अत्यधिक रक्तस्रावले एक महिने सुत्केरीको मृत्यु

0
Shares

सल्यान । 

अत्यधिक रक्तस्रावका कारण सल्यानमा एक महिने सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका–५ कालागाउँकी ३० वर्षीया गीता विकको मृत्यु भएको हो । विकलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला अस्पताल सल्यानका इन्चार्ज एम.डी.जी.पी. डाक्टर अभिषेक सिंहले बताउनु भयो । उहाँका अनुसार विक एक महिनाअघि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएको थियो ।

१५ दिनअघि रक्तस्राव भएपछि रगत चढाउँदा ठिक भएकी उहाँलाई केही दिनदेखि पुनः लगातार रक्तस्राव भएको र समयमै अस्पताल पु¥याउन नसकेकै कारण उहाँको मृत्यु भएको अस्पताल इन्चार्ज डा. सिंहले बताउनु भयो ।

जिल्ला अस्पताल सल्यानमा अहिलेसम्म ब्लड बैंक नहुँदा धेरैको ज्यान जोखिममा रहेको उहाँले बताउनु भयो । अस्ततालमा रगत चाहिने बिरामीहरका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत अन्यको सहयोगमा रगत चढाइँदै आएको बताउनु भयो ।

रगत सहयोगको भरमा अत्यधिक रक्तस्राव भएका सुत्केरी तथा अन्य महिलालाई बचाउँदै आएकाले सुत्केरी महिलालाई रक्तस्राव भएमा ढिला नगरी तत्काल जिल्ला अस्पताल ल्याउन उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभयो । अत्यधिक रक्तस्रावकै कारण एक महिनाअघि जिल्लाको दार्मा गाउँपालिकाकी एक महिलाको उपचार गर्न नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।