मरिण गाउँपालिकाले ठेक्काको मापदण्ड पूरा नभएका भैँसीको पाडी र्फिता पठायो 



सिन्धुली।

 सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई अनुदानमा बाँड्न ल्याएको भैँसीको पाडी फिर्ता पठाएको छ ।
नवप्रवर्धन साझेदारी कोष अन्तरगत उन्नत जातको भैँसी पालन कार्यक्रमका लागि पाडी ल्याउने ठेक्का हात पारेको सर्लाहीको हजारीया २ मा रहेको साना किसान कृषि सहकारी संस्थान लिमिटेडले सम्झौताको मापदण्ड पूरा नभएका भैँसीको पाडी ल्याएपछि गाउँपालिकाले सहकारीलाई नै पाडी फिर्ता पठाएको हो ।
दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको दुई पक्षीय सम्झौतामा नवप्रवर्द्धन साझेदारी कोष अन्तरगत उन्नत जातको भैँसी पालन कार्यक्रम मरिण गाउँपालिकामा चालु आर्थिक वर्षमा संचालन भइरहेको छ ।

सोही कार्यक्रमका लागि कुल ६६ लाखमा न्यूनतम २ सय ५० किलो भन्दा माथिको १ सय २० ओटा उन्नत जातको भैँसीको पाडी उपलब्ध गराउने गरी साना किसान कृषि सहकारी संस्थान लिमिटेडले ठेक्का लिएको छ ।

ठेक्का अनुसार सहकारीले मंगलवार २२ ओटा पाडी मरिण गाउँपालिका ल्याई पुराएको थियो । तर चेकजाँच गर्दा १२ ओटा पाडी ठेक्का सम्झौतामा उल्लेख गरिएको भन्दा सानो भएपछि किसानलाई वितरण नगरी सहकारीलाई नै पाडी फिर्ता पठाईएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्ताफले बताउनुभयो ।

ठेक्का सम्झौता अनुसार मापदण्ड पुरा भएका १० ओटा मात्रै भैँसी छानेर १० जना किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मुक्ताको भनाई छ ।

मरिण गाउँपालिकाले भैँसी पालनबाट किसानको जीवनस्तर उकास्न र पालिकालाई दुघमा आत्मनिर्भर बनाउन वडा नं. ६ र ७ मा १ सय २० ओटा उन्नत जातको भैँसी वितरण गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

गाउँपालिकाको पशु पालन तर्फको यस वर्षकै निक्कै महत्त्वपूर्ण यस उन्नत जातको भैँसी वितरण कार्यक्रम अन्तर्गत वडा नं. ६ का ६० र वडा नं. ७ का ६० गरी १ सय २० जना किसानलाई पाडी वितरण गरिने उहाँले बताउनुभयो ।

ठेक्का लिएको सहकारीले पहिलो चरणमै मापदण्ड नपुगेका पाडी ल्याएकाले मापदण्ड नपुगेका पाडी फिर्ता पठाएर ल्याउन बाँकी १ सय १० ओटा पाडी मापदण्ड पुरा गरेका मात्रै ल्याउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्