‘मिसन ग्रासरुट’- एमालेको कमजोरी समीक्षा गर्ने औजार

0
Shares

काठमाडौं । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानलाई पार्टीको आन्तरिक कमजोरीको समीक्षा गर्ने औजारका रूपमा लिएको छ । पार्टी विभाजन र नेताहरुबीच आन्तरिक बेमेलसँगै निर्वाचन परिणामले दिएको धक्कापछि कमजोरी केलाउँदै संगठन सुदृढीकरणका लागि एमालेले यो अभियान चलाएको हो ।

पार्टीका आन्तरिक कमी महसुस औंल्याउन र सांगठनीक शुद्धीकरण तथा सुदृढीकरणका लागि गत फागुन ५ बाट शुरू गरिएको ‘मिसन ग्रासरुट’ अभियान वैशाख ९ सम्म चल्नेछ । सत्ताबाट बाहिरिएको दुई वर्षपछि आफ्ना एजेन्डा कार्यकर्तामाझ लैजान र संगठनको वास्तविक अवस्था बुझ्न यो अभियान चलाएको नेकपा एमालेका नेता विशाल भट्टराईले बताउनुभयो ।

‘मिसन ग्रासरुट अभियानले पार्टीको नीति कार्यक्रम र योजनाहरु दूर दराजका जनतामाझ पुगेको छ’, उहाँले भन्नुभयो– ‘७७ जिल्ला, ७ सय ५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडा तह र १० हजारभन्दा बढी टोल बस्तीहरूमा पुगेर पार्टी संगठनको वास्तविक चित्र हेर्ने काम भएको छ ।’ ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत सदस्यता व्यवस्थापन, सांगठनिक गतिविधि, जनसंगठनहरुको अधिवेशन, निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण र पार्टीसँग अन्तरसंवाद, ज्येष्ठ कम्युनिस्ट सम्मान कार्यक्रम, पार्टीभित्रको अन्तरविरोधको अवस्था बुझेर हल गर्ने, एक कमिटी एक रचनात्मक कार्यक्रमलगायत १२ वटा कार्यादेशसहित नेताहरू खटाएको उहाँको भनाइ छ ।

अभियानमा पार्टीलाई धोका दिएका, पार्टी छाडेका, अन्य दलहरुमा गएका र नियमित लेबी नबुझाउनेहरुलाई शुद्धीकरण गर्ने गरिएको भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । ज्येष्ठ कम्युनिस्ट, पार्टीलाई सहयोग गरेका चन्दादाता, पार्टी संगठनलाई अप्ठ्यारो परेको बेला निरन्तर खटेर सहयोग गरेका पुराना व्यक्तिहरूलाई सम्मानसमेत गरिएको उहाँको भनाइ छ । चुनावपछि पनि नेकपा एमाले जनतामाझ नै रहेको पुष्टि गर्दै पार्टी सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणबाट निस्किएका यकिन सदस्यहरू मात्रै पार्टीको सदस्यता सूचीमा सूचीकरण गरिने बताइएको छ ।

यो अभियानलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा देशभर एकसाथ उद्घाटन गरेर अभियानको प्रारम्भ गर्नुभएको थियो । २ महिना ४ दिन लामो अभियान एमालेको वास्तविक संगठनको अवस्था मापन गर्र्ने प्रक्रिया भएको नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उक्त अभियानमा केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य गरी ३ सय ३५ केन्द्रीय नेताहरूलाई पार्टीले खटाएको नेकपा एमालेले जनाएको छ ।

जसअन्तर्गत कोशी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई खटाएको थियो । त्यसै गरी मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललाई खटाइएको थियो । वाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई खटाइएको थियो । गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरूङ, खगराज अधिकारी र थममाया थापालाई खटाइएको छ ।

त्यसै गरी लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे खटिएका छन् । कर्णाली प्रदेशमा सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी खटिएका छन् । सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको थियो । विशेष कमिटी (केन्द्रीय कार्यालय)मा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारीले काम गरिरहेका छन् । महासचिव पोखरेल भने पार्टी अध्यक्षको कामलाई सहयोग गर्ने गरी खटिनुभएको थियो । अभियानमा खटिएका प्रायः सबैजसो नेताहरू फिल्डमै रहेको एमाले नेताहरुको भनाइ छ ।

हाल करिब ११ लाख संगठित सदस्य रहेको दाबी गर्दै आएको एमालेमा यो अभियानपश्चात वास्तविक सदस्यता संख्यासमेत अध्यावधिक गरी पार्टीलाई चुस्त राख्न सहयोग पुग्ने नेता ज्ञवालीको भनाइ छ । केन्द्रीय नेताहरुबाट हुम्ला, जुम्लालगायत दुर्गम हिमाली तथा पहाडी जिल्लाहरुमा पार्टीको अवस्था र समस्याहरु बुझ्ने काम यो अभियानमार्फत पहिलोपटक भएको उहाँको भनाइ छ ।

पार्टी टुक्रिएर संगठनमा मात्र नभई निर्वाचनमा समेत धक्का पुगेपछि अभियान चलाएको हो । एमालेभित्र विगत केही वर्षदेखि माओवादीसँगको गठबन्धन, पार्टी एकता र फुट, संसद् विघटन, आन्तरिक बेमेल र त्यसपछि भएको पार्टी विभाजनलगायत विषयमा नेतृत्वमाथि आलोचना हुँदै आएको थियो । ‘मिसन ग्रासरुट अभियान’ लिएर गाउँ पसेका नेताहरुले कार्यकर्ता तहबाट यस्तै प्रश्नहरु बर्सिएको अभियानमा सहभागी एक नेताले बताए । यिनै विषयले गर्दा गत स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत एमालेको पक्षमा सन्तोषजनक परिणाम नआएको कार्यकर्ता वृत्तमा बहसहरु भइरहेका थिए । अभियानमा कार्यकर्ताबाट अनेकौं प्रश्नको सामना गर्नुपरेको नेताहरुले बताएका छन् ।

स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकिएको विश्लेषणसहित गाउँ प्रवेश गरेको एमालेको एउटा उद्देश्य चुनावमा कम सिट ल्याउनुको कारण पत्ता लगाउनु पनि हो । यही अभियानले पार्टी कार्यकर्तामा व्याप्त अविश्वास निराकरण गर्ने र संगठन सुदृढीकरण तथा विस्तारमा बल पु¥याउने नेता विशाल भट्टराईको दाबी छ । पछिल्लो समय सिद्धान्त र पार्टीको मार्गदर्शनबाट च्यूत हुँदै गएको आरोप खेप्दै आएको एमालेले मिसन ग्रासरुट अभियान लिएर गाउँगाउँ पुगेका नेतालाई कार्यकर्ताले पार्टी नेतृत्वको एकल निर्णयका सन्दर्भमा समेत प्रश्नहरु उठाएको अभियानमा सहभागी नेताकार्यकर्ताहरु बताउँछन् ।

तर, केन्द्रीय नेताहरुले भने पछिल्लो सरकार गठनका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई साथ दिँदादिँदै सरकारबाट बाहिरिनुपरेको, विगत केही वर्षदेखि एमालेले सत्तामा जानु र छाड्नुको कारणबारे आफ्ना कार्यकर्तालाई विस्तृत रुपमा बुझाउन पनि यो अभियानको उपयोग गरेको बताएका छन् । चुनाव नजिकिँदा मात्रै गाउँ छिर्ने नेताहरूलाई चुनावपछि पनि गाउँमा भेट्दा तल्लो तहका नेता–कार्यकर्ताहरुमा खुसी छाएको उनीहरुको बुझाइ छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान पार्टी सर्भिसिङ’ को अभियान भएकाले केही पुराना नेताले पार्टी छोडेको अवस्थामा युवाहरूलाई पार्टीप्रति जागरण ल्याउन यो अभियान चलाइएको बताउनुभयो । अभियानकै क्रममा कञ्चनपुर पुगेका पार्टी उपध्यक्ष विष्णु पौडेल र नेता भीम रावलबीच चर्काचर्कीसमेत भएको थियो । त्यही विषयलाई लिएर दुवै नेताहरुको समूहले पत्रकार सम्मेलन नै गरेका थिए ।