होटल व्यवस्थापनका इन्टर्नसिपका विद्यार्थीलाई छात्रवृत्ति

0
Shares

काठमाडौं ।

नेपालमा पहिलो पटक होटल व्यवस्थापनका विद्यार्थीहरुलाई छात्रवृत्तिमा मध्यपूर्वी मुलुकका होटलहरूमा इन्टर्नसिपमा पठाइएको छ । ईन्टर्नसिपमा लागि विदेश जाने विद्यार्थीहरुबाट कन्सल्टेन्सीमार्फत् कलेजहरूले चर्को शुल्क असुल्दै आएको आरोप लागिरहेकै सन्दर्भमा पद्मकन्या क्याम्पसले पहिलो व्याजका ६ जना विद्यार्थीहरुलाई हवाई टिकट र भिसा प्रक्रियाका लागि ७५ हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।

क्याम्पसमा आइतबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्राडा श्रीकृष्ण खरेल, क्याम्पस प्रमुख डा. जयालक्ष्मी प्रधान र नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले विद्यार्थीहरुलाई छात्रवृत्तिको रकमसहित विदाई गरेका थिए । छात्रवृत्ति पाएकामध्ये दुई जना दुबाईस्थित हायात रिजेन्सी होटल र चार जना बहराइनस्थित लगुना बीच रिसोर्ट जादैँछन् ।

सो अवसरमा त्रिवि व्यवसथापन संकायका सहायक डिन श्रीकृष्ण खरेलले आवश्यक तयारी र पूर्वाधारविना पद्मकन्या क्याम्पसमा होटल व्यस्थापन विषयमा सुरु गरिएको र विद्यार्थी खोज्नसमेत ठूलो संघर्ष गर्नुपरेको अनुभव सुनाए । होटल व्यवस्थापन विभागका तत्कालीन प्रमुख रहेका खरेलले ल्याबका लागि नगरकोटको कन्ट्री भिल्ला होटलमा लैजानुपरेका विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर विदेशमा ईन्टर्नसीपमा जान लागेको सुन्न पाउँदा खुशी लागेको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले फ्रान्समा भेटिएका नाथमका विद्यार्थीले ठूलो रकम तिरेको अनुभव सुनाएको बताउँदै पद्मकन्या क्याम्पसले छात्रवृत्तिमा पठाउने उदाहरणीय र अनुकरणीय प्रयास रहेको बताए । निर्देशकले गौतमले इन्टर्नसिपमा जाने लागेका विद्यार्थीको अंग्रेजीको स्तर बढाउन पद्म कन्यामा गएर स्वयम्सेवकको रुपमा अध्यापन गरेका थिए ।

क्याम्पसका प्रमुख प्राध्यापक जयालक्ष्मी प्रधानले आंगिक क्याम्पस भएका कारण त्रिविको नियमअनुसार ६ लाख शुल्क लिनुपरेकोले धेरै महंगो भएको स्पष्ट पार्दै हाल क्याम्पसको तर्फबाट ७५ प्रतिशत छात्रवृत्ति दिइएको जानकारी दिइन् ।

सहायक क्याम्पस प्रमुख राजु मल्ल र होटल व्यवस्थापन विभागका निर्देशक डा उमेश रेग्मीले छात्रवृत्तिको रुपमा कलेजले लगानी गरेको उल्लेख गर्दै पर्यटन र होटल क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव कम गर्न सहयोग पुर्याउन विद्यार्थीहरूलाइ अनुरोध गरे । छात्रवृत्ति पाएका विद्यार्थीका तर्फबाट रिजा श्रेष्ठले ईन्टर्नसीपका लागि क्याम्पसले आफ्नै प्रयासमा गन्तब्य होटल र खर्च जुटाइदिएकोमा धन्यवाद दिइन् ।