बजारमा छ्याप छ्याप्ती म्याद गुज्रिएका बडवाइजर बियर 

रेष्टुरेन्टका कर्मचारी पक्राउ, कम्पनीलाई उन्मुक्ति

0
Shares

काठमाडौँ 

चिकित्सा विज्ञानले मानव स्वास्थ्यका लागि मदिरालाई हानिकारक मानेको छ । त्यसमाथि म्याद गुज्रिएको वा अखाद्य वस्तु मिसावट भयो भने के होला ? जवाफ सहज छ, त्यो मानव जीवनका निम्ति घातक हुन्छ ।

मानव स्वास्थ्यका निम्ति मदिरा र मदिराजन्य पदार्थ हानिकार भएकैले सर्वोच्च अदालतले त्यस्ता पदार्थका बारेमा सार्वजनिक सञ्चार माध्यममार्फत् प्रचार प्रसारमा समेत रोक लगाएको छ । तर, बजारमा भने नक्कली र म्याद गुज्रिएका मदिरा छ्याप छ्याप्ती भेटिन थालेका छन् । विशेष गरी चाडपर्व, भोजभतेर वा उत्सवका बेला  बजारमा नक्कली मदिराको आपूर्ति बढी हुने गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत बेला–बेलामा सचेत गराउँदै कारबाहीसमेत गर्दै आएको छ । तर, नक्कली र म्याद गुज्रिएका मदिराको कारोबारीको धन्दा रोकिने भन्दा दिनहुँ बढ्दो छ ।

पछिल्ल्लोपटक बहुराष्ट्रिय ब्रान्डको बियर ‘बड्वाइजर’ नेपाली बजारमा म्याद गुज्रिएको यत्रतत्र फेला पर्न थालेको छ । जाउलाखेल डिस्टिलरीले बजारमा ल्याएको बड्वाइजर बियरको ब्याच नम्बर ६००५२ ई, ६०६६ एफ लगायतका ब्याचको उत्पादन मिति सकिए पनि राजधानीलगायतका प्रमुख शहरमा उपभोक्तालाई खुलेयाम बिक्री वितरण भइरहेको तथ्य सार्वजनिक भएको छ ।

यतिबेला बियरको माग उच्च हुने मौसम भएको र नयाँ वर्षको अवसरमा उपभोक्ता रमाइलो गर्ने मनस्थितिमा हुने भएकाले त्यो मौका छोपेर उक्त डिष्टिलरीले स्टकमा रहेको म्याद गुज्रिएको बियरलाई बजारमा पठाएको देखिन्छ ।

उक्त कम्पनीको म्याद गुज्रिएका बियर बेचेको अभियोगमा राजधानीका विभिन्न होटल तथा रेष्टुरेन्टका कर्मचारीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको भए पनि म्याद गुज्रिएका बियर बजारमा आपूर्ति गर्ने कम्पनी तथा थोक बिक्रेतालाई प्रहरी तथा सम्बद्ध निकायले सोधपुछसमेत नगरेको स्रोतको दाबी छ ।

बजारमा म्याद गुज्रिएको बड्वाइजर बियर छ्याप छ्याप्ती रहेको गुनासो आएपछि नेपाल समाचारपत्रले शुक्रबार र शनिबार राजधानीका केही होटल, रेष्टुरेन्ट तथा मदिरा पसलमा अनौपचारिक अध्ययन गर्दा ठूलो परिमाणमा त्यस्तो बियर फेला परेको छ ।
बागबजारको सिटी होटल, स्वयम्भूको इभेन्ट प्वाइन्ट, ठमेलको थर्ड आई, कलंकीको प्रेसिडेन्ट सेकुवालगायतका विभिन्न मदिरा पसलमा म्याद नाघेका बड्बाइजर बियर फेला परेको थियो ।

अप्रिलको पहिलो साता नै म्याद सकिएका बियर थोक बिक्रेतामार्फत् होटल, रेष्टुरेन्ट तथा खुद्रा पसलमा पठाइएको बिक्रेताहरूको गुनासो छ । ‘नयाँ वर्षलाई भनेर बिहीबार विहान मात्रै थोक बिक्रेता कहाँबाट बियर झारेको हँु, कार्टुन खोलेर बोतलमा म्याद हेरिएन, अहिले बेच्ने बेलामा तपाईंले म्याद नाघेको फेला पार्नुभयो ।’ पुतलीसडकका एक मदिरा बिक्रेताले भने–‘धन्न आज बिदाको दिन भयो । सरकारी अनुगमन पनि आएको छैन, बेकारमा कारबाहीमा पर्नुको सट्टा अहिले नै यो बियर फिर्ता पठाइदिन्छु ।’

बजारमा छ्याप छ्याप्ती म्याद गुज्रिएको बड्बाइजर बियर फेला परेको विषयमा नेपाल समाचारपत्रले सम्पर्क गर्दा जावलाखेल डिष्टिलरीका ब्रान्ड म्यानेजर सुदेश पोखरेलले अस्वीकार गर्नुभयो । तर नेपाल समाचारपत्रले स्थान र ब्याज नम्बरसहित जानकारी गराउँदा के भएको रहेछ बुझेर खबर गर्छु वा कम्पनीको तर्फबाट आधिकारिक धारणा दिने व्यक्तिलाई सम्पर्क गर्न लगाउने बताए पनि त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभयो ।

बहुराष्ट्रिय ब्रान्डको उक्त बियरको उद्योग नवलपरासीको रामग्राम नगरपालिका–६ मा रहेको छ । उद्योगका सञ्चालक राजबहादुर शाह हुन् । शाहसँग पनि यसबारेमा नेपाल समाचारपत्रले पटक–पटक सम्पर्क गर्दा उहाँ पनि सम्पर्कमा आउन चाहानु भएन । उच्च स्रोतका अनुसार उक्त कम्पनीबाट उत्पादित भएर बजारमा पठाइएका बियरका हरेक कार्टुनमा ४ देखि ६ बोतलसम्म म्याद गुज्रिएको बियर मिसाएर आएको बिक्रेताको भनाइ छ । १ सय ४७ वर्ष अघि अमेरिकाको मिसौरीको सेन्ट लुइसमा बड्वाइजर बियर स्थापना भएको थियो । विश्वका अधिकांश देशमा सो बियर बिक्री हुँदै आएको छ ।

बजारमा छ्याप छ्याप्ती म्याद गुज्रिएका मदिरा बिक्री वितरण भइरहेको सम्बन्धमा उपभोक्ताहित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले मदिराजन्य कम्पनीले उपभोक्तालाई ठगी गर्दै आएको र उनीहरुलाई मुलुकी अपराधसंहिताको ठगी महलअन्तर्गत मुद्दा चलाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार सकभर त्यस्ता कम्पनीलाई कारबाहीको दायरामा पुर्‍याइँदैन । यदि बढी दबाब भयो भने उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत कारबाही गरिन्छ । यो भने उनीेलाई उन्मुक्ति दिन खोजिएको जस्तै हो । उहाँले अगाडि भन्नुभयो–‘सो ऐनमा म्याद गुज्रिएको वस्तु बजारमा भेटिए त्यस्तो वस्तु जफत गर्ने र कम्पनीलाई ३ लाखसम्म जरिवाना गराउने व्यवस्था भएकाले करोडौंको कारोबार गर्ने कम्पनीलाई ३ लाख रुपियाँ जरिवाना तिर्नु  सामान्य हो ।’

कमजोर कानुनको फाइदा उठाएर उक्तभोक्तालाई ठगी गर्ने कम्पनीलाई ठगी मुद्दामा कारबाही नचलाएसम्म यस्ता घटना पटक–पटक भइरहने बताउँदै तिमिल्सिनाले भन्नुभयो–‘राज्य कमजोर र मुकदर्शक हुँदा उपभोक्ता जोखिममा पर्दै आएका छन् ।
यसअघि गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट ठूलो परिमाणमा नक्कली मदिरा एवम् गुणस्तरहीन र म्याद गुज्रिएका बियर बरामद गरेको थियो ।

विभागले गरेको बजार अनुगमनका क्रममा करिब ३ हजार कार्टुन विभिन्न ब्रान्डका गुणस्तरहीन तथा म्याद गुज्रिएका बियर फेला पारेको छ । विभागले सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगास्थित गोदाम, सिनामंगलकै सिके ट्रेडिङ प्रालिको गोदाम तथा धुम्बराईस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदामबाट लाखौं रुपिया“बराबरको २ हजार ७ सयभन्दा बढी कार्टुन बियर बरामद गरेको थियो । त्यतिखेर बाह्रसिङ्गे, मुस्ताङ, नेपाल आइस, बड्वाइजर, गोर्खालगायतका ब्रान्डका बियर फेला परेपछि ती गोदाममा शिलबन्दी गरी अनुसन्धान गरिरहेको छ ।

उत्पादक कम्पनीको मिलेमोतोमा बजारमा म्याद गुज्रिएका बियर पठाइएको हो की डिलर र थोक बिक्रेताको लापबाहीले बजारमा यस्ता वस्तुको आपूर्ति भइरहेको छ भन्ने बारेमा अनुसन्धान भए पनि बीचमा तुहिएको थियो ।

विभागले नक्कली, गुणस्तरहीन तथा म्याद गुज्रिए मदिरा, बियर, हल्का पेयपदार्थहरू विशेष गरी भोजभतेर, पार्टी प्यालेस तथा रात्रिकालीन होटल तथा रेष्टुरेन्टहरूमा कारोबार हुनसक्ने भन्दै त्यसका आपूर्तिकर्ता, गोदामहरूमा विशेष निगरानी गर्दै आएको छ भने उपभोक्तालाई सचेत गराउन सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

त्यस्तै नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै गरेको दुई दर्जनभन्दा बढी अप्रेसनमा बजारबाट ठूलो परिमाणमा विभिन्न ब्रान्डका नक्कली मदिरा, बियर फेला परेको थियो । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मात्रै होइन राजस्व गुम्ने विषयमा प्रहरी अनुशन्धान गरिरहेको छ ।

प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा नक्कली गोल्डेनवाक, रुस्लान भोड्का, ८८४८ भोड्का, रम, मुग्लान ≈िवस्की जस्ता ब्रान्डका मदिरा फेला परेको थियो । साथै प्रहरीले कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिकर सप, गोङ्बु मित्रनगरस्थित एसटी लिकर स्टोर्सबाट लाखांै मूल्यबराबरको नक्कली मदिरा बरामद गर्नुका साथै ललितपुरको टीकाथलीमा विदेशी मदिरा बनाउने कारखाना नै फेला पारेको थियो ।