आठ हजार सवारीलाई कारबाही,  ६० लाख राजश्व

0
Shares

पर्वत। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सलन भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार बजार क्षेत्र, ग्रामीण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएको नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठिक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लङ्घन गरेका लगायतबाट ५९ लाख ९८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ।

नौ महिनामा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरू जिप तथा कार रहेका छन्। चार हजार एक सय छ वटा कार तथा जिपलाई गरिएको कारबाहीबाट ३३ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको छ। यस्तै एक हजार दुई सय ३६ वटा ट्रक र ट्रिपरमाथि गरिएको कारबाहीबाट आठ लाख १९ हजार पाँच सय, पाँच सय ९२ वटा बसबाट तीन लाख ७७ हजार पाँच सय, चार सय ४९ वटा ट्याक्टरबाट दुई लाख ८६ हजार, एक हजार पाँच सय १३ मोटरसाइकल तथा स्कुटरबाट ११ लाख ३१ हजार पाँच सय र अन्य चार वटा कारबाहीबाट तीन हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ।

पछिल्लो तीन वर्षको राजश्व सङ्कलनको अवस्थालाई हेर्ने हो भने सबैभन्दा बढी राजश्व सङ्कलन हुने आर्थिक वर्ष २०७९÷०८० नै बन्ने निश्चित भएको छ। गत आर्थिक वर्ष २०७८÷०७९ मा नौ हजार नौ सय सवारीमाथि भएको कारबाहीबाट ६२ लाख ५४ हजार पाँच सय, २०७७÷०७८ मा पाँच हजार पाँच सय तीन सवारीमाथि गरिएको कारबाहीबाट ३५ लाख सात हजार र २०७६÷०७७ मा छ हजार तीन सात सवारीमाथि गरिएको कारबाहीबाट ३६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो। गत आर्थिक वर्षको १२ महिनामा उठेको राजश्व भन्दा चालू आर्थिक वर्षको नौ महिनामा उठेको राजश्व दुई लाख रुपैयाँले मात्रै कम भएकोले १२ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजश्व उठ्ने देखिएको छ।

प्रहरी नायव निरीक्षक निउरेका अनुसार पर्वत ट्राफिकले पछिल्लो समयमा प्रयोजन विपरीत चल्ने सरकारी सवारी, रातो ‘नम्बर प्लेट’ लिएर पनि सार्वजनिक सवारीको जस्तै व्यापार गरिरहेका सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू तथा बजार क्षेत्रमा ट्राफिक नियम माने पनि ग्रामीण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीहरूमाथि बढी निगरानी गरिएको छ। ‘बिदाको दिनमा पनि सरकारी नम्बर प्लेटका सवारीहरू सञ्चालन अनुमति नलिईकन सञ्चालन गरेको पाइएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेर सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरेका छौँ।’ट्राफिक प्रहरी प्रमुख निउरेले भन्नुभयो ।