आयुश र विना सर्वाेत्कृष्ट

0
Shares

काठमाडौं । भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् ।

काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौलसमूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरे । यो स्पर्धामा तोयोकान वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले कांस्य जिते ।

महिलातर्फ विनुले २५ केजीमूनि तौलसमूहको फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जितिन् । प्रतियोगितामा भृकुटी डोजो टिम च्याम्पियन समेत बनेको छ । टोलीले ७ स्वर्ण, २ रजत र ७ कांस्य जित्यो । च्याम्पियन मार्शल आर्टले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित दोस्रो हुँदा ३ स्वर्ण र २ कांस्य जितेको थैव डोजो तेस्रो भयो ।

काठमाडौको मनासलु वल्र्ड स्कुलमा आयोजित प्रतियोगितामा ३० डोजो र केहि जिल्लासमेत गरी ३ सय ६५ खेलाडीको सहभागिता थियो । महिला र पुरुष दुवै विधामा ८ तौलसमूह, खुला र काता गरी १०–१० स्वर्णका लागि प्रतिस्पर्धा भएको हो ।