पूर्ण सञ्जीवनी लङ्खनामाईलाई वार्षिकोत्सवमा नयाँ भवन



काभ्रे।

पूर्ण सञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालयको ६२ औँ वार्षिक उत्सव तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

सबैका लागि स्वास्थ्य र शिक्षा भन्ने संस्थाले निर्माण गरिदिएको चार कोठे पक्की भवनको नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भयो । संस्थाका अध्यक्ष नारायण अधिकारीले उक्त विद्यालय हस्तान्तरण गर्नु भएको थियो । उक्त संस्थाले पूर्वाधार लगायत विद्यालयको अन्य क्षेत्रमा सहयोग गर्ने अध्यक्ष अधिकारीले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय सरकार निर्वाचित भए लगत्तै शिक्षक दरबन्दी मिलान गरेको, विद्यालय एकीकरण गरी सुधारको प्रयास गरेको, २४ वटा विद्यालय भवन पुनर्निर्माण गरेको, संविधानले व्यवस्था गरे भन्दा माथि उठेर क्याम्पस तहसम्मको अध्ययनका लागि नगरपालिकाको तर्फबाट निःशुल्क व्यवस्थापन गरेको बताउनु भयो । ‘स्थानीय तथा प्रदेश र संघ सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि जति लगानी गरेको छ त्यति प्रतिफल लिन सकेको छैन’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘अन्य चरणका कार्य सम्पन्न भए पनि विद्यालयमा शैक्षिक गुणस्तरका कार्य अघि बढाउन कठिन भएको छ । यसलाई विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालयसँग सरोकार राख्ने सबै पक्षको बरोबर सहयोग, समन्वय र सहकार्य जरुरी छ ।’ एक वडा एक नमुना विद्यालय निर्माणको अभियानमा नगरपालिकाले विभिन्न खालको सहयोग प्रदान गरेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।

विद्यालय प्रधानाध्यापक गायत्री तिमल्सिना न्यौपानेले विद्यालयले विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण, बाल विकासमा सामाग्रीको माध्यमबाट अध्यापन, विद्यालय बस सञ्चालन, सिप सहितको शिक्षाका लागि सिलाई बुनाईको व्यवस्थापन, विभिन्न क्षेत्रका दाताहरुको सहयोगमा बालबालिकाहरूलाई पोसाक तथा अन्य विविध सहयोग उपलब्ध गराइएको बताउनु भयो । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरी निबन्ध, वक्तृत्वकला, कविता तथा लोकगीत जस्ता कार्यक्रममा विद्यालय उत्कृष्ट भएको बताउँदै प्रधानाध्यापक तिमल्सिनाले एसइई २०७८ मा नगरमै उत्कृष्ट भएको बताउनु भयो । शैक्षिक सत्र २०८० का लागि ४६ जना नयाँ विद्यार्थी भर्ना भई विद्यालयमा ३ सय ८५ जना विद्यार्थीहरु अध्ययन गरिरहेको उहाँले बताउनु भयो । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने, कम्प्युटर तथा प्रविधिको प्रयोग गराई कक्षा सञ्चालन गर्ने, हरेक विषयमा प्रयोगात्मक विधिबाट कक्षाहरु सञ्चालन गरिने, बालबालिकाहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी गराइने, उपचार सेवा, एक विद्यार्थी एक बिरुवाका लागि गमलामा वृक्षारोपण कार्यक्रम गरिएको उहाँले बताउनु भयो । आगामी वर्ष विद्यार्थीहरुका लागि छात्राबास सञ्चालन, भौतिक पूर्वाधारले सम्पन्न विद्यालयका रुपमा विकास गर्दै विभिन्न सेवाहरु उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट विद्यालयलाई सहयोग गर्ने संघ संस्था, व्यक्ति तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने दाताहरुले बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्