नक्कली कागजात बनाइ ठगी गर्ने दुई जना पक्राउ

0
Shares

कपिलवस्तु।

जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।

चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन् । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस –९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएपछि उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।

जग्गाधनी यादवलाई जानकारी नै नदिएर कृष्णनगर बस्ने रेखा लोहारसँग उनीहरूले चार लाख रुपैयाँमा जग्गा कारोबार गरेका थिए ।

मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटकगरी नक्कली राजिनामा तयार गरेका थिए । राजिनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपूर्जा उपलब्ध गराउने बताएका थिए ।

चार दिन बित्दासम्म पूर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन घलेले बताए ।