विद्यालयद्वारा नगरपालिका, शिक्षा विकास र समन्वय इकाईको निर्देशन उल्लङ्घन 

0
Shares

भद्रपुर । 

 झापाको एक सामुदायिक विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई  उल्लङ्घन गर्दै पाँच जना शिक्षकलाई हाजिर हुन दिएको छैन । झापा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिले मावि तहका शिक्षक सृजना प्रसाईँ, कमला राई, सहित शिक्षकहरु सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र शर्मिला अधिकारीलाई विद्यालयमा हाजिर हुन नदिएको हो ।

व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई  उल्लघङ्न गर्दै शिक्षकलाई हाजिर हुन दिएका छैनन् । भद्रपुर नगरपालिका कार्यालयमा वैशाख १२ गते भएको सहमति अनुसार शिक्षकलाई हाजिर हुन नदिएको विद्यालयले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाले वैशाख २० गते पत्र नै लेखेर शिक्षकलाई हाजिर गराउन भने पनि व्यवस्थापन समितिका अध्यक्ष मिश्रको ठाडो निर्देशनमा विद्यालयका पाँच जना शिक्षकलाई हाजिर गराइएको छैन । वर्तमान कानुनले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ र अभिलेखीकरण सहित प्रशासनिक काम शिक्षा समन्वय ईकाईले गर्छ तर यी दुवै निकायको निर्देशन मान्दिन भन्दै  व्यवस्थापन समितिका अध्यक्ष मिश्रले बताउँदै आएको पाइएको छ । नयाँ शैक्षिक सत्र शुरु भएदेखि वैशाख ५ गतेदेखि सो विद्यालयका मावि तहका शिक्षक  प्रसाईँ, राई, पौडेल, अधिकारीद्धयलाई हाजिर हुन दिइएको छैन ।

 विद्यालय व्यवस्थापन समितिले निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेपछि त्यसको विरोध गर्दै मावि शिक्षिका प्रसाईँले उच्च अदालतमा मुद्दा दर्ता गराएकी थिइन् । अदालतले पोखरेललाई प्रधानाध्यापकका रुपमा काम नगर्नु भनी रोक लगाए पछि व्यवस्थापन समितिले सोही विद्यालयकी मावि तहकी वरिष्ठ शिक्षक कौशल्यादेवी आचार्यलाई प्रधानाध्यापक नियुक्त गर्न बाध्य भएको थियो । आचार्यलाई प्रधानाध्यापक नियुक्ति गरेपछि प्रसाईँ सहित पाँच जना शिक्षकहरुले त्यसको स्वागत समेत गरेका थिए । तर व्यवस्थापन समितिको निमावि तहका शिक्षक पोखरेललाई प्रधानाध्यापक बनाउने निर्णय नमानेको र अदालतमार्फत निर्णय उल्टाएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष मिश्र र शिक्षक अभिभावक सङ्घका अध्यक्ष ज्ञानेन्द्र कटुवालले शिक्षक प्रसाईँ र डिल्लीराम अधिकारीलाई हाजिर हुन रोक लगाएका छन् । शिक्षक प्रसाईँ र अधिकारीलाई साथ दिँदै अन्य तिन शिक्षिका राई, पौडेल र शर्मिला अधिकारीले हाजिर नगरी व्यवस्थापन समितिलाई सबैलाई हाजिर गराउन दबाब दिँदै आएका छन् ।

कानुनको धज्जी उडाउँदै शिक्षकलाई हाजिर हुन नदिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्रले पाँच शिक्षकलाई हाजिर गर्न ५० लाख रकम माग गरेको यस अघि नै सार्वजनिक भइसकेको छ ।

सहमति भएअनुसार लिखित पत्र लिएर विद्यालय गए पनि हाजिर नगराएको पीडित शिक्षिका प्रसाईँले बताउनुभयो । अभिभावक लगायत बाल क्लबलाइ उचालेर नगरपालिका र समन्वय इकाइको निर्णय नमान्नु अचम्म लागेको उहाँँहरुको भनाइ छ । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्र र अभिभावक सङ्घका अध्यक्ष कटवालसँग सम्पर्क हुन सकेन ।

समन्वय इकाइ र नगरपालिकाको निर्देशन नमान्नु विद्यालयको दादा गिरी भएको नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताउँनुभयो । सर्वदलीय सर्वपक्षीय भेलाबाट भएको सहमति विद्यालयले नमान्नु गैर जिम्मेवार पन  भएको उहाँको भनाइ छ । मेयरसहितको छलफलमा भएको सहमति मान्नैै पर्ने  मेयर गणेश पोखरेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले समेत चासो लिइसकेको हुँदा यो समस्या चाडै टुङ्गो लगाइने उहाँले जानकारी दिनुभयो ।

 भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले व्यवस्थापन समितिले कानुन विपरीत काम गरेको बताउनु भएको छ । शिक्षा ऐन र निर्देशिकामा हुँदै नभएको विषयमा निर्णय गरेर कानुन हातमा लिने काम गरेको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताउनु भयो । समितिले स्थायी शिक्षकलाई हाजिर गर्न रोक लगाउन पाउँदैन तर पुहाँतु माविमा त्यो काम भइरहेको बताउनु भयो । ‘स्थायी शिक्षकलाई हाजिर गर्न दिन्न भन्नु कानुन विपरीत हो,’ अधिकृत रेग्मीले भन्नुभयो, ‘नगरपालिकामा लिखित सहमतिको उल्लङ्घन र शिक्षा समन्वय कार्यालयले हाजिर गराउन दिएको लिखित निर्देशनलाई समेत नमान्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई छैन, यो गलत हो ।’ रेग्मीले शिक्षकहरुले कानुन पालना गर्दै शैक्षिक गतिविधिमा लाग्नु पर्ने बताउनु भयो ।

समितिले दुई जना शिक्षकलाई काजमा पठाउने निर्णय गरेर नगरपालिकालाई पत्र पठाएको भए पनि त्यो कानुन विपरीत भएको रेग्मीले बताउनु भयो । ‘विद्यालय व्यवस्थापन समितिलाई काजमा शिक्षक सरुवा गर्ने अधिकार छैन,’ रेग्मीले भन्नुभयो, ‘तर कानुन विपरीत निर्णय गरेर व्यवस्थापन समितिले पत्र पठाएको छ ।’
नगरपालिकामा पाँच घण्टासम्म चलेको सर्वपक्षीय छलफलमा भएको सहमति समेत व्यवस्थापन समितिले कार्यान्वयन नगरेको रेग्मीले बताउनु भयो ।