सिएनएन हिरो डोयनको “बिटवीन दि माउण्टेन एण्ड स्काई” दक्षिण एसिया संस्करण सार्वजनिक


काठमाडौं ।

नेपालको अति दुर्गम क्षेत्रका अनाथ बालबालिकाको सेवामा समर्पित रहदै आएकी सन् २०१५ का सिएनएन हिरो म्यागी डोयनको पुस्तक “बिटवीन दि माउण्टेन एण्ड स्काई” (हिमालय र आकासको बीच) को दक्षिण एसिया संस्करणको शनिबार काठमाडौंमा विमोचन गरियो।

पुस्तकको विमोचन गर्दै उपसभामुख इन्दिरा रानाले डोयनलाई अमेरिकामा जन्मेकी नेपालकी छोरीको उपमा दिनुभयो । उहाँले भन्नुभयो– “कर्णाली जस्तो विकट ठाउँमा अनाथ बालबालिकाको उचित लालनपालन र शिक्षा प्रदान गरेर सरकारले गर्न नसकेको काम गरेकी डोयन अमेरिकामा जन्मेकी भएता पनि नेपालकै छोरी हुन्।” उहाँले डोयनले अनाथ बालबालिकाको भविष्य बिग्रनबाट रोकेको भन्दै उहाँको कार्यले अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभयो ।

 

सो अवसरमा स्वागत भाषण गर्दै द्वारिकाज होटेलका अध्यक्ष तथा प्रसिद्ध पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले पुस्तककी लेखिका डोयनले नेपालका सैयौंं अनाथ बालबालिकाहरुलाई आश्रय दिएको उल्लेख गर्दै सो पुस्तकबाट हामीले सडक बालबालिकाको निम्ति केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विचार व्यक्त गर्नुभयो ।

पुस्तकका लेखिका डोयनले आफूले दैलेख, कालिकोट, अछाम लगायत दुर्गम क्षेत्रका अनाथ केटाकेटीहरुलाई हुर्काउन तथा शिक्षा दिन एक दशकभन्दा लामो समयसम्म गरेको सेवाको रोमान्चक अनुभव सुनाउनु हुँदै यसरी बालबालिककाको निम्ति कार्य गर्दा आफूलाई आत्मसन्तुष्टि मिलेको विचार व्यक्त गर्नुभयो । नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशमा काम गर्न पाउँदा आनन्दको अनुभव गरेको र यहाँका बालबालिकाहरुसँग आत्मीय सम्बन्ध रहन गएको जिकिर गर्दै भन्नुभयो– “मेरो यो पुस्तक मेरा बालबालिकाहरुको निम्ति लेखिएको प्रेमपत्र जस्तै हो ।

उनीहरु ठूलो भएपछि उनीहरुको आफ्नो छुट्ठै कथा हुनेछ । उनीहरुले पनि आफ्ना कथा सुनाउँलान् तर त्योभन्दा पहिला म उनीहरुलाई मेरो आफ्नो कथा, उनीहरुका लागि मैले अनुभव गरेको माया बताउनु चाहन्छु । त्यसैले मैले यो पुस्तक लेखेकी हुँ । यसमा थुप्रै कमीकम्जोरीहरु होलान्, तर यो नितान्त मेरो हृदयबाट लेखिएको मेरो आफ्नै कथा हो। ”

ब्लिंक नाउ फाउण्डेशन र सुर्खेतस्थित कोपिला भ्याली फाउण्डेसनका सह संस्थापक डोयनले १९ वर्षको कलिलो उमेरमा नै सन् २०१० ताका सुदूर क्षेत्रका सबैभन्दा पिछडिएका क्षेत्रका अनाथ नेपाली बालबालिकाहरुको पालनपोषणका साथै उनीहरुका निम्ति विद्यालय खोलेर शिक्षा प्रदान गर्नमा योगदान दिनुभएको थियो । डोयनको सोही कार्यको कदरस्वरुप अमेरिकी टेलिभिजन कम्पनी सीएनएनले उहाँलाई सन् २०१५ मा अमेरिकाले उहाँलाई सिएनएन हिरो घोषित गरेको थियो ।