रेमिट्यान्स २४ प्रतिशतले वृद्धि : ११ महिनाको आयात धान्ने वैदेशिक मुद्राको सञ्चिति

0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह २४ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ८ प्रतिशतले घटेको थियो। सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१ दशमलव ५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ जना पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५ दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९ दशमलव ९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ खर्ब ९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव ४ प्रतिशतले घटेको थियो ।

यसैबीच गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७ दशमलव ९ प्रतिशतले वृद्धि भई चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा चैत मसान्तमा १४ दशमलव ८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा चैत मसान्तमा २० दशमलव ६ प्रतिशतले वृद्धि भई १२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा चैत मसान्तमा शून्य दशमलव २ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड पुगेको छ । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव १ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६ दशमलव ६ प्रतिशत, ७८ दशमलव ९ प्रतिशत र २४ दशमलव ४ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २४ दशमलव ६ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।