा कोभिड–१९ को प्रभाव नाप्न र दिगोपन र जलवायु परिवर्तनका बारेमा उनीहरुको चेतनाका लागि ५१७ नेपाली फर्महरूको सर्वेक्षण समावेश गरिएको थियो । सर्वेक्षण गरिएका फर्महरूमध्ये आधा थोक र खुद्रा व्यापारमा थिए, १३ प्रतिशत होटल र आवास क्षेत्रमा थिए, र १२ प्रतिशत उत्पादनमा थिए। आधा फर्महरूले वाणिज्य बैंकहरूबाट ऋण लिएका थिए, र लकडाउनमा ८७ प्रतिशत प्रभावित भए, ६३ प्रतिशत पूर्ण रूपमा बन्द। ७९ प्रतिशतले लकडाउनका बेला राजस्व गुमेको अनुभव गरे । तर, ५० प्रतिशतले लकडाउनपछि नाफामा रहेको बताएका छन् । अध्ययनमा सहभागीमध्ये ७१ प्रतिशत व्यवसाय पुरुषका नाममा दर्ता भएको पाइएको छ भने २१ प्रतिशत व्यवसाय महिलाका नाममा दर्ता भएर सञ्चालन भएका छन्। महिला पुरुष दुवैको स्वामित्व दर्ता भएर सञ्चालनमा रहेका व्यवसायको संख्या ५ प्रतिशत छ। अन्यको संख्या ३ प्रतिशत छ।

त्यस्तै पछिल्लो एक दशकमा औसतमा निजी क्षेत्रको कुल गार्हस्थ्य मूल्यअभिवृद्धिमा योगदान क्षेत्रगतरूपमा हेर्दा कृषि ९७ दशमलव ६ प्रतिशत , खानी उत्खनन्मा ९९ दशमलव ६१ प्रतिशत , उत्पादनमुलक क्षेत्रमा ९९ दशमलव ९९ प्रतिशत , विजुली, ग्यासलगायतमा ६५ दशमलव ८८प्रतिशत रहेको छ ।

त्यस्तै खानेपानी आपूर्ति व्यवस्थापनमा ९६ दशमलव ७१ प्रतिशत , निर्माण क्षेत्रमा ८४ दशमलव ४ प्रतिशत , थोक तथा खुद्रा व्यापारमा ९३ दशमलव १९ प्रतिशत , यातायात तथा भण्डारणमा ९७ दशमलव १८ प्रतिशत , होटल रेष्टुरेन्टमा शतप्रतिशत, सूचना प्रविधिमा ५८ दशमलव ६३ प्रतिशत , वित्तीय क्षेत्रमा ७१ दशमलव शून्य ४ प्रतिशत , घरजग्गामा ९९ दशमलव ९३ प्रतिशत , व्यावसायिक, वैज्ञानिक तथा प्रविधि क्षेत्रमा ६४प्रतिशत , प्रशासनिक सहयोगमा शतप्रतिशत, स्वास्थ तथा सामाजिक कार्यमा ३० दशमलव ६१ प्रतिशत , शिक्षामा ६२ दशमलव ९ प्रतिशत र मनोरञ्जन क्षेत्रमा ८६ दशमलव ४ प्रतिशत योगदान रहेको प्रतिवेदनमा उल्लेख छ।