आजैबाट तीन निकायको फोहोर उठ्ने

सर्वोच्चको आदेश पाएको दुई दिनपछि आज बैठक जारी

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले भोलिबाट तीन निकायको फोहोर उठाउने भएको छ । कामपाले आइतबार सर्वोच्च अदालतको आदेश प्राप्त गरेको थियो । आदेश पाए लगत्तै प्रमुख कार्यकारी अधिकृत वशन्त अधिकारीले छलफल शुरु गर्नुभएको छ ।

सर्वोच्चले तीनदिनभित्र फोहोर उठाउनुपर्ने आदेश दिएको थियो । सोही आदेशको आधारमा आज साँझसम्म कामपाले विज्ञप्ति जारी गरेर फोहोर उठाउने तयारी गरेको छ । कामपाका प्रवक्ता नविन मानन्धरले न्युज अफ नेपालसँग कुरागर्दै भन्नुभयो– त्यस विषयमा छलफल भैरहेको छ, र भोलिसम्म फोहोर उठाउने तयारीमा छौ ।

कामपाले आदेश पाएको तीनदिनमा फोहोर नउठाए कानुनी कारबाही हुने त्रासले कामपाले भोलिसम्म फोहोर उठाउन शुरु गर्ने भएको हो । महानगरका मेयर वालेन्द्र साहले चैत २४ गतेबाट शितलनिवास, सिंहदरबार र प्रधानमन्त्री निवास वालुवाटारको फोहोर उठाउन बन्द गरेको थियो ।

सर्वोच्च अदालतले शुक्रबार तीनदिनभित्र फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश दिएको थियो । न्यायधिश प्रकाशमानसिंह राउतले ल्याण्डफिल साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई गम्भीर ध्यानाकर्षण गराएको थियो ।

मेयरका प्राबिधिक सल्लाहकार सुनिल लम्सालले फोहोर उठाउनु अघि कामपाले विज्ञप्ति जारी गर्ने र त्यसपछि फोहोर उठाउने जानकारी दिनुभयो । सर्वोच्चको आदेशपछि कामपाले फोहोर संकल नगर्ने विषयमा दिउँसोदेखिको बैठक जारी छ । कार्यकारी अधिकृतको सचिवालयमा बैठक बसिरहेको छ । बैठकपछि स्टेटमेन्ट जारीगरी फोहोर संकलन र बिसर्जन शुरुहुने कामपाको भनाई छ ।

आदेशमा संविधानको घारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वस्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने हक हुनेछ भन्ने संवैधानिक प्रावधान रहने उल्लेख छ । सोको आधारमा पनि कामपाले फोहोर बिसर्जन गर्दिन भन्न पाइदैन ।

१७ दिनदेखि तीन निकायको फोहोर संकलन हुन नसक्दा शितल निवास र प्रधानमन्त्री निवास वालुवाटारमा १७–१७ टन, सिहदरबारमा २५ टन गरी ५९ टन फोहोर थुप्रिएको छ ।

फोहोर संकलन गर्ने आदेश नआउन्जेलसम्म सो समबन्धि कुनैपनि कामनगर्ने तीनैक्षेत्रका फोहोर व्यवस्थापन गर्ने परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनैवटा भीभीआइपीको फोहोर संकलन, ढुवानी र बिसर्जन गर्न कुनैपनि निकायको दवाव आएको छैन । उहाँले महानगरको आदेशको प्रतिक्षामा रहेको र आदेश आउनासाथ फाेहोर संकलन र ढुवानी शुरु गर्ने बताउनुभयो ।