सशस्त्र प्रहरी बल, काभ्रेले मनायो २१ औ स्थापना दिवस

0
Shares

काभ्रे। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर, पाँचखाल नगरपालिका वडा नम्बर ३ कुरकुरेडाँडा काभ्रेपलाञ्चोकको २१ औ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्वु, काठमाडौका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।

‘सशस्त्र प्रहरी बलको स्थापनाको उद्देश्य अनुसार समुदाय र राष्ट्रका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ’– सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठले भन्नुभयो–‘मुलुकका हरेक विपद् तथा सङ्कटहरूमा मुख्य भूमिका खेलेको छ । नागरिकहरुको जिउ ज्यानको रक्षा तथा राष्ट्रको सुरक्षा संवेदनशीलतामा समेत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ ।’ गण र गणमा कार्यरत सशस्त्र प्रहरी मुलुकमा आई पर्ने हरेक समस्यामा नागकिरहरुको पक्षमा उभिनु पर्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विगतमा सशस्त्र प्रहरीले खेलेको भूमिका सहनीय रहेको बताउनु भयो । ‘संकट व्यवस्थापन तथा विपद् न्यूनीकरण र विपदमा परेकाहरुको उद्धार तथा पुनर्निर्माणमा खेलेको भूमिकाले नागरिकहरुको जिउ ज्यान बचाएको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘नागरिकहरुको पक्षमा निरन्तर सक्रिय हुँदै अब्बल हुनु आवश्यक छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटरबाट सप्ताहव्यापी कार्यक्रममा सहभागिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, वृक्षारोपण, विपद् व्यवस्थापन सम्बन्धी विद्यालय स्तरमा जनचेतना मूलक कार्यक्रम, चण्डेश्वरी मन्दिरमा सरसफाइ, अतिरिक्त क्रियाकलापहरूको प्रतिस्पर्धा गराएको थियो । सोही प्रतिस्पर्धामा उत्कृष्टहरू, पूर्व प्रहरीका परिवार, सहयोगीहरू तथा कार्यालयमा उत्कृष्टहरुलाई सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बलले विभिन्न समयमा गरेका महत्त्वपूर्ण कार्यक्रमहरुका बारेमा जानकारी गराइएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी अच्युतप्रसाद मजगैयाले स्थापना देखि हालसम्म विभिन्न स्थानमा रहेर गरेका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर २०५८ साल चैत्र ३ गते मन्त्रीपरिषद्को निर्णयबाट स्थापना भएको थियो । देवी कालिञ्चोक भगवती माताको नामाकरणबाट २०५९ वैशाख २४ गते चितवनमा स्थापना भएको उक्त गण २०६० भदौ १३ गते काठमाडौको किर्तिपुरमा स्थानान्तरण भएको थियो । २०६२ साल पुस २७ गते सोही स्थानबाट पुनः चोभार किर्तिपुरमा स्थानान्तरण भएको गण २०७६ वैशाख १६ गते देखि काभ्रेको पाँचखालमा स्थानान्तरण भएको थियो । जिल्लामा हुने हरेक विपद् तथा संकटमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका सहनीय रहेको सहभागीहरूले बताएका छन् ।