‘जनयुद्धमा धादिङ’ पुस्तकको लोकार्पण

0
Shares

धादिङ। 

दस वर्षे सशस्त्र युद्धकाे समयमा धादिङमा भएका घटना, जनधनको क्षति, बेपत्ता घाइते विस्थापितहरुकाे विवरण संकलन गरी प्रकाशन गरिएको ‘जनयुद्धमा धादिङ ‘ नामक पुस्तकको शनिबार धादिङ बेसीमा लोकार्पण गरिएको छ ।

एनएस मिडियाद्वारा प्रकाशन गरिएको १ सय ५२ पृष्ठको पुस्तकमा माओवादीले संचालन गरेको सशस्त्र युद्ध तथा जनआन्दोलनकाे २०५२ देखि २०६२ को अवधिमा भएका घटनाहरु समेटेर पुस्तक प्रकाशन गरिएको प्रधान सम्पादक नारायण सिलवालले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले एक समारोहका बीच एन. एस. मिडिया धादिङले प्रकाशन गरेको ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री जमरकट्टेलले जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्ताबेज बनेको र यो कृतिको महत्त्व छुट्टै रहेको बताउनुभएको छ ।
सङ्घीय सांसद रामनाथ अधिकारीले जनयुद्धको उपलब्धिलाई अझै संस्थागत गर्न बाँकी रहेको बताउँदै मृत्यु भएका, बेपत्ता, विस्थापित, लगायतको  एउटा महत्त्वपूर्ण कलेक्सनका रुपमा धादिङमा जनयुद्ध पुस्तक आएकोमा खुसी व्यक्त गर्नुभयो ।

पुस्तकका बारेमा डा. नविनबन्धु पहाडी र डा. हरिप्रसाद सिलवालले पुस्तक ऐतिहासिक दस्ताबेजको रुपमा आएको सकारात्मक पाटो हुँदा हुँदै पनि द्वन्दको क्रमका सहिद परिवारको अवस्था, घाईते/अपाङ्ता भएका व्यक्तिको अहिलेको अवस्था के कस्तो छ, त्यो विषय छुटेको औंल्याउनुभएकाे थियो ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम् पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षतामा भएको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक प्रकाशनको लागि सहयोग गर्नेहरूलाई सम्मान पत्र एवम् कदर पत्र प्रदान गरिएको थियो ।

पुस्तकमा मृत्यु भएका १ सय ९५ जना, बेपत्ता भएका २३ जना,  विस्थापित भएका ५ सय ५८ जना,  अंगभंग भएका ५१ जना र टुहुरा भएका  ७ जनाकाे विवरण र फाेटाेहरु समावेश छ ।

तथ्याङ्क सङ्कलनमा सहयोग गरेको भन्दै सो अवसरमा समाचारपत्रकर्मी सीताराम अधिकारी लगायत सात जनालाई सम्मान गरिएको थियो । मुख्यमन्त्री जमरकट्टेलले सम्मान पत्र प्रदान गरेर सममान गर्नुभएको हो ।