मध्यपुर थिमिमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा

0
Shares

भक्तपुर । मध्यपुर थिमी क्षेत्रका वासिन्दाले शनिबार बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । विस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो ।

थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरू भएको थियो ।

जात्रा शुरू भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई  दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसै गरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ ।

थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको भए पनि पछिल्लो समय खटको संख्या घट्दै गएको छ । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको थियो ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै सिन्दुर जात्रा मनाइन्छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुरेजात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्याें, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा शुरू गरिन्छ ।

परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैल : द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्यों मा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् ।

एक अर्कामा सौहार्दपूर्ण रूपमा सिन्दुर दल्ने, छ्याप्ने र विभिन्न पेय पदार्थ पिउँदै नेवारी बाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुईंचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटकको आगमनसमेत उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।