लमजुङे चेली माया गुरुङ गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा  सम्मानित 

0
Shares

लमजुङ।

गाउँशहरमा लमजुङ दरबार गीत गाएर चर्चित बन्नुभएकी गायिका लमजुङे चेली माया गुरुङ सम्मानित हुनु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गुरुङसहित प्रदेश अन्तर्गतका विभिन्न क्षेत्रमा स्थापित सात जना स्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच स्रष्टालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । आधुनिक प्रविधिको अभावका बाबजुद पनि गुरुङले लोक गीत क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै गुरुङलाई गण्डकी प्रतिष्ठान नारी सम्मानबाट नगद ५० हजारको साथमा सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

प्रतिष्ठानका अनुसार गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङलाई नगद एक लाख, सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान गरिएको हो । त्यस्तै गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की र लक्ष्मी थापालाई नगद २५ हजारको साथमा सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

१२ बर्षको सानै उमेरदेखि लोकगीत गाउन थाल्नुभएकी माया बेसीशहर ५, नाल्माको स्थायी बासिन्दा हुनुहुन्छ । गाउँघरमा हुने रोधीबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभएकी गुरुङले २०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा ‘गाउँसहरमा लमजुङ दरबार’ गीत गाएर प्रथम हुनुभएको थियो । त्यसपछि गुरुङले ‘सैलुङ्गे डाँडा नाल्माको…, माया सरर…, खुर्पेटो डोकोले….’ लगायत करिब दुईसय गीत गाउनु भएको छ । गुरुङले छिटफुट बाहेक विभिन्न गीत सहितका ११ वटा एल्बम नै निकाल्नुभएको छ ।

गुरुङ यसअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश, जिल्लामा हुने विभिन्न महोत्सव, जिल्लाका विभिन्न संघ संस्थाबाट पनि सम्मानित हुनुभएको थियो ।