कमजोर विद्यार्थीको पुनः परीक्षा लिन्छौं : डीएभी

0
Shares

अभिभावक र विद्यालयबीच असमझदारी भयो : राजु महर्जन, प्रवक्ता ललितपुर महानगरपालिका
हामी बुझ्दै छौं, पहिलाको घटनाको प्रचार भएछ : नवराज रिजाल, ललितपुर महानगरपालिका शिक्षा विभाग

ललितपुर । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले कक्षा ८ की छात्रालाई कुनै अपमान नगरेको दाबी गरेको छ । कक्षा ८ को परीक्षामा कमजोर विद्यार्थीको पुनः परीक्षा लिएर मात्र माथिल्लो कक्षामा लैजाने तयारी गरिरहँदा कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाले विद्यालयले आफ्नी छोरीमाथि अपमानजनक व्यवहार गरेको भन्दै सो विद्यालयबाट अन्यत्र स्थानान्तरण गर्र्ने बताउनुभएको डीएभी विद्यालयको भनाइ थियो ।

विद्यालयका सहायक प्रधानअध्यापक रामचन्द्र खनालले आफ्नै छोराछोरी समान कुनै पनि विद्यार्थीलाई अपमान नगरेको दाबी गर्दै भन्नुभयो– ‘अघिल्लो दिन नानुकी आमा र उनीसँग छलफल गरेका थियौं, त्यसबेला बाबा खै त ? भन्दा व्यस्तताले आउनसक्नु भएन भनेर नानुकी आमाले जवाफ दिनुभयो । भोलिपल्ट नानुको बाबा उपेन्द्र सर विद्यालयमा आएर ममाथि अपमान भएका कारण छोरीको विद्यालय परिवर्तन गर्छौं भन्दै विथ ड्र फारम भरेर जानुभयो ।’ विद्यालयले सबै विद्यार्थीलाई समान ठानेका र सुब्बाको पढाइको अवस्थाबारे उहाँका अभिभावकलाई पटकपटक जानकारी दिएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘उनी त पढाइमा अलि कमजोर छन् है भनेका थियौं । तै पनि उनीमाथि हामीले कुनै नराम्रो व्यवहार गरेका थिएनौं, एकाएक समाजिक सञ्जालमा विद्यालयमाथि आक्षेप लगाएर स्टाटस लेखेपछि हामीलाई दुःख लागेको छ ।’

गत सोमबार सामाजिक सञ्जालमा कवि सुब्बाले एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थी देखाउन कक्षा ९ मा विद्यालयले कमजोर भनिएका विद्यार्थीलाई सिकाउनुको साटो स्कुल छाड्न बाध्य बनाउने रहेछन् भनेर लेख्नुभएको थियो ।

चैत २९ गते भर्नुभएको स्थानान्तरण फारममा कवि सुब्बाले छोरीलाई स्थानान्तरण गर्नुको कारण ‘व्यक्तिगत’ उल्लेख गर्नुभएको छ । स्थानान्तरण सँगै चारित्रिक प्रमाणपत्रका लागि पनि उहाँले फारम भर्नुभएको थियो । विद्यालय प्रशासनका अनुसार सुब्बाले आज ११ दिन बित्दासमेत प्रमाणपत्र लैजानुभएको छैन ।

पछिल्लो घटनाबारे जानकारी दिंदै ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भन्नुभयो– ‘कक्षा २ देखि सोही स्कुलमा पढिरहेकी सुब्बाकी छोरी कक्षा ६ देखि कमजोर थिइन्, उनलाई विद्यालयले मेहेनत गरेर पढाइरहेको थियो । अभिभावक र विद्यालयबीच असमmदारी हुँदा समस्या आएको हो ।’

शुक्रबार अभिभावक, विद्यालय प्रशासन र महानगरपालिकाबीच बैठक भएको र त्यसबेला बच्चाको विगतदेखि हालसम्मको अवस्थाबारे केलाउँदा पढाइमा कमजोर भएको प्रमाणपत्र विद्यालयले देखाएको जानकारी दिँदै प्रवक्ता महर्जनले भन्नुभयो – ‘छोरीको अवस्था कस्तो रहेछ भन्ने विषयमा अभिभावक संग भेट गर्ने प्रयास गरिरहेका छांै ।’ उहाँले विद्यालयको विद्यार्थीलाई अनुर्तीण गराउने र हटाउने उद्देश्य नदेखिएको र सुब्बाजस्तै ५ जना विद्यार्थीलाई विद्यालयले पुनः परीक्षा लिएर अघि बढ्ने बताउँदै आएको अवस्थामा विद्यार्थीलाई विद्यालयबाट निकाल्नु उचित नहुने बताउनुभयो । सुब्बालाई सकभर सोही विद्यालयमा पुनः पढ्नेगरी वातावरण तयार गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो –‘विद्यालयले सुब्बासँगै कमजोर भएका ४ जना विद्यार्थीको आज आइतबार परीक्षा लिने भएको छ । सुब्बा पुनः परीक्षा दिन आउँछिन वा आउदिनन् भन्ने विषयमा विद्यालयलाई जानकारी छैन ।’

ललितपुर महानगरपालिका शिक्षा विभागका अधिकृत नवराज रिजालले घटनाको बारेमा दुवै पक्षसँग छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘विद्यालय प्रशासनसँग भेट ग¥यांै, अभिभावकसँग भेटेपछि थप जानकारी लिनेछौं । अनि आइतबारबाट सो विषयमा छानबिन गर्नेछौं ।’

विद्यार्थीलाई फेल र पास नगर्ने, कमजोर विद्यार्थीलाई फेल भयांै भन्यो भने निजी विद्यालय चल्नै नसक्ने विद्यालयको भनाइ छ । विद्यालयको भनाइ छ– ‘कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा लिएर होस् वा अभिभावकसँग परामर्श गरेर होस्, उनीहरूलाई कक्षा चढाउँदै लैजान्छौं । तर, अति कमजोर भएका विद्यार्थीलाई पुनः परीक्षा लिन बोलाउँदा अभिभावकले चित्त दुखाउन हुँदैन ।’

विद्यार्थीलाई दुई वर्षअघि काउन्सिलिङ गर्दा ‘सिप सिकेर पठाओ चलाउँदा पनि हुन्छ’ भनेको विषयलाई अतिरञ्जित गरेर प्रचारबाजी गर्नु विद्यालयको मानहानी भएको विद्यालयको भनाइ छ । काउन्सिलर कृष्ण जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जुनियर कक्षामा हुँदा विद्यार्थीलाई काउन्सिलिङ गर्दा मेलै बोले वा बोलिन कुनै रेकर्ड छैन, तैपनि कक्षा ६ मा गरेको कुरालाई अहिले प्रचार गरेर विद्यालयको बदनाम गर्न खोज्नु गलत देखिन्छ ।’

ललितपुर महानगरपालिका शिक्षा विभागका रिजालले पठाओको विषयमा प्रतिक्रिया दिँदै भन्नुभयो– ‘दुई वर्षअघि घटनाको प्रचार भएछ, हामी बुझ्दै छौं ।’

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय र अभिावकबीचको बुझाइएमा कमजोरी भएको बताउनुभयो । उहाँले दुई पक्षबीच भएको फरकफरक भनाइको विषयमा पुनः छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।

घटनाको विषयमा सुब्बाका बुबा उपेन्द्रसँग पटकपटक सम्पर्क गर्न खोज्दा उहाँ आफ्नो निर्देशनमा रहेको चलचित्र ‘जारी’ को प्रवर्धनका लािग बेलायत जानुभएकाले सम्पर्क हुन सकेन ।