सिन्धुलीका गाईबस्तुमा ’लम्की स्किन’ सङ्क्रमण, तीनपाटनमा २३ वटा गाई गोरु मरे 



सिन्धुली । 

सिन्धुलीका विभिन्न स्थानमा गाईबस्तुमा देखिने लम्की स्किन रोगको सङ्क्रमण जोखिम बढ्दै गएको छ । झन्डै तीन महिनादेखि सिन्धुलीको तीनपाटन गाउँपालिका भरिका गाईबस्तुमा लम्की स्किन रोगको सङ्क्रमण देखिएको छ । लम्की स्किन रोगको सङ्क्रमणका कारण अहिले सम्म गाउँपालिकाको विभिन्न वडाका किसानले पालेको २३ वटा गाईगोरु, बाच्छाबाच्छी मरेको तीनपाटन गाउँपालिकाको पशु शाखा प्रमुख जयन्त कार्कीले जानकारी दिनुभयो ।

शाखा प्रमुख कार्कीका अनुसार माहामारी कै रुपमा फैलिएको लम्की स्किन रोगको सङ्क्रमण गाउँपालिकाको ११ वटै वडामा फैलिएको छ । पशु शाखाले सङ्कलन गरेको तथ्याङ्क अनुसार किसानले पालेका २ हजार ३ सय २६ गाई गोरु, बाच्छाबाच्छीमा लम्की स्किन रोगको सङ्क्रमण देखिएको शाखा प्रमुख कार्कीले बताउनुभयो ।

वडा नं. १ मा २ सय ६१, वडा नं. २ मा ३ सय, वडा नं. ३ मा १ सय ७०, वडा नं. ४ मा २ सय, वडा नं. ५ मा १ सय ६०, वडा नं. ६ मा ४ सय, वडा नं. ७ मा २ सय २०, वडा नं. ८ मा २ सय, वडा नं. ९ मा २ सय १५, वडा नं. १० मा १ सय र वडा नं. ११ मा १ सय १० वटा गाईबस्तुमा लम्की स्किन रोगको सङ्क्रमण देखिएको शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उक्त रोगको सङ्क्रमण झन् फैलदै गएकाले सजगता अपनाउन किसानहरुलाई आग्रह समेत गरेको छ । ‘गाईवस्तुको शरीरमा फोका आउने, फोका फुट्ने, घाउ हुने, ज्वरो आउने लगायत पक्स समूहको काप्रिपक्स भाइरस बाट लाग्ने लम्की स्किन रोगसँग मिल्दोजुल्दो लक्षणहरु देखिएको छ,’ शाखा प्रमुख कार्कीले भन्नुभयो । हाल सम्म लम्की स्किन रोग विरुद्धको खोप नेपालमा उपलब्ध नभएकाले ज्वरोको औषधी र अन्य उपचारहरु मात्रै गरिएको शाखा प्रमुख कार्कीले बताउनुभयो ।
लम्की स्किन रोग र यसको जोखिमलाई नियन्त्रण गर्न औषधी वितरण र उपचार कार्यक्रम सञ्चालन भइरहको शाखा प्रमुख कार्कीले बताउनुभयो । औषधी तथा उपचारमा गाउँपालिकाको ७ लाख रुपैयाँ खर्च भइसकेको कार्कीले बताउनुभयो ।

केही समययता सिन्धुलीको नौ स्थानीय तह मध्ये सुनकोसी गाउँपालिका बाहेक अरु आठ वटा स्थानीय तहका गाईवस्तुहरुमा लम्की स्क्नि रोगको सङ्क्रमण देखिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिकामा लम्की स्क्नि रोगको कारण ६ वटा गाईबस्तु मरेको, १ हजार ९ सय ८३ मा सङ्क्रमण देखिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली पशु चिकित्सक नवराज थापाले बताउनुभयो । , गोलन्जोर गाउँपालिकामा लम्की स्किन रोगका कारण ९ वटा गाईबस्तु मरेको, ३ सय ३५ गाईबस्तु सङ्क्रमित भएको, मरिण गाउँपालिकामा २ वटा गाईबस्तु मरेको, १ हजार ३६ गाईबस्तु सङ्क्रमित भएको पशु चिकित्सक थापाले बताउनुभयो ।

फिक्कल गाउँपालिकामा एउटा मरेको, १ सय ६० गाईबस्तु सङ्क्रमित देखिएको, हरिहरपुरगढी गाउँपालिमा एउटा मरेको, २ सय १६ गाईबस्तु सङ्क्रमित भएको , दुधौली नगरपालिकामा २ हजार १४९ र घ्याङलेख गाउँपालिकामा ४७ वटा गाईबस्तुमा लम्की स्किन रोग देखिएको पशु चिकित्सक थापाले जानकारी दिनुभयो । लम्की स्किन रोग र यसको जोखिमलाई नियन्त्रण गर्न अहिले किसानलाई सजगता सचेतनामूलक कार्यक्रमहरु मात्रै सञ्चालन भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्