रामेछापका ३ डेरीलाई जरिवाना

0
Shares

रामेछाप । 

रामेछाप जिल्लामा सञ्चालन भएका ३ डेरी कारबाही परेका छन् । दूधमा गुणस्तर मात्र नभएको पाइएपछि रामेछापका ३ डेरी कारबाहीमा परेका हुन् ।

डेरी व्यवासायिले मनोमानी गरेको भन्दै उपभोक्ताले गुनासो गरेका थिए । सोही गुनासोका आधरमा शुक्रवार प्रशासनले आकस्मिक रूपमा परीक्षण गरेको थियो । अनुगमनको क्रममा दूध गुणस्तरयुक्त नभएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दूध परीक्षण गर्दा दूधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा सञ्चालित तीन वटै डेरी कारबाही परेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरीबाट विक्रीका लागि तयार भएको दूध परीक्षण गरिएको हो । परीक्षणमा न्यून गुणस्तरको दूध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरिएको हो । यस पछि पनि गुणस्तरको बारेमा गुनासो आएमा कडा कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको घिमिरेले बताए ।