सरकारी विद्यालयमा गुणस्तर बढाउने भन्दै निजी विद्यालयका गाडी गाउँ प्रवेश गर्न निषेध

0
Shares

महोत्तरी। 

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले निजी विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन् ।
बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विराट विष्टले पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजी विद्यालयका गाडीलाई निषेध गर्ने निर्णय गरेका हुन् ।
२१ फाल्गुन २०७९ मा शिक्षक अभिभावक संघको भेलाले गरेको निर्णयलाई ऐक्यबद्धता जनाउँदै वडाले गाडी निषेध गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए ।
तर विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी निजी विद्यालयको गाडीलाई निषेध गर्नुले  बालबालिकाको पढ्न पाउने अधिकार हनन गर्न खोजेको उनीमाथि आरोप लागेको छ ।

नजिकमा रहेको  जनजागृत माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेपछि पाटुका धेरै अभिभावकहरुले निजी विद्यालयमा नै पढाउँदै आएका छन् ।
बर्दिबासमा नै रहेको निजी विद्यालय सनसाइन इङलिस बोर्डिङ स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, नोबेल बोर्डिङ स्कुल र बर्दिबास बोर्डिङ स्कुलले त्यहाँबाट विद्यार्थी बोक्दै आएका छन् ।

यसैको कारणले पनि जन जागृत माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको केही स्थानीय र जनप्रतिनिधिको ठहर छ ।

`घारी टोल, तल्लो पाटु, माथिल्लो पाटु लगायतका ठाउँहरूबाट विद्यार्थीहरु निजी विद्यालयमा जाने भएकाले उक्त ठाउँमा सवारीसाधन आउन निषेध गर्ने निर्णय गरेका हौँ,´ अभिभावक संघका अध्यक्ष रमेश खत्रीले भने ।
वडाले निषेध गर्ने निर्णय गरेको पत्र सामाजिक संजालमा सार्वजनिक गरेपछि वडा अध्यक्षमाथि बाक्लै आलोचना भएका छन् ।
देउराली उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक प्रदीप कार्कीले यो निर्णय त्रुटिपूर्ण भएको बताए ।´

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष विष्टको निर्णयलाई लिएर उनकै पार्टीका स्थानीय नेताले समेत आपत्ति जनाएका छन् । जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने मान्यता विपरीत पूर्वाग्रही निर्णय गरिएको नेकपा एमालेका स्थानीय युवा अमिश रिसालको तर्क छ ।

यता निजी विद्यालयका सञ्चालकले वैशाख -५ गतेपछि निषेध गरिएको क्षेत्रमा निर्वाधरुपमा गाडी चल्ने बताए। एभरेस्ट पब्लिक एकेडेमीका संचालक अरुण कार्कीले कानुन हातमा लिएर तानासाही निर्णय गरेको आरोप लगाए । वैशाख -५ गतेपछि पाटु गाउँ आवतजावत गर्ने गाडीलाई रोकेर देखाउन पनि उनले वडा अध्यक्ष विष्टलाई चुनौती दिएका छन् ।