कामीडाँडामा १ करोड २७ लाखको विद्यालय भवन

 पार्वती माविका विद्यार्थीलाई ट्याब्लेट

0
Shares

काभ्रे।

कपेर आधारभूत विद्यालय बेथान्चोक ५ कामीडाँडाको नव निर्मित भवन हस्तान्तरण गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले विद्यालयको भवन क्षतिग्रस्त भए पनि पुनर्निर्माण भएको थिएन । उक्त क्षेत्र माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका समयमा चर्चित थियो ।

१ करोड २७ लाख ८० हजार खर्च भएको उक्त भवन गाउँपालिका, वडा कार्यालय र ग्रामीण विकास संस्थाको संयोजनमा निर्माण गरिएको हो । निर्माण गरिएको भवन मङ्गलवार एक कार्यक्रमका साथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।

ग्रामीण विकास संस्था काभ्रेपलाञ्चोकको संयोजनमा विद्यालय भवन निर्माणका लागि एईआएन लक्जम्वर्गको सहयोग प्राप्त भएको हो । विद्यालय भवन निर्माण कार्यका लागि गाउँपालिकाले जमिन सम्म्याउन ४ लाख ८० हजार, भवन निर्माण तथा फर्निचर व्यवस्थापन कार्यका लागि ५ लाख, वडा कार्यालयले रङ्गरोगनका लागि २ लाख र लक्जम्वर्गको तर्फबाट १ करोड १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । दुई तल्लाको ६ कोठे पक्की भवन निर्माण भएसँगै बालबालिकाहरुले सहज रुपमा शिक्षा प्राप्त गर्ने भएका छन् ।

‘बेथान्चोक गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुले सहज शिक्षा प्राप्त गर्ने प्रमुख माध्यम पूर्वाधार निर्माणमा दातृ निकायको सहयोग महत्त्वपूर्ण छ’–गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले भन्नुभयो–‘भवन राम्रो भयो अब गुणस्तर सुधारमा केन्द्रित हुनु पर्छ ।’ गाउँपालिकाले घुम्ती शिक्षक मार्फत बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने नयाँ अवधारणा ल्याएकाले हरेक विद्यालयको शैक्षिक सुधार हुने अध्यक्ष अधिकारीले बताउनु भयो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले १४ महिना अघि शिलान्यास गरिएको भवन निर्माण कार्य सम्पन्न भएकोमा स्थानीय सरकार र स्थानीय अभिभावकलाई धन्यवाद व्यक्त गर्नु भयो । ‘भवन बन्दैमा शिक्षा गुणस्तर हुन्छ भन्ने होइन’–कार्यकारी निर्देशक तिमल्सिनाले भन्नुभयो–‘नमुना विद्यालय निर्माणका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुनु पर्छ ।’ बेथान्चोक गाउँपालिकामा ग्रामीण विकास संस्थाले सामाजिक परिचालन मार्फत महिला सशक्तीकरण, सहकारीबाट उत्पादित तरकारी ढुवानीका लागि बजारीकरणमा सहज होस भन्ने उद्देश्यले सवारी साधनको उपलब्धता, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयमा ट्याब्लेट वितरण, जलवायु अनुकूलन विभिन्न कार्यक्रम सञ्चालन तथा गोठ सुधार, पानी पोखरी लगायतका निर्माण कार्य गरिएको बताउनु भयो ।

कार्यक्रममा लक्जम्वर्गका तर्फबाट फ्रान्कुले विद्यालयको भवन निर्माणसँगै गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने बताउनु भयो । लक्जम्वर्ग महिला सशक्तीकरण र शिक्षित भएको देश भएकाले शिक्षाकै माध्यमबाट मुलुकको समृद्धि हुने भएकाले हरेक नागरिकहरुलाई शिक्षा मात्रै नभई प्रविधि सहितको गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । फोएर ग्रुपकी अमिराले विद्यालय भवनको उद्देश्य अनुसारको गुणस्तरीय शिक्षामा अभिभावकहरु समेत सहभागी हुनु पर्ने बताउनु भयो । कार्यक्रममा लक्जम्वर्गका लागि नेपाल प्रतिनिधि रमेश त्वयना, तारा, समन, मिका, नह्यायुको सहभागिता रहेको थियो । ग्रामीण विकास संस्थाका संस्थापक मुरली शर्मा, अध्यक्ष गीता शर्मा, बेथान्चोक गाउँपालिका निर्वतमानअ अध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष राजकुमार वाईवाले वडामा रहेका आत्माविकास मावि र भिमसेनश्वर मावि, कपेर आधारभूत र मिलन प्राविमा रहेका सबै विद्यालयहरूमा शिक्षक दरबन्दी अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न कठिनाइ भएको बताउनु भयो । गाउँपालिका मार्फत शिक्षक दरबन्दी मिलान तथा आवश्यक शिक्षकहरुको दरबन्दीका लागि पहल भए पनि पर्याप्त शिक्षकहरु उपलब्ध नभएका कारण विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट समेत अध्ययन सुरु गर्न नसकिएको अध्यक्ष वाईवाले बताउनु भयो । कपेर आधारभूत विद्यालयको भवन निर्माणका लागि जग्गा व्यवस्थापन तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष वाईवाले गुणस्तरीय शिक्षाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर वाईवाले शिक्षकहरु तत्काल व्यवस्थापन गर्न, विद्यालय भवनमा घेराबार गर्न र बालबालिकाहरुको गुणस्तर अभिवृद्धि गर्न वडा र गाउँपालिकाले पर्याप्त सहयोग उपलब्ध गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गुञ्जमान तामाङ, विद्यार्थी इन्द्र तामाङ, शिक्षक शुक्र तामाङ र विद्यालय प्रधानाध्यापक चमेली तामाङले विद्यालयका समस्याहरुका बारेमा अवगत गराउनु भयो ।

पार्वती माविका विद्यार्थीलाई ट्याब्लेट

पार्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका ६ देखि १० वर्ष उमेर समूहका बालबालिकाहरूका लागि अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले ट्याब्लेट उपलब्ध गराइएको हो । लक्जम्वर्गका प्रतिनिधिहरुले पार्वती माध्यमिक विद्यालय बेथान्चोका अध्ययन गर्ने बालबालिकाहरूका लागि ८ थान ट्याब्लेट उपलब्ध गराएका हुन् ।

विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मालाई ट्याब्लेट हस्तान्तरण गर्दै लक्जम्वर्गका प्रतिनिधि फ्रान्कोले ट्यावलेटको प्रयोगले बालबालिकाहरुलाई अध्ययनमा सहज हुने बताउनु भयो । ‘हाम्रो देशमा यो ट्यावलेटमा भएको एप प्रयोग गरेर धेरै बालबालिकाहरुको सिकाई सहज बन्यो’–प्रतिनिधि फ्रान्कोले भन्नुभयो–‘नेपालमा पनि बालबालिकाहरुको सिकाई सहज होस् भन्ने उद्देश्यले ६ वर्ष देखि १० वर्ष उमेर समूहका बालबाकिलाहरुको प्रयोगका लागि ट्यावलेटका माध्यमबाट उक्त एप प्रयोग उपलब्ध गराइएको हो ।’ बालबालिकाहरुलाई कक्षा कोठामा अध्ययनको समयमा ट्याब्लेट प्रयोग गरेर एपको माध्यमबाट गणित शिक्षालाई प्रविधि मैत्री रुपमा शिक्षण गर्न सहज हुने प्रधानाध्यापक गोविन्द शर्माले बताउनु भयो ।

१ सय ३० जना बालबालिकाहरुले ट्याब्लेट प्रयोग गर्ने छन् । लक्जम्वर्गमा शिक्षा र सशक्तीकरणलाई प्राथमिकता दिँदा देश समृद्ध बनेकाले नेपालमा शिक्षा र प्रविधिलाई सँगै अघि बढाउन र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्त्वपूर्ण हुने  फोएर ग्रुपकी अमिराले बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनासहित संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ट्यालेटमा भएको एपको प्रयोग गर्न तथा त्यसका सिकाईका बारेमा शिक्षकहरुलाई अनुशिक्षण गरिएको छ ।