लुम्बिनीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, एमाले नेतृत्वको तेस्रो सरकार पनि ढल्यो

0
Shares

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका छन् ।

गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेकाे थियाे ।

सरकार निरन्तरताका लागि पाउनु पर्ने ४४ मत मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिए पछि उनी स्वत: पदमुक्त भएका हुन ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनस् विश्वासको मत मागेका हुन्।

प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका थिए । ‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ ।

विश्वासको मत माग्दै उनले भनेका थिए, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’