कामपाका अव्यवस्थित गन्जागोल तार आजबाट हटाइने

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउने जानकारी दिएको छ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजधानीको ११ क्षेत्रबाट तार हटाइने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सम्भवतः आजै सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले सबै केवल प्रदायक संस्थालाई तार हटाउन सार्वजनिक सूचना जारी गर्नेछ । प्राधिकरणले सूचना जारी गरेपछि हामी आजैबाट तार हटाउन शुरू गर्नेछौं ।’ यसअघि यही वैशाख ११ गते कामपाले सडक किनारामा भएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट््याग) लगाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

तार हटाउन आग्रह गर्दै मेयर साहले सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने बताउनुभएको थियो । उहाँले यसबाट कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्ने भए पनि कामपाबासीले कामपालाई साथ दिने अपेक्षा राख्दै शहरको सौन्दर्य मास्ने अव्यवस्थित तार हटाउन नगर प्रहरीलाई आग्रह गर्नुभएको थियो ।

कामपा प्रहरी प्रमुख पाण्डेका अनुसार माइतीघरदेखि कलंकीसम्म, माइतीघर, पुतली सडक हुँदै नारायणहिटीसम्म, त्रिपुरेश्वर हँुदै महारागञ्जसम्म, लैनचौर हुँदै बालाजुसम्म, डिल्लीबजार, बालुवाटार हुँँदै शीतल निवाससम्म, डिल्लीबजार हँुदै अनामनगरदेखि संसद् भवनसम्म, सोह्खुट्टे हँुदै अस्कल क्याम्पससम्म, सोह्खुट्टे नयाँबजार हुँदै क्षेत्रपाटीसम्म कुलेश्वर हँुदै बल्खुसम्म र सिनामंगल हुँदै शंखमूलसम्मको तार हटाइने भएको छ । उहाँले अनावश्यक तार हटाउन लामो समय लगाएर नक्साङ्कन गरिएको जिकिर गर्दै केही दिनको लागि कामपाका चारवटै क्षेत्रका प्रहरी अव्यवस्थित तार हटाउन परिचालन गरिने जानकारी दिनुभयो ।

मेयर साहले शहरलाई सुन्दर र व्यवस्थित बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि कामपा क्रियाशील रहेको बताउनुभयो । उहाँले अव्यवस्थित तारका कारण गएको वर्ष ५३ ठाउँमा आगलागी भएको तथ्यांक उल्लेख गर्दै तारको सञ्जाल व्यवस्थित बनाउने जस्ता कामको एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गर्नुभएको छ ।

यसअघि कामपाले जारी गरेको सूचनाको बर्खिलाफमा यही वैशाख १२ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको थियो । पत्रमा भनिएको थियो– ‘विभिन्न स्थानीय तहले सहरी सौन्दर्य कायम गराउने भनी दूर सञ्चार सेवा सञ्चालनका लागि सेवा प्रदायक कम्पनीले बिस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध काटिदिने क्रम बढेकोले यस कार्यले टेलिफोन, इन्टरनेटलगायत सेवाहरू अवरुद्ध भइ सेवाबाट वञ्चित हुनु परेको अवस्था देखिएको छ ।’ पत्रमा केवल नेटवर्कहरू अन्धाधुन्ध काट्दा ठूलो परिणाममा केवल नेटवर्क विदेशबाट आयात गर्नुपर्ने भई अनावश्यक रूपमा खर्च बढ्नुका साथै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने र शहरी सौन्दर्यमा संवेदनशील भई सेवा उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गरी तार व्यवस्थापनका लागि प्रयत्नशील रहनुपर्ने उल्लेख भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्न आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि पठाएको थियो ।

वैशाख ११ मा कामपाले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाएको थियो । सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरू दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केबुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरेको थियो ।

सडक किनारामा भएका धेरै पोलहरू विद्युत् प्राधिकरणका हुन् । केही सेवाप्रदायक संस्थाले नेपाल विद्युत् प्राधिकारणसँग अनुमति लिएर तथा शुल्क तिरेर पोलमा तार राखेका छन् भने धेरैले अनुमति लिएका छैनन् ।

दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक छन् । पोलको क्षमताभन्दा धेरै भार बोकेको पोलले शहरी सुन्दरतालाई गिज्याइरहेको छ ।

यी हुन् ११ क्षेत्र

१.न्युरोड गेटहुँदै वसन्तपुर, असन र भोटाहिटीसम्म
२.माइतीघर हुँदै कलंकीसम्म
३.माइतीघर–पुतलीसडक हँुदै नारायणहिटीसम्म
४.त्रिपुरेश्वर हुँदै महारागञ्जसम्म
५.लैनचौर हँुदै बालाजुसम्म
६.डिल्लीबजार, बालुवाटार हँुदै शीतल निवाससम्म
७.डिल्लीबजार, अनामनगर हुँदै संसद् भवनसम्म
८.सोह्खुट्टे हुँदै अस्कल क्याम्पससम्म,
९.सोह्खुट्टे, नयाँबजार हँुदै क्षेत्रपाटीसम्म
१०.कुलेश्वर हँुदै बल्खुसम्म
११. सिनामंगल हुँदै शंखमूलसम्म