विदेश हिँडेका चार महिला भारतमा पक्राउ 

0
Shares

भद्रपुर। 

अवैध बाटो रोजेर विदेश हिँडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ ।
भारत हुँदै अवैध रूपमा ओमन जान हिँडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टको सहारा प्रहरी थानाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–७, मदन बस्तीकी ३२ वर्षीया सुनिताकुमारी राजवंशी, २९ वर्षीया लीलकुमारी राजवंशी र ३२ वर्षीया देवन्ती ताजपुरिया तथा दाङ तुलसीपुरकी २२ वर्षीया मेधवी नेपाली रहेका छन् ।

मेचीनगरका तीनै जना महिलाहरु १० दिनअघि नेपालको पासपोर्ट बोकेर भारत हुँदै ओमन जाने भनेर घरबाट हिँडेका थिए ।
दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिँडेका ती महिलाहरूलाई सहारा प्रहरी थानाले नो अब्जेक्सन लेटर (एनओसी) फेल भएको भनेर पक्राउ गरेको थियो ।

पछिल्लो समय भारतहुँदै तेस्रो देश जाने नेपाली नागरिकका लागि नेपाल सरकारले ‘नो अब्जेक्सन लेटर’ अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।
दलालको निर्देशन बमोजिम ती महिलाहरू काँकडभिट्टा नाकाको बाटो हुँदै भारतको बागडुग्रा एयरपोर्टबाट मुम्बई पुगेका थिए । बागडुग्रा एयरपोर्टदेखि मुम्बईसम्मको एयरटिकट दलालले गरिदिएको थियो ।

यही ११ तारिख बेलुका मुम्बई उड्ने कुरा देवन्तीले उनका नक्सलवाडी बस्ने भान्जालाई फोन मार्फत जानकारी गराएकी थिइन् । भान्जाले भोलिपल्ट फोन गर्दा फोन सम्पर्क हुन नसकेको बताइएको छ ।

१२ तारिख राति ११ बजे मदन बस्तीमा रहेका उनको मामाको फोनमा मेसेज आयो । मेसेजमा लेखिएको थियो–‘नो अब्जेक्सन लेटर फेल भएको कागज भेटेपछि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई छुटाउन मुद्दा लड्नु पर्छ चाडो आउनु होला ।’  उनीहरुलाई अहिले प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको छ । म्याद थप गरेर प्रहरीले हिरासतमा राखेको छ ।

‘सोधपुछको क्रममा दलालको फन्दामा परि विदेश हिडेको खुल्यो,’ माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले भन्नुभयो, ‘दलालले उनीहरुलाई नेपाली पासपोर्टमा भारतको विमानस्थल प्रयोग गरी विदेश लान खोजेका रहेछन् । एनओसी लेटर भएपनि मिति गुज्रिएको कारण प्रहरीले पक्राउ गरेको छ ।’

पश्चिम घर बताउँने नक्सलवाडीका प्रेम जसवाल (दलाल)ले ती महिलाहरूलाई अवैध बाटो प्रयोग गरी विदेश पठाएको दावी छ । देवन्तीका श्रीमान् दिलिप राजवंशीले श्रीमती विदेश गएको र वडा नम्बर ७ कै महिलाहरुसँग सम्पर्क भएपछि २ महिनाअघि दलाल जसवालसँग धुलाबारीमा भेटेर कुरा भएको बताउँनुभयो ।
भेटमा दलालले यहाँका धेरै महिलाहरु विदेश गइसके । अरु पनि जाने लाइनमा छन् । उहाँ (श्रीमती) लाई पठाउने हो भने पासपोर्ट बनाउनु । फ्रि भिषामा लान्छु । सेलेरी आएपछि २० हजार दिनु । सेलरी मासिक ४० हजार हुनेछ । बाँकी कुरा वाट्र्सअपमा गरौँ भनेर भारतीय नम्बरको मोटरसाइकल लिएर आएको राजवंशीको भनाई छ । उहाँले दलाल कहाँको हो, को हो राम्ररी नचिनेको बताउँनुभयो ।

राजवंशीका ३ छोरी र १ छोरा छन् । उहाँ आफै विरामी हुनुहुन्छ  । उहाँले केहि महिनाअघि मात्र घाटी र पित्तथैलीको अपरेसन गरेको बताउँनुहुन्छ । मदन बस्तीमा २ वटा साना भिट्टा छन् । त्यो पनि सहारा नेपाल र ग्रामिण विकास बैँङ्कमा धितोमा राखेको उहाँको भनाई छ ।

घरको अवस्था नाजुक भएपछि ऋण तिर्न र बाल बच्चाको पालन पोषणका लागि श्रीमतीलाई विदेश पठाएको थिए तर, मुम्बईमा पक्राउ परेको खवर सुन्दा दु:ख लागेको उहाँले बताउँनुभयो ।

‘श्रीमतीलाई जाने बेलामा भएको १५ हजार नेपाली रुपैयाँ पनि दिएर पठाएको थिए’, उहाँले भन्नुभयो –‘ज्याला मजदुरी गर्ने मान्छे मुम्बई गएर अदालतमा मुद्दा लड्न सक्ने अवस्था छैन । माइती नेपाल र प्रहरीले पहल गरिदिन आग्रह गर्दछु ।’ उहाँले  माइती नेपाल र प्रहरीमा दलाल विरुद्ध उजुरी गर्ने हुनुभएको छ ।
माइती नेपालका प्रमुख घिमिरेले दिल्लीमा रहेका कर्मचारीले प्रहरीसँग बुझ्ने काम गरिहेको बताउँनुभयो । ती महिलाहरुलाई विदेश पठाउने दलाल जसवाल अहिले फरार छन् ।