तपाईंको आफ्नो संसारको वास्तविक आवश्यकता



तीनवटा संसार छन् । एउटा संसार प्रकृतिले बनाएको छ । त्यसमा सारा ब्रह्माण्ड छ । चन्द्रमा, सूर्य, तारा यी सबै यसमै छन् । त्यही संसारमा यो पृथ्वी छ अनि यो पृथ्वीमा पनि एउटा अर्को संसार छ । यसलाई तपाईँले बनाउनुभएको होइन तर तपाईँ त्यसमै रहनुहुन्छ । तपाईँ त्यसमा घुमिरहनुहुन्छ । तपाईँ त्यही संसारको नोकरी गर्नुहुन्छ । तपाईँ त्यसमाथि विश्वास गर्नुहुन्छ । अनि, तपाईँ घुमिरहनुभएको संसारभित्र पनि एउटा अर्को संसार छ । त्यो हो– तपाईँको संसार ।

जब तपाईँको संसारमा बाढी आउँछ, जब तपाईँको दुनियाँमा दुःख हुन्छ, त्यसबाट सबैभन्दा बढी प्रभाव तपाईँलाई नै पर्छ । तपाईँको संसार छ । तपाईँको संसारमा केवल तपाईँ हुनुहुन्छ । तपाईँका श्रीमान् पनि तपाईँको संसारभित्र समेटिँदैनन् । उनको संसार अर्कै छ । तपाईँकी छोरीको संसार पनि फरक छ । तपाईँको छोराको संसार पनि पृथक् छ । यद्यपि यो कुरा सबैले बुझ्नुहुन्न होला । जसले भोगिसकेका छन्, जसका बालबच्चा ठूला भइसकेर तिनलाई छोडेर अलग्गै बसेका छन्– तिनले यो कुरा राम्रोसँग बुझ्न सक्छन् । यो बाहिरको संसारमा त ‘प्रसिद्धि होओस्, पैसा होओस्, धन होओस्, नाम कमिएको होओस्, यी सबै कुरा होऊन्’ भनेर भनिन्छ । तर, तपाईँको संसारमा तपाईँको अत्यावश्यक कुरा के हो ! तपाईँको दुनियाँमा जुन चीजको खाँचो पर्दछ त्यो चीज यो संसारका लागि आवश्यक हुँदैन तर तपाईँको जुन आवश्यकता छ त्यो तपाईँकै लागि आवश्यक हुन्छ । त्यो आवश्यकता हो– शान्ति । त्यो आवश्यकता परमानन्दको आनन्द प्राप्त गर्नु हो ।

तपाईँले जीवनमा आत्मज्ञानको महत्त्वलाई राम्रोसँग नबुझेसम्म भाँैतारिरहनुहुनेछ । यो बाहिरको दुनियाँ सत्यताको दुनियाँ होइन । यसले तपाईँलाई खेलौनालाई खेलाएजसरी कहिले यता त कहिले उता दौडाइरहनेछ । कहिले यसो गर्छ, कहिले त्यसो गर्छ तर आनन्दसँग बस्नै दिँदैन । यदि तपाईँलाई आफ्नो जीवनमा खुशी चाहिन्छ भने तपाईँको संसारमा शान्ति हुनु आवश्यक छ ।

प्रश्न के उब्जन्छ भने के तपाईँको संसारमा शान्ति छ त ? तथापि, छैन नै भने पनि यसमा शान्ति सम्भव हुन्छ । तपाईँको दुनियाँमा आँखा उघारेर हेर्नुहोस् तपाईँलाई के प्राप्त भएको छ ! तपाईँले प्राप्त गर्नुभएको कुराका बारेमा शायद योभन्दा अभैm राम्रो प्राप्त हुनुपथ्र्यो भनेर पनि सोच्नुहुँदो हो । मानिसहरू भन्छन् नि यदि मसँग धन हुँदो हो त ! शायद ! मेरो ठूलो घर हुँदो हो ! यदि मसँग यस्तो भइदिएको भए । मसँग त्यस्तो चीज भएको भए । तथापि, सृष्टिकर्ताले दिएको चीजलाई कहिल्यै परीक्षण गर्नुभएको छ ? यसका माध्यमले तपाईँले त्यो असीमित आनन्दलाई महसुस गर्न सक्नुहुन्छ । अनन्त आनन्द ! यो कुनै सानोतिनो कुरै होइन । तपाईँ त केवल आफ्नो अनुहारलाई हेर्नुहुन्छ– ‘यदि म यस्तो भएको भए । शायद ! म त्यस्तो भएको भए !’ तथापि, जब मानिसले सोच्दैन, विचार गर्दैन भने वास्तविकता के हो भन्ने कुरालाई नै बिर्सन पुग्छ । उसले आपूmसँग एउटा यो मानव शरीररूपी औजार छ भन्ने कुरालाई नै बिर्सन्छ । यो मानव शरीर भएकैले त्यो परमानन्द, त्यो परमशान्तिलाई अनुभव गर्न सकिन्छ ।

कुनै पनि वस्तुमा सुन्दरता निहित हुनु कत्तिको आवश्यक हुन्छ ! हेर्दा राम्रो देखिनुपर्छ या जस्तोसुकै अवस्थामा भए पनि काम चल्छ ! अर्थात्, त्यो राम्रो देखिनु आवश्यक हुँदैन ! भनाइको अर्थ के हो भने तपाईँको घरमा एउटा तावा छ । त्यसमा तपाईँ रोटी बनाउनुहुन्छ । त्यो पनि अहिले नयाँ किनेको अवस्थामा जस्तो त हुँदैन । केही खिइएको हुन्छ तर पनि तपाईँलाई त्यो राम्रो लाग्नुको कारण के हो भने त्यसमा राम्रोसँग रोटी पकाउन सकिन्छ । कराई पनि नयाँ किनेको समयमा जस्तो त हुँदैन । केही खिइसकेको भए पनि त्यसमा स्वादिलो तरकारी पकाउन सकिन्छ । सौन्दर्यको गुण भए पनि नभए पनि त्यस वस्तुमा हुनुपर्ने गुण हुनु अत्यावश्यक हुन्छ ।

तपाईँलाई यो शरीर प्राप्त भएको छ । यो तपाईँको इच्छा अनुकूल होओस् या नहोओस् तर तपाईँलाई त्यसको गुणको महत्त्व हुनुपर्छ । चाहे तपाईँ धनी हुनुहोस् या त गरिब हुनुहोस्, या त सफल हुनुहोस् या पढेलेखेको हुनुहोस्, चाहे शिक्षा–दीक्षा लिन नसक्नुभएको हुनुहोस् तर यो शरीररूपी औजारका माध्यमबाट त्यो परमानन्दलाई, ती सृष्टिकर्तालाई अनुभव गर्न सक्नुहुन्छ ।

तपाईँ यहाँ हुनुहुन्छ भन्ने कुराका बारेमा सोच्नुहोस् । एउटा अर्को यथार्थ कुरा के हो भने एकदिन तपाईँ यहाँ हुनुहुने छैन । कहाँ गइन्छ भन्ने कुरा पनि कसैलाई थाहा छैन । तपाईँको संसारमा के तपाईँले शान्ति प्राप्त गर्न सक्नुभयो ! के तपाईँ त्यो परमानन्दको अनुभूति गर्न सक्षम हुनुभयो ? यदि यो कार्य गर्न सक्नुभएको छ भने तपाईँले सबै कुरा पाउनुभयो । यदि गर्न सक्नुभएन भने तपाईँको मुस्कान पनि झुटो हो । तपाईँ दुनियाँका लागि त मुस्कुराइरहनुभएको छ तर आफ्ना लागि होइन । बुझ्नुपर्ने कुरा के छ भने हामीलाई यो जीवन प्राप्त भएको छ । हामीले यसको सकेसम्म फाइदा कसरी लिन सक्छौँ !

मानिसले यो संसारमा जति पनि कार्य गर्दछ, उसले आफ्नो सुख–शान्तिका निम्ति गर्दछ । उसका धारणा हुन्छन् ः यदि मैले यस्तो कुरालाई हासिल गरेँ या मलाई यस्तो कुरा प्राप्त भयो भने यसबाट मेरो जीवनमा सुख आउनेछ, जीवनमा शान्ति प्राप्त हुनेछ । सारा संसारका मानिसहरू यही कुराका लागि यताउता दौडिरहेका छन् । कोही छोरा होस् भन्ने चाहनाका पछि दौडिन्छन्, कोही आफ्नो व्यवसायका पछि दौडिन्छन् । कोही कुनै कुराका पछि त कोही कुनै कुराका पछि दौडिरहन्छन् ।

मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ । ऊभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिकरूपमा पहिलेदेखि नै छ । कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुराहरू सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ । त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् । तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो ।

यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन । खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ– ‘खाना खाऊ !’ सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि, उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फस्न सक्छ त्यति बेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन । त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नुपर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईँले आपैmँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छ ः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, ‘विश्वमा शान्ति हुनुपर्छ ।’ म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्