५ सय भन्दाबढी चौरी गाईको पुच्छरसहित ४ जना प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौं ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट बुधबार सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरको ५ सय ५६ वटा चौरी गाईको पुच्छर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकास कुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ बर्षीय उमेश बहादुर बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० बर्षीय सुमन मान्नधर र धनुषा जिल्लाको हसपुर नगरपालिका ४ बस्ने ३७ बर्षिय मोहमद अजिन रहेका छन् ।

काठमाडौंबाट जलेश्वरहुदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा उल्लेखित मुल्य बराबरको चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको छ ।