फोहोर उठाएको हल्ला चलेपछि मेयर पुगे सिंहदरबार

फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीलाई चेतावनी : खाल्डो नखन्नू, फोहोर कतै नलैजानू

0
Shares

काठमाडौं । शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुग्नुभयो । दिउँसो करिब ३ बजे फोहोर थन्क्याएको स्थल सिंहदरबार पुगेका मेयर साहले फोहोर व्यवस्थापन स्थलमा खटिएका कर्मचारीलाई हप्काउनुभएको थियो । मेयरले सोचेजति डंगुर फोहोर नदेखेपछि त्यहाँ कार्यरत कन्हैया पोदारसँग जानकारी लिनुभएको थियो । त्यसक्रममा उहाँले ती कर्मचारीलाई फोहोर वर्गीकरण गर्न छुट्टयाइएको खाल्डो पुर्न निर्देशन दिनुभएको थियो ।

यहाँको फोहोर खै भन्दै तल्लो तहका कर्मचारीलाई हप्काइदप्काइ गरेका मेयर साहले अन्य स्थानमा फोहोर नलैजान चेतावनी दिनुभएको थियो । देशको राष्ट्रप्रमुख निवास, सरकार प्रमुखको कार्यालय र सरकार प्रमुखको आवासमा फोहोर परिवर्तन नेपालले संकलन, ढुवानी र व्यवस्थापन गरिरहेको छ । सरकारले १० दिनसम्म राष्ट्रपति र प्रधानमन्त्री निवासको फोहोर नउठेको विषयमा कुनै हल्ला भएको छैन । २० वटा मन्त्रालयल रहेको सिंहदरबारभित्र १० दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेपछि सरकारले विकल्प खोज्न थालेको छ । जिरो वेष्टको अवधारण अघि बढाएर फोहोरको परिमाण कम गर्ने विषयमा सरकारले गृहकार्य गरेको जानकारी पाएपछि मेयर साह सिंहदरबारस्थित फोहोर डम्पिङ हुने स्थान पुतली बगैंचा पुग्नुभएको थियो ।

मेयर साहले प्रधनमन्त्री पुष्पकमल दाहाल वा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आएको मन्त्री वा उच्च तहको टोलीसँग मात्र वार्ता गर्ने बताएपछि सरकार चुपचाप छ । सरकारले तीन भीभीआईपी क्षेत्रको फोहोर व्यवस्थापन गर्ने तयारी थालेको छ । त्यसका लागि शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन नेपालसँग तीन दिनअघि वैशाख ३ गते फोहोर ढुवानी गर्ने सम्झौता गरेको छ ।

सो सम्झौताअनुसार फोहोर व्यवस्थापन हुन थालेको हल्ल्ला चलेपछि मेयर साह सिंहदरबार पुग्नुभएको थियो । १० दिनदेखि तीनवटा भीभीआईपी निकायमा करिब २४ टन फोहोर थुप्रिएको छ । गएको शनिबारबाट शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द छ ।

गृहमन्त्रालयले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदामध्ये १४आँै बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ । तर सिंहदरबाभित्रै रहेको गृह मन्त्रालयको नजिकै पुतली बगैंचामा फोहोर थुप्रिँदा कुनै प्रतिक्रिया जनाएको छैन । सिंहदरबारभित्रै फोहोर थुप्रिन थालेपछि सहरी विकासमन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

लगत्तै फोहोर व्यवस्थापन गर्ने निकाय परिवर्तन नेपालले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्न शुरू गरेको थियो । परिवर्तन नेपाललेले फोहोर व्यवस्थापन गर्ने उपल्लो निकाय कामपाको निर्देशन नभई बञ्चरेडाँडामा फोहोर वयवस्थापन गर्न सक्ने अवस्था नभएको स्पष्ट पारेको छ । परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले कामपाको निर्देशन नभई फोहोर संकलन र ढुवानी नगरिने स्पष्ट पार्नुभयो ।

नेपालको संविधानको अनुसूची ८ र आधारभूत सफाइ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोरमैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हो । तर कामपाले १४ वटा मन्त्रालयसँग विगतमा भएका सहमति पालना नगरेको भन्दै फोहोरमैला व्यवस्थापन कार्य रोकेको छ ।

फोहोर नउठेको विषयमा सरकारर कामपाबीच कुनै पनि संवाद हुन सकेको छैन । फोहोर संकलन हुन नसक्दा सिंहदरबार परिसरमा करिब १२, शितल निवासमा करिब ११ र प्रधानमन्त्री निवास बालुवाटारमा करिब ११ टन गरी ३४ टन फोहोर थुप्रिएको छ । फोहोरको कारण सिंहदरबारमा दुर्गन्ध फैलन शुरू भएको छ । फोहोर उठ्न नसक्दा सबैभन्दा बढी मार सिंहदरबारमा परेको छ ।