जारी लिगमा अन्जन हेट्रिक गर्ने पहिलो नेपाली खेलाडी

0
Shares

काठमाडौं । अन्जन विष्टले हेट्रिक गर्दा चर्च ब्वाइज युनाइटेड जारी शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइजले एनआरटी (न्युरोड टिम) लाई ४–१ ले हराएको हो । यो जितसँगै चर्च ब्वाइज २७ अंकसहित शीर्ष स्थानमा उक्लियो । पहिलो लेगमा शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लब २४ अंकसहित दोस्रो स्थानमा झरेको छ । चर्च ब्वाइजको लागि एक गोल सुशील शाहले गरे भने एनआरटीको तर्फबाट एक मात्र गोल दिपेश आलेमगरले गरेका थिए ।

जारी लिगमा अन्जन हेट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्जनले पहिलो लेगमा चोटको कारण खेल्न सकेका थिएनन् । गत खेलमा फ्रेन्ड्सविरुद्ध उनले खे्रल्दा पहिलो गोल गरेका थिए । यसअघि जारी लिगमा हेट्रिक गर्ने दुई खेलाडी विदेशी हुन् । मच्छिन्द्रबाट खेलिरहेका ओलावाले आफिजले खुमलटारविरुद्ध हेट्रिक गरे भने खुमलटारकै स्टेफानले जावलाखेलविरुद्ध हेट्रिक गरेका थिए ।

खेलको ४०औं मिनेटमा सुशिलले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रतामा राखेका थिए । उनले कमल श्रेष्ठको कर्नरमा हेडमार्फत गोल गरे । ५१औं मिनेटमा अन्जनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । उनले कमलको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

६१औं मिनेटमा अन्जनले सुशीलको पासमा व्यक्तिगत दोस्रो गोल गरे । अन्जनले ८५औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै हेट्रिक पुरा गरेका थिए । यो गोल भने पेनाल्टीमा भएको थियो । जारी लिगमा उनको ४ गोल भएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा दिपेशले गोल गरेपनि त्यतिबेलासम्म ढिलो भइसकेको थियो । यो हारसँगै एनआरटीको १५ खेलमा १७ अंक भएको छ ।

दुबै खेल गोलरहित बराबरी

दशरथ रंगशालामा भएको दुबै निरस खेल गोलरहित बराबरीमा सकिएको छ । पहिलो खेलमा मनाङ मस्र्याङदी क्लब र सातदोबाटो युवा क्लबले बराबरी खेले । पहिलो लेगमा सातदोबाटो १–० ले जितेको थियो । यो खेल हारेपछि मनाङले लगातार ६ खेलमा पराजय बेहोरेको थियो । दोस्रो लेगमा भने मनाङले पहिलो खेलमा आर्मीलाई हरायो भने दोस्रो खेलमा बराबरी खेलेको छ ।

दोस्रो खेलमा फ्रेन्ड्स क्लबले थ्रीस्टार क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो । यी दुबै टोलीले पहिलो लेगमा भने ३–३ बराबरी खेलेको थियो । यो नतिजासँगै समान १५ खेलमा थ्रीस्टारको २४ अंक, सातदोबाटोको २३ अंक, मनाङको १९ अंक र फ्रेन्ड्सको १६ अंक भएको छ । थ्रीस्टार तेस्रो स्थानमा छ भने सातदोबाटो चौथो स्थानमा रहेको छ । फ्रेन्ड्स भने रेलिगेसन क्षेत्रबाट उम्किएर १२ औं स्थानमा उक्लियो । संकटा र पुलिस भने पुछारमा रहेर रेलिगेसनतिर झरेका छन् ।