लथालिङ्ग काठमाडौं प्लाजामा कामपा- हतारमा कार्यालय सार्न दबाब, कर्मचारी तनावमा

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहनुभएको छ । उहाँले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत दिनहुँजसो दबाब दिन थालेपछि कर्मचारीहरू भने तनावमा परेका छन् ।

केही सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएर वैशाख १ गतेदेखि महत्वपूर्ण काम काठमाडौं प्लाजाबाट हुने भन्दै हल्ला पिटाएको कामपा प्रशासनले हिजो सोमबारसम्म पनि सर्ने कुनै तयारी गरेको छैन ।

सोमबार अपराह्न नयाँ भवनबाट सेवा दिन थालेको विषयमा समाचार संकलन गर्न काठमाडांै प्लाजा पुग्दा त्यहाँको अवस्था हेरिनसक्नु थियो । त्यहाँ सर्ने विभाग, महाशाखा र शाखाको नाम फोटोकपी कागजमा छापेर भित्तामा टाँसिएको थियो तर कर्मचारी एक जना पनि थिएनन् । जताततै कोठा भत्काइएको थियो । सबै तलामा रहेको शौचालय पूरै दुर्गन्धित थियो । लिफ्ट अघिल्तिर फोहोर थुप्रिएको थियो । लिफ्ट कहिले बन्छ भन्ने विषयमा त्यहाँ रहेका कसैलाई पनि जानकारी थिएन ।

तर, कामपाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने तत्काल कार्यालय सार्न निर्देशन दिनुभएको जानकारी दिँदै कामपाका एक उच्च कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘हामीलाई दैनिकजसो दबाब आउँछ । तत्काल जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा स्थानान्तरण हुनु भन्ने उर्दी जारी भएको छ ।’

महानगरले अन्डरग्राउन्डदेखि सातौं तलामा कुन कुन विभाग, महाशाखा र शाखा कहाँकहाँ राख्ने भने तालिका बनाएर भुँइतलामा टाँसेको छ । कामपा प्रशासन विभागका निर्देशक दीपक अधिकारीले जस्तो अवस्था भए पनि सार्ने तयारी गरिरहेको जानकारी दिँदै भन्नुभयो– ‘कार्यालयका सबै समग्री लगेर मिलाएर बस्न सबैलाई निर्देशन दिएका छांै । एकदुई दिनभित्रै सार्न सबैलाई आग्रह गरेका छौं, हामी पनि सर्दैछौं ।’ सफ्टवेयर, इन्टरनेट र नेटवर्किङ जडान गर्ने विषयमा उहाँको भनाइ थियो– ‘सरेपछि सबै समाधान हुनेछ ।’

तर एक विभागीय प्रमुखका अनुुसार नेटवर्किङ र इन्टरनेट जडान नभएसम्म सर्ने सम्भावना नै रहँदैन । कामपाले नक्सा, राजस्व र व्यक्तिगत घटना दर्तालगायत विभाग र शाखालाई प्रविधियुक्त बनाइसकेको छ । ती निकायलाई हाल प्रयोग भइरहेको सफ्टवेयर तयारी नभइकन सार्नसक्ने अवस्था छैन । घरबाटै नक्सा पास गर्ने प्रणाली शुरूवात गरेको कामपाले त्यसलाई प्रयोगमा ल्याउन उक्त सफ्टवेयरलाई अनिवार्य रूपमा नेटवर्किङ गर्नेपर्छ । तर ती सफ्वेयर तयारी गर्ने अवस्था नभइकन कार्यालय सार्न थालेपछि झन् समस्या बढ्ने कर्मचारीको गुनासो छ । कामपाले नक्सा, राजस्व संकलन र ११ वटा विभागसँग जोडिनेगरी खरिद इकाईको नयाँ सफ्टवेयर प्रयोग गरिरहेको छ ।

कामपाले व्यक्तिगत घटना दर्ता गर्न भाइटल इलेक्ट्रोनिक रजिष्ट्रेसन प्रणाली (भीईआरएस), नक्सा विभागले इलेक्ट्रोनिक विल्डिङ परमिट प्रणाली(ईबीपीएस) र खरिद ईकाईले इलेक्ट्रोनिक गभरमेन्ट, प्रक्युरमेन्ट प्रणाली(ईजीपिएस) सफ्टवेयर प्रयोग गरेको छ । यी तीन निकायलाई काठमाडौं प्लाजामा स्थानान्तरण गर्न अनिवार्य रूपमा सफ्टवेयर तयार हुनुपर्छ । तर, अहिलेसम्म इन्टरनेटको समेत व्यवस्था भएको छैन ।

महानगरले दुई चारवटा कुर्सी लगेर विभाग, महाशाखा र शाखा नामकरण गरे पनि भवनको अवस्था हेर्र्दा अझै एक महिनामा पनि कार्यालय सार्न सक्ने अवस्था छैन । लहडका कारण महानगरको सबै निकाय जबरजस्र्ती सार्न लागिएको छ । भवनमा लगाइएको रङ कामै नलाग्ने गरी खुइलिएको छ । अधिकांश तलाको झ्याल कामै नलाग्ने देखिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले वैशाख १ गतेबाट सार्ने तयारी गरिएको भए तापनि विधिध कारणले सम्भावना नभएपछि हिजो सोमबारबाट तयारी थालेको जिकिर गर्नुभयो । कामपाको मुख्यालय स्थानान्तरण हुन भने अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।

कामपाले काम देखाउन र नियम नपु¥याई नेपाल ट्रष्टसँग भएको सम्झौता कार्यान्वयन गर्न हतार गरिरहेको छ । कामपाले चैत ९ गतेकै दिनबाट मासिक ६० लाख ५० हजार रुपियाँ तिर्नेगरी उक्त भवन १० वर्षका लागि भाडामा लिने सम्झौता गरेको थियो । यसैबीच कार्यालयमा सर्दै नसरी दुई महिनाको भाडा तिर्ने अवस्था सिर्जना भएको छ ।

उक्त भवनको भुर्इं तलामा पार्किङ, नगर प्रहरी, बैंक काउन्टर, ड्राइभर कोठा, जिन्सी शाखा, आपतकालीन सेवा केन्द्र, विपद् व्यवस्थापन विभाग र स्वाथ्य सेवा केन्द्र, मूलदर्ता र पञ्जीकरण कार्यालय रहने छ । त्यसै गरी पहिलो तलामा राजस्व, शहरी व्यवस्थापन, सामाजिक विकास विभाग, मिसिल र तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, बैठक कक्ष र विषयगत समिति रहने बताइएको छ ।

दोस्रो तलामा ट्राफिक सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि र पशुपंक्षी विभाग, शिक्षा विभाग, कानुन तथा मावनअधिकार विभाग र इजलास रहनेछ । तेस्रो तलामा प्रशासन विभाग, बित्त विभाग, आन्तरिक लेखा परीक्षण, खरिद ईकाई, अनुगमन तथा मूल्याङकन ईकाई, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय रहनेछ । त्यसै गरी चौथो तलामा सार्वजनिक निर्माण विभाग, शहरी योजना विभाग, सूचना प्रविधि विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी ईकाई, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र मेयरको सचिवालय रहने व्यवस्था गरिएको छ । पाँचौंमा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, रिफ्रेसमेन्ट सेन्टर, क्यान्टिन, सानो बैठक कक्ष र कल सेन्टर रहने बताइएको छ ।

यसैबीच भवनभित्र रहेको निरमाया दोहोरी र राजघराना रेस्टुरेन्टको ताला खेलेर सामानको लागत तयार गर्न शुरू गरेको छ । नेपाल ट्रस्ट कार्यालयका कर्मचारीले सोमबार काठमाडांै प्लाजा पुगेर दुवै व्यावसायीसँग समन्वय गरी खाली गर्ने प्रक्रिया शुरू गरेको छ । ट्रस्टसँगको घरभाडा लेनदेन नमिलेपछि शिलबन्दी गरिएका क्षेत्र प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ । सम्झौताअनुसार घरभाडा ५ वर्षपछि १० प्रतिशतले बहाल वृद्धि हुनेछ ।

करिब ५ रोपनी क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ । १ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा १ लाख १९ हजार वर्गफिट जमिन कार्यालयको प्रयोगमा ल्याउन सकिने कामपाको भनाइ छ ।