बनाउँदै नबनाएको ट्युबेलको नाममा लाखौं हिनामिना

0
Shares

काठमाडौं । नवलपरासीको देवचुली र दुम्किवासमा बनाउँदै नबनाएको ट्युबेलको काम गरेको भनी लाखौं रकम हिनामिना गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पम्प हाउस, स्टोरेज ट्याङ्की र वितरण प्रणाली निर्माण कार्यको ठेक्कामा राज्यकोषको रकम हिनामिना भएको पाइएको हो ।

ठेकेदार र उपभोक्ता समिति मिलेर झुटो बिल भरपाई पेस गरी भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वुटवल, रूपन्देहीबाट ९ लाख ३२ हजार ५ सय ४८ रुपिया“ ७३ पैसा भुक्तानी लिइएको थियो । सो कार्यमा संलग्न डिभिजनका कर्मचारी, ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । मुद्दामा कार्यालयका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिनीलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, भोलेबाबा कन्स्ट्रक्सन र सोका प्रोप्राइटर, ठेकेदार सुकबहादुर गुरुङ र कन्स्ट्रक्सनको तर्फबाट अख्तियारी प्राप्त प्रकाश भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगलाई प्राप्त उजुरीलाई अनुसन्धानको क्रममा हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले बताउनुभयो ।

सबैको मिलोमतोमा ठेक्कामा सम्झौता अनुसारको कार्यमा फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा नभए नगरेको कामलाई भए गरेको भनी बढी काम गरेको देखाइएको थियो । झुटो बिल बनाई प्रथम रनिङ बिलको भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ ले परिभाषित गरेको कसुर गरेको पुष्टि हुन आएकोले तत्कालीन प्रमुख श्रेष्ठलाई भुक्तानी लिएको रकम बराबर बिगो कायम गरी सजाय र बिगो असुल उपरका माग दाबी लिइएको छ ।

त्यस्तै, ठेक्काको म्याद थप तथा बीचैमा काम छोड्ने ठेकेदारलाई नियमानुसारको कारबाही नगरी भुक्तानीसमेत दिई जमानतको म्याद समाप्त भई फुकुवासमेत हुने गरी भएगरेको कामबाट हानिनोक्सानी भएको रकम, ठेक्का व्यवस्थापनमा बदनियतसाथ लापरबाही गरी ठेक्काको उद्देश्य पूरा नहुने गरी बीचैमा कामलाई अलपत्र पारी भए÷गरेको लगानीको प्रतिफल शून्य हुने गरी भए गरेको कामबाट ५३ लाख ७५ हजार २ सय रुपिया“ र ३२ पैसा हानिनोक्सानी भएको आयोगले जनाएको छ । हानिनोक्सानी भएको बिगो रकम जरिवानाका लागि मागदाबी लिइएको छ ।

त्यस्तै, तत्कालीन इन्जिनियर दासले उक्त निर्माण कार्यमा नगरेको कामलाई भए गरेको हो भनी बढी काम गरेको देखाई झुटो बिल बनाई स्वीकृतिका लागि पेस गर्नुभएको थियो । दासलाई पनि श्रेष्ठलाई जस्तै रनिङ बिल र हानी नोक्सानी गरेको बिगो असुल उपरको मागदाबी लिइएको छ । त्यसै गरी लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध पनि हानिनोक्सानी बराबरको रकम असुलउपरको मागदाबी लिइएको छ । ठेकेदारहरूलाई पनि कडा सजाय र बिगो असुलउपर गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ ।