‘भ्रष्टाचार नियन्त्रणमा नयाँ खालको लडाई’ : प्रधानमन्त्री

0
Shares

काभ्रे। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ खालको लडाई सुरु भएको बताउनु भएको छ । ‘जनयुद्धमा जनताले जसरी साथ दिनु भयो त्यसरी नै भ्रष्टाचार नियन्त्रणमा साथ दिनु हुने अपेक्षा गरेको छु’–प्रधानमन्त्री दाहालले भन्नुभयो–‘भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रको साथ आवश्यक छ ।’

काभ्रेपलाञ्चोक जिल्लाको विकट पालिका महाभारतमा सडक शिलान्यास तथा विद्युत्तको केन्द्रीय प्रसारण लाइन मार्फत १ हजार ५ सय घरमा बल्न थालेको बिजुली बत्तिको उद्घाटन गर्न बुढाखानीको किल्ला पुग्नु भएका प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । आसन्न भारत भ्रमणमा विद्युत् उत्पादन र प्रसारणका बारेमा सम्झौता हुने बताउँदै प्रधानमन्त्री दाहालले दुई वर्षमा पूर्ण रुपमा नेपालका सबै बस्ति र घरधुरीमा बिजुली पु¥याईसक्ने लक्ष्य रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरे लगत्तै विगतमा अपमान गरिएका, पछि पारिएका क्षेत्र र ब्यक्तिका हकमा काम सुरु गरेको बताउँदै कर्णाली, सुदूरपश्चिम जस्तै महाभारत र खानिखोलालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । ‘खानिखोला पुग्ने खोपासी ताल्ढुंङ्गगा सडक, च्याम्राङ्गबेशी सडक, महाभारतका सबै सडक र कोखाजोर खोलामा विद्युत् उत्पादनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुने छ’–प्रधानमन्त्री दाहालले भन्नुभयो–‘बागमती प्रदेश सरकार तथा स्थानीय दुई पालिका खानिखोला र महाभारतले सुरु गरेको जनमुक्ति लोकमार्गको कार्यलाई थप प्राथमिकता दिने छौं ।’ पाँच वर्ष भित्र विकास र सुशासन हेर्न पर्यटकहरू महाभारत र खानिखोला आउने गरी कार्य गर्न सरकारको तर्फबाट समन्वय हुने प्रधानमन्त्रीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले २०७४ मा बुझाएका गाउँपालिकाका आवश्यकतालाई संघ र प्रदेश सरकारले प्राथमिकतामा राखिदिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पालिकालाई समृद्ध बनाउन महत्त्वपूर्ण सहयोगको अपेक्षा रहेको बताउनु भयो । महाभारत गाउँपालिका प्रदेश भित्रकै कम बेरुजु भएको पालिकाका रुपमा चिनिएको छ । सुशासनका हिसाबले पनि गाउँपालिकाले गरेको कार्यलाई ध्यानाकर्षण गराउँदै विकटतालाई सहज र सरल बनाउन सडक, विद्युत्, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारमा तिन तहकै सरकारले खेल्ने भूमिका महत्त्वपूर्ण हुने अध्यक्ष जिम्बाले बताउनु भयो ।

पूर्व राज्य मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ सांसद सूर्यमान दोङ्ग ‘लालध्वज’ले महाभारतको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले महाभारत र खानिखोला हुँदै मकवानपुर जोड्ने सडकलाई राष्ट्रिय राजमार्गका रुपमा विकास गरी जनमुक्ति लोकमार्ग निर्माणको कार्य प्रारम्भ गरिएको बताउनु भयो । मन्त्री दुलालले पछिल्लो समय विचार र व्यवस्था माथी नै आक्रमण सुरु भएको बताउनु भयो । प्रतिनिधि सभा सांसद रुकु चौलागाईले जनयुद्धमा व्यक्त गरेका सबै प्रतिवद्धताहरु क्रमशः पुरा गरिँदै जाने बताउनुभयो ।

बागमती प्रदेश सभा सांसद तथा पूर्व मन्त्री रत्न ढकालले विकट पालिकाहरुलाई प्रदेश सरकारलाई महत्वका साथ लिएको बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले विकासले अँध्यारो डाँडापारिलाई उज्यालो बनाउने अभियानलाई समन्वय गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सरकारी सेवा र शान्ति सुरक्षाबाट डाँडापारिलाई पछि पर्न नदिइने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादन, प्रसारण र हरेक नागरिकको घर घरमा बिजुली पु¥याउने अभियानलाई तीव्रता दिएको बताउनुभयो । कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत हरि सिं विष्ट, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।