दलहरुको भविष्यमाथि प्रश्नचिह्न



अनिश्चित भविष्य बोकेर विदेशिने युवाको समूह ठूलो छ । कामको खोजीमा अहिले विश्वभर ६० लाखभन्दा बढी नेपाली पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकार रोजगारमूलक उद्योग स्थापना गर्नेतर्फ अग्रसर भएको देखिँदैन । सरकार भन्छ– अब केही वर्षमा नै नेपालीलाई कामको खोजीका लागि विदेशिनुपर्दैन । तर मुलुकको अवस्था हेर्ने हो भने अत्यास लाग्दो अवस्था छ । भएका उद्योगहरु धमाधम बन्द भएका छन् भने नयाँ खुलेका उद्योगमा पनि दलका कार्यकर्ताले ट्रेड युनियन खोलेर उद्योगलाई नै धराशायी पार्ने काम गरिरहेको देखिन्छ । मुलुकको आर्थिक अवस्था जरजर बन्दै जाँदासमेत सरकार रमिते बनेर बसेको छ ।

विश्व राजनीतिमा देखिएको उतारचढावले नेपाली नागरिक भोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ लाखौं युवा विश्वका श्रमबजारमा सस्तो मूल्यमा बेचिइरहेका छन् । खास गरी मध्यपूर्वमा रोजगारीका लागि गएका नेपालीहरुको अवस्था दयनीय छ तर त्यहाँ भएका नेपाली नियोगहरुले प्रभावकारी काम नगर्दा उनीहरुको अवस्था दिन–प्रतिदिन अत्यास लाग्दो अवस्थामा पुगेको छ । उत्पादनमूलक उद्योग स्थापना गर्न कुनै पनि दल वा सरकार सक्रिय भएको पाइँदैन । उनीहरुका भाषण केवल भाषणमा सीमित भएका छन् ।

जनआक्रोश बढ्दो अवस्थामा छ । सबैको मान्य हुनुपर्ने सरकार केवल केही व्यक्तिका लागि मात्रै प्रिय भएको छ । आज आम जनता सरकार र परम्परागत दलको विकल्पको खोजीमा देखिनु मुलुककै लागि दुःखद पक्ष बन्दै गएको छ । यहाँ कामभन्दा पनि चर्का भाषण गर्नेहरु जनताका प्रिय हुँदै गएका छन् । आफ्नै राजनीतिक भविष्य के हो भन्ने थाहा नपाएकाहरु अहिले लोकप्रिय बन्दै गएका छन् । हिजोका विभिन्न आरोह–अवरोहमा सहभागी भएका दलहरु फिक्का बन्दै गएका छन् । उनीहरुको नाम लिँदा जनता नाक खुम्च्याउने अवस्थामा पुदा पनि दलहरु भने मेरो गोरुको बाह्रै टक्का भन्ने उखानबाट पछि हटेको देखिँदैन । ती दलका नेताहरुले आफ्ना आसेपासे नातागोतालाई काखी च्याप्ने जुन काम गरेका छन् त्यसले उनीहरुको राजनीतिक भविष्य पनि त्यत्तिकै अन्यौल बन्दै गएको देखिन्छ । हुँदा–हुँदा जनताबाट अस्वीकृत भएर दरबारबाट निकालिएको शक्तिसमेत अहिलेको व्यवस्थाविरुद्ध धावा बोल्न थाल्दा दलहरु रमिते हुनुले उनीहरुको भविष्य के हो भन्ने प्रश्न उठ्न थालेको छ ।

अहिलेको तरल राजनीतिक अवस्थाबाट फाइदा उठाउने तत्वहरु सक्रिय हुन थालेका छन् । छिमेकी मुलुकहरुले समेत नेपालमा अस्थिरता पैदा गराउन आफ्नो भूमिकालाई सक्रिय बनाउँदै लगेका छन् । विडम्बना ! राज्य सञ्चालकहहरु भने रमिते बनेर कसलाई कहाँ लैजाने भन्दै मस्त छन् । यसले मुलुकको अहिलेको व्यवस्थामाथि प्रश्नचिह्न उठाइरहेको बेला सबै गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा विभिन्न कोणमा बाँडिनुले यो व्यवस्था धरापमा त पर्दै छैन ? भन्ने प्रश्न खडा गरिदिएको छ । त्यसैले दलहरु समयमै सचेत हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्