तालिममा सिकेका ज्ञान, सीप प्रयोगमा ल्याउन बालबालिकालाई आग्रह 

 ललितपुर- १६ को उद्घोषण तालिम सम्पन्न

0
Shares

ललितपुर।

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको बाल अधिकार समितिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम मंगलबार समापन गरियो।

स्थानीय हःखबहालस्थित रत्नाकर महाविहारको हलमा सञ्चालित सो तालिम आयोजित एक कार्यक्रमका समापन गरिएको हो।सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाध्यक्ष निर्मलरत्न शाक्यले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहार लागू गर्न अनुरोध गर्नुभयो। ‘जति अभ्यास गर्दै गयो,उति तपाईहरुको बोल्ने क्षमतामा निखार आउने छ । तपाईहरु अहिले मलिलो माटो जस्तो हुनुहुन्छ । जस्तो अभ्यास ग¥यो,भविष्य पनि त्यस्तै बन्ने छ ।’ वडाध्यक्ष शाक्यले भन्नुभयो।

सो अवसरमा समितिका संयोजक समेत रहेका महिला सदस्य बबिता श्रेष्ठले फुर्सदको समयमा बालबालिकाहरु घण्टौं मोबाइल हेरेर समय बिताउनुभन्दा विभिन्न अतिरिक्त क्रियाकलाप र रचनात्मक गतिविधिमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । तालिममा बालबालिकाको सहभागितालाई आफूलाई निकै उत्साहित तुल्याएको सुनाउँदै कार्यपालिका सदस्य समेत रहेका श्रेष्ठले यसबाट प्राप्त प्रतिक्रिया, अनुभवबाट सिकेर बालबालिकाको माग र चाहनालाई ध्यानमा राखेर अझ राम्रो कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिममा उद्घोषणकला, बोल्न प्रस्तुति, ६ वटा ‘क’ (के, किन, को, कहाँ, कहिले, कसरी), सैद्धान्तिक ज्ञानका साथै त्यसको लेखन, बोल्न अभ्यास गराइएको प्रमुख प्रशिक्षक सरिना बज्राचार्यले बताउनुभयो । शुरुमा २० देखि २५ जनालाई लक्षित गरी गर्ने भनेपनि बालबालिकाको शैक्षिक सत्र २०७९ को समापनपछि बिदाको समयमा परेकोले सो तालिममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनले तालिमका सहभागी बालबालिकाले आफूले सिकेको ६ वटा ‘क’ लाई पुस्तक पढ्दा, घुम्न जाँदा जहाँतहीँ पनि लागू गर्न सकिने उल्लेख गर्दै यसले बालबालिकाहरुलाई मौलिक तथा सिर्जनात्मक सोचको विकास गर्न सघाउने धारणा राख्नुभयो । हरेक बालबालिका जन्मजात कुनै न कुनै प्रतिभा लिएर आउने उल्लेख गर्दै स्थानीय तह, वडाले अन्तर्निहित प्रतिभालाई बाहिर ल्याउन उचित परिवेश तयार गर्नुपर्नेमा पनि उहाँको जोड रहेको छ ।

रत्नाकर महाविहार संरक्षण समितिका सदस्य कर्ण बज्राचार्यले हरेक दिन पत्रपत्रिका हेरेर ठूलो स्वरले वाचन गर्ने अभ्यास गर्न बालबालिकाहरुलाई आग्रह गर्नुभयो । यसले शुद्ध उच्चारण गर्ने, नयाँ शब्द सिक्ने, थप जिज्ञासा पैदा हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । तालिमका सहभागी लक्की महर्जनले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहभागीहरुको तर्फबाट १० जना भन्दा बढी बालबालिकाले बोलेका थिए। सो तालिम चैत्र २६ गतेदेखि सञ्चालन भएको थियो।