४६ वर्षपछि सदरमुकाममा पुर्जा

0
Shares

काभ्रे। 

धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्रीखण्डपुरका नागरिकहरुले जग्गा नापी भएको ४६ वर्षपछि पुर्जा प्राप्त गरेका छन् । सोमबार नगरपालिका प्रमुख अशोक ब्याञ्जुले पुर्जा तयार भएका जग्गा धनीहरुलाई पुर्जा वितरण गर्नु भएको छ ।

‘किसान आन्दोलन, भरपाई आन्दोलन गरेको श्रीखण्डपुरका केही नागरिकहरुले राजनीतिक तथा अन्य कारणबाट २०३४ सालमा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन्’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘२०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पुर्जा नभएका जग्गाधनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव भएन । पछि बनेपा, पनौती र धुलिखेलको सिमांकन विवाद देखाउँदै पुर्जा वितरण हुन सकेन । २०६७ सालमा डिजिटल नापी कार्यालय मार्फत पुनः नापी भए पनि विवादका कारण अघि बढ्न सकेन ।

२०७४ सालमा निर्वाचित भए लगत्तै सुरु भएको प्रयास सार्थक भएको छ ।’ ‘धुलिखेलमा नक्सा पास गरेको एसओएस बालग्रामले पनौती लेख्न थालेको छ, धुलिखेलमा बनेका स्कुल र केही भवनहरुले पनौतीमा नक्सा पास गरेका छन्’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘धुलिखेल पनौती भन्दा पहिल्यै नगरपालिका घोषणा भई कार्यान्वयनमा आएको हो । सरकारले गजेटमा श्रीखण्डपुर पञ्चायतका सबै भूभाग धुलिखेल नगरपालिकामा राखेको छ । श्रीखण्डपुर पञ्चायत भित्र पर्ने सबै जमिन धुलिखेल नगरपालिकाको हो । सिमांकन विवाद गरेर बखेडा निकाल्नुको अर्थ छैन ।’

श्रीखण्डपुरमा २०३४ सालमा नापी भएको २०७ नम्बर कित्ताको एउटा प्लटमा २८ रोपनी ५ आना जग्गा छ । ‘२०६६ सालमा उक्त जमिनमा ८५ घर धुरी थिए । १ आना मात्रै जमिन हुने नागरिकहरु पनि छन् । त्यही जमिनमा घर बनेको छ, भोगचलन छ तर पुर्जा छैन’–पूर्व वडा अध्यक्ष समेत रहेका पूर्णबहादुर कर्माचार्यले भन्नुभयो–‘जनप्रतिनिधिहरु र स्थानीयहरुको निरन्तरको संर्घष पश्चात् ४६ वर्ष पछि पुर्जा प्राप्त भएको छ । नागरिकहरु पुर्जा प्राप्त भए पछि खुसी भएका छन् ।’ पुर्जा नहुँदा भएको जमिन पनि अचल थियो । बैकमा राखेर गर्जो धान्नु पर्ने अवस्थाबाट नागरिकहरु बञ्चित थिए भने भूकम्पका समयमा पनि पुनर्निर्माणका लागि सम्झौताका लागि पुर्जा अनिवार्य गरिँदा लामो समय अनुदानबाट सोही क्षेत्रका नागरिक बञ्चित थिए । स्थानीय सरकारको विशेष निर्णय र पहलमा नागरिकहरुले भूकम्प पछिको पुनर्निर्माण गर्न सम्भव भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले लगातारको संर्घष पछि नागरिकहरुले पुर्जा प्राप्त गर्न सकेको बताउनु भयो । ‘अझै केही प्लटको जमिन डिजिटल नापी हुन सकेको छैन, छुट भएका नागरिकहरुको पुनः नाप जाँच गराएर पुर्जा वितरण गर्ने प्रक्रियाका लागि सहजीकरण गर्नेछौँ’–वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘२८६ कित्ताका १२ घर धुरी र अन्य छुट नागरिकका पुर्जा वितरणमा समन्वय गर्ने छौँ ।’

बनेपा नापी कार्यालयकी प्रमुख सरस्वती धितालले डिजिटल नापी सुरु भएको १३ वर्ष पुर्जा वितरण गर्न सम्भव भएको बताउनु भयो । ‘पहिले सिमाना विवाद, अनि भूकम्प, त्यस पछि कोरोनाका कारण नागरिकहरुलाई समयमै पुर्जा वितरण गर्न सकिएन’–नापी प्रमुख धितालले भन्नुभयो–‘छुट भएका नागरिकहरुलाई ६० दिन भित्र प्रक्रियामा आउन अनुरोध गरेका छौँ । सोही समयमा उजुरी दिने र १ सय २० दिन पछि सबै श्रेस्ता मालपोत कार्यालयलाई हस्तान्तरण गर्ने कानुनी प्रक्रिया भएकाले नागकिरहरुलाई समयमै उजुरी गर्न अनुरोध गरेका छौँ ।’ पुर्जा भएका नागरिकहरुलाई पनि डिजिटल पुर्जा वितरण गरिएको छ । साबिक श्रीखण्डपुर गाविस वडा नम्बर १ का ३२ जना, वडा नम्बर २ का ९३ जना र वडा नम्बर ३ का १ सय ५ जनाले डिजिटल नापी पछिको पुर्जा प्राप्त गर्नेछन् । उनीहरू सबैको जग्गा हालसाबिक गरिएको छ । यस अघि धुलिखेल वडा नम्बर ८ र ९ का रुपमा रहेको श्रीखण्डपुरमा वडा नम्बर ८ का नागरिकहरुलाई पुर्जा वितरण गरिएको थियो । यो प्रक्रियालाई निरन्तर अघि बढाइने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।