लागूपदार्थ सेवन गरी बस चलाउने चालकसहित ४ जना प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ।

काठमाडौँको थानकोटमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउनेसहित ४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्‍यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङको गल्छी गाउँपालिका ९ का चन्द्र बहादुर तामाङ, ग१य ११ १२ नम्बरको पर्यटक गाडी चालक गल्छी गाउँपालिका ६ का दिर्घ बहादुर मग्राती, बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका ३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका राजु तामाङलाई लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलिले आज ‍ २० ओटा सवारी साधन चेक गर्दा ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ४ जना चालक फेला पारेको थियो ।

लागुपदार्थ सेवन गरी विद्यार्थी बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउनु निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउनुहुन चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।