निःशुल्क दानको रगतको मूल्य लिनु अपराध हो : प्रदेश प्रमुख शेरचन



बुटवल।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत भएको बताउनु भयो । सामुदायिक अस्पतालमा अझै पनि रगतको शुल्क लिने काम हुनु लज्जास्पद भएको भन्दै उहाँले निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास भएको प्रणाली गलत भएको जिकिर गर्नु भयो ।
प्रदेश प्रमुख शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरी कार्यक्रमहरु चलाउन जरुरी रहेको औँल्याउनु भयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको शनिवार बुटवलमा उद्घघाटन गर्दै प्रदेश प्रमुख शेरचनले आफू जिम्मेवार पदमा हुँदासमेत निःशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेको दुखेसो पोख्नु भयो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वास्थ्य व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तव्य हो भने निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार हो भन्ने मूल नारालाई सफल बनाउने गरी देशभर अभियान सफल हुँदै गएको बताउनु भयो ।

शतक रक्तदाताको परिचय बनाउनु भएका अध्यक्ष कर्माचार्यले १ सय ७३ पटक रक्तदान गर्नु भएको छ् । सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले दुखेसो गर्नु भयो ।

कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेलले रगत दिने काम पुरानो भएको भन्दै नयाँ प्रविधि भित्राउनुपर्ने बताउनु भयो ।

समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निःशुल्क रगतको अभियान गाउंगाउंमा पु¥याउन सकिने सम्भावना रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दीपक थापा (क्षेत्री) प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्री अर्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक÷पूर्व सभासद भिक्षु आनन्द, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेल, बुटवल उवासंघका अध्यक्ष उज्ज्वल कसजुले रक्तदान जस्तो पुण्य अभियान सरकारबाट गरिनुपर्ने काम एउटा संस्थाबाट चलाएर समाज रूपान्तरणमा सहयोग गरेको बताउनु भयो ।

समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउँपालिका, वडा इकाई गरी ७७ वटा गठन भएर सेवामा जुटेका छ । दुई दिनसम्म चल्ने अधिवेशनमा ३४ जिल्लाबाट ९० जना सहभागी रहेको अधिवेशनका संयोजक कृष्ण चौहानले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्