रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो, परम्पराले निरन्तरता पाउने

42
Shares

ललितपुर । कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ ।

कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन खलः, संस्कृतिप्रेमी, सञ्चारकर्मी र प्रहरीको सहयोगमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति आइतबार त्यहाँबाट हटाएको थियो । प्रतिमूर्ति हटाएसँगै रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्पराको निरन्तरताको लागि सहज अवस्था बनेको हो ।

सुखी गछें समाजको अग्रसरतामा गत मंसिर १५ गते सो प्रतिमूर्ति प्रस्थापना गरिएको थियो । प्रतिमूर्ति स्थापना गर्नुअघि ललितपुरको महाबौद्ध परिसरमा एक समारोहका बीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सो मूर्ति हस्तान्तरण गरेपछि सयौं भक्तजनको लावालस्करसहित मूर्ति कीर्तिपुरतर्फ लगिएको थियो । महानगरपालिकाको करिब १७ लाख रुपियाँको सहयोगमा सो मूर्ति प्रसिद्ध मूर्तिकार एवं सम्पदा अभियन्ता रवि शाक्यले बनाउनुभएको थियो । त्यसपछि रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु संघ, बुं∙मतीले सो मूर्ति नहटाएसम्म यसपटकको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगःथां नजाने अडान लिएपछि प्रतिमूर्तिको विवाद उत्पन्न भएको थियो ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई भोटो जात्राको लागि थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिनअघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु) खाली खुट्टा हिँडेर प्यंगःथांमा पुगी शक्ति स्वरूपा कन्या (याकः मिसा) लाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ । प्यंगःथांको जुन मन्दिरमा मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसन सामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन । सो ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसालाई फूल–प्रसाद दिने गर्छन् । सो परम्परा उपत्यकाको ललितपुर र कीर्तिपुर नगरलाई जोड्ने धार्मिक र सांस्कृतिक प्रतीक थियो ।

कीर्तिपुरको सो स्थानमा मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना भएपछि शक्ति स्वरूपा कन्या कुमारीलाई प्रसाद ग्रहण गराउने परम्पराको औचित्यमाथि पानेजुहरूले प्रश्न उठाएको थियो । यसले गर्दा १४ सय वर्षदेखि चल्दै आएको सो परम्पराले निरन्तरता नपाउने स्थितिमा सबैतिरबाट चिन्ता र सरोकार व्यक्त गरिएको थियो । प्रतिमूर्ति राखिएसँगै सो परम्पराले यसपटक निरन्तरता पाउलान् कि नपाउलान् भनेर अन्योल छाएको थियो । सयौं वर्षदेखि चल्दै आएको धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिन प्रतिमूर्ति हटाउने निर्णय गरिएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताउनुभयो । जीवित परम्पराको निरन्तरताको शर्तमा प्रतिमूर्ति त्यहाँबाट हटाइएको र उक्त मूर्ति नगरपालिकामा सुरक्षित स्थानमा राखिएको जानकारी दिँदै मेयर नकर्मीले भन्नुभयो– ‘प्रतिमूर्ति प्यंगःथांमा राख्न हामीलाई पनि मन थियो । तर, सो परम्परासँग सम्बन्धित पानेजुले मूर्ति हटाउने अडान राखेपछि परम्पराको निरन्तरताको लागि मूर्ति हटाउनेबाहेक अरू विकल्प थिएन ।’

रातो मच्छिन्द्रनाथ तन्त्र साधनासँग जोडिएको हुनाले त्यसको प्रतिमूर्ति बनाउन नहुने तर्क गर्दै त्यहाँबाट हटाउन पुरातत्व विभाग, गुठी संस्थान र ललितपुर महानगरपालिकामा पानेजुहरू महिनौं दिन धाएका थिए । यस अवस्थामा गत पुस २५ गते पुरातत्व विभागले सो मूर्ति प्यंगःथांबाट हटाउन भनेको थियो । चैत्र १४ गते मंगलबार ललितपुर महानगरपालिकामा बसेको बैठकमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो मूर्ति त्यहाँबाट हटाएर गुठी संस्थानको बन्द कोठामा राख्ने बताउनुभएको थियो । तर, कीर्तिपुर नगरपालिकाको गत चैत्र २९ गते बुधबार बसेको बैठकले कीर्तिपुरबासीको धार्मिक आस्थालाई समेत मध्यनजर गरी नगरपालिकाले मूर्तिलाई कीर्तिपुरभित्रै व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले निर्णय गरे पनि धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको विषय भएकोले त्यसको कार्यान्वयन गर्न सहज थिएन । यसका लागि नगरपालिकाले स्थानीय दफा भजन खलः,संस्कृतिप्रेमीहरूसँग लगातार छलफल गर्दै आएको थियो । त्यस क्रममा स्थानीयले गत शनिबार प्रतिमूर्ति हटाई कीर्तिपुरमै व्यवस्थापन गर्ने हस्ताक्षर अभियान चलाएको थियो । करिब १ हजार ६ सय जनाको हस्ताक्षर संकलन गरी नगरपालिकामा बुझाइएपछि आइतबार जनप्रतिनिधि, प्रहरी, स्थानीय र सञ्चारकर्मीको रोहवरमा मूर्ति हटाइएको थियो । नगरपालिकाको प्रतिमूर्ति हटाउने निर्णयलाई जसरी जनअनुमोदन गराई जनताको सहभागितामार्फत् कार्यान्वयन गरेको छ, त्यसबाट सबैको जित भएको सन्देश प्रवाह गरेको प्रतिमूर्ति हटाउन निरन्तर परैवी गर्दै आएका अधिवक्ता प्रकाश अवालेको भनाई रहेको छ।

सदियौंदेखि चल्दै आएको परम्परा रोकियोस् भन्ने मनशाय नरहेको जनाउँदै सुखी गःछें समाजका सचिव नारायण महर्जनले भन्नुभयो – ‘हामीले पवित्र भावना र आस्था राखेर प्यंगःथांमा रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति राखेका थियौं । त्यसलाई झिक्न आउँदा पनि हामीले सहज रूपमा लिएका छौं ।’

यसैबीच प्रतिमूर्ति हटाउनुलाई पानेजु संघले पनि सकारात्मक रूपमा लिइएको छ । प्रसाद ग्रहण गराउन जाने परम्परालाई निरन्तरता दिने विषयमा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित गुठीयार, गुठी संस्थानसँग छलफल गरेर अघि बढ्ने छौं ।’ पानेजु संघका उपाध्यक्ष नरेन्द्र शाक्यले भन्नुभयो ।