नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँणसमेत मुछिएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा तत्कालीन गृह मन्त्रालयका कर्मचारीदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका नेताहरूसमेत मुछिएका छन् । पूर्व गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ८ जनालाई नियन्त्रणमा लिएपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, बादल पुत्र प्रतीक थापा र इन्द्रजित पुत्र निरज राईसमेत प्रहरीको फरार सूचीमा छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ती व्यक्तिहरूको खोजी भइरहेको अवस्थामा पूर्व गृृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणा र तत्कालीन गृहमन्त्रीपत्नी तथा सांसद मञ्जु खाँणसमेतको नाम चर्चामा आएको छ । आरजु र मञ्जुले समेत यस प्रकरणमा कर्मचारी सरुवादेखि सेटिङ मिलाउँदा रकम बुझेको भन्ने अडियो सार्वजनिक भएपछि प्रहरीले थप प्रमाण संकलनका लागि अनुसन्धान गरिरहेको बताएको छ ।

‘अडियोमाथि पनि अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसको वास्तविक तहसम्म नपुग्दासम्म केही भन्न सक्ने अवस्था छैन । अडियोमा उल्लेख गरिएका विषयहरूलाई तथ्यले पुष्टि हुने ठाउँ छन्÷छैनन् भनेर अनुसन्धान गरिरहेका छौं ।’

सार्वजनिक भएको अडियोमा आरजु राणाले साढे २ करोड र तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ ।

तर, आरजु र खाँणले उक्त अडियो सत्य नभएको दाबी गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा समेत आरजुले आफूमाथि झुटा आरोप लगाइएको भन्दै उक्त प्रकरणमा सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्नुभयो । बालकृष्ण खाँणको सचिवालयले पनि अडियोमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरिरहेको छ । एक वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी ठगी प्रकरणमा १ जनालाई पक्राउ गरेको बेला गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवमा टेकनारायण पाण्डे रहेका थिए ।

भुटानी शरणार्थी समस्या समाधान गर्ने सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरी काम अघि बढाएका थिए ।

तर, उक्त कार्यदलले बनाएको शरणार्थीसम्बन्धी प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक भएको छैन । यो प्रकरणमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूदेखि सचिवस्तरका कर्मचारीसमेत तानिँदै आएका छन् ।

सोही विषयलाई लिएर आइतबार र सोमबारको संसद् बैठकमा हंगामा मच्चिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरेका सांसद रायमाझीलाई पक्राउ गर्न रोक लगाउन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दुईपटक छलफल गरिसक्नुभएको विषय सार्वजनिक रूपमै बाहिर आएको छ ।

उता कांग्रेसका नेताहरूसमेत यो प्रकरणमा पर्ने डरले सल्बलाउन थालेको बताइएको छ । यद्यपि, कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने ठगी काण्डमा जोसुकै परे पनि कारबाही हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । उक्त प्रकरणमा दोषी कोही नछुट्ने र निर्दोष कोही नपर्ने गरी सरकारले आवश्यक अनुसन्धान अघि बढाइरहेको बताएको छ ।

यो प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन् । सन्दीप रायमाझी, सचिव पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई म्याद थप गरी थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।