२०७९ सालको नेपाली खेलकुदलाई सम्झँदा



अहिले हामी विक्रम सम्बत २०८० लाई स्वागत र २०७९ लाई विदा गर्ने तरखरमा छौं । अन्य क्षेत्र झैं खेल जगत पनि वर्ष २०७९ बाट विदा हुंदैछ । प्रसंग बिदा हुन लागेको बर्ष २०७९ मा सम्पन्न प्रमुख राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधिको हो ।

वर्ष २०७९ मा विश्व खेल जगतमा अनगिन्ती खेलकुद प्रतियोगिताहरु सम्पन्न भए । तीमध्ये कतिपयमा नेपालले सम्झन र बिर्सनलायक दुवैखाले प्रदर्शन गरे । कतिपय प्रतियोगिताले विश्वभरका अधिकांश खेलप्रेमीहरुको ध्यान आकृष्ट पार्न सफल भए भने केहीले राष्ट्रिय खेलकुदको स्तरलाई उकास्न पनि मद्दत गरे । वर्ष २०७९ मा नेपाली खेलकुद सफलता र असफलताले मिश्रित रह्यो । तीनै खेल घटना क्रमलाई समेटेर बर्ष २०७९ मा आयोजना भएका केही प्रतिष्ठित र लोकप्रिय खेल प्रतियोगिताहरुको नालिबेली यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुद
नेपाल आर्मी टिम च्याम्पियन

गत असोज–कार्तिकमा गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको थियो । आर्मीले १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी उचालेको थियो । पहिलो पटक बनेको राष्ट्रिय खेलकुदको रनिङ शिल्ड ट्रफी उचाल्ने क्रममा आर्मीले १ सय १० रजत र ८९ कास्य हात पा¥यो । आर्मी आठौं संस्करणको राष्ट्रिय खेलकुदको समेत टिम च्याम्पियन हो ।
त्यसैगरी दोस्रो स्थानमा विभागीय टोली एपीएफ क्लब रह्यो । एपीएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य पदकसहित कुल २ सय १९ पदक जितेको थियो । अर्को विभागीय टिम पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य सहित कुल १ सय ९५ पदक जित्दै तेस्रो स्थान हासिल गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुदका केहि घटना

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये करिब सात सय खेलाडीलाई खेलका क्रममा चोटपटक लाग्यो । जसमध्ये चारजना खेलाडीको सघन उपचार समेत गर्नुपरेको थियो । त्यसैगरी कतिपय पदकका बलियो दावेदार मानिएका खेलाडीहरु पनि डेङ्गुका कारण खेल्नबाट बञ्चित रहे । त्यसैगरी गैर आवासीय नेपाली संघ (एनआरएनए) टिममा सहभागी खेलाडीहरुले पनि प्रोटेस्टका कारण खेल्न पाएन । त्यस्तै, खेलका क्रममा विवाद हुने सिलसिलाले यसपटक पनि निरन्तरता पायो । नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक डोपिङ परीक्षण पनि सुरु गरिएको थियो । विभिन्न खेलका करिब ४० खेलाडीको डोपिङ परिक्षण गरिएको थियो । राष्ट्रिय खेलकुदमा यसअघिका कुनैपनि संस्करणमा डोपिङ परिक्षण गरिएको थिएन । त्यस्तै, खेल्ने दिन र खेलको निर्धारित समयसम्म पनि खेलस्थल तयार नहुने पुरानो रोगबाट भने नवौं राष्ट्रिय खेलकुद पनि अछुटो रहेन ।

फुटबल
नेम्वाङको अध्यक्षतामा एन्फाको नयाँ नेतृत्व

गत असारमा पंकज विक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भए । एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधारणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शेर्पाले ३९ मत पाएका थिए ।
माल्दिभ्समा किरणलाई अवार्ड

गत साउनमा नेपाली गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जित्न सफल भए ।
डाँगी बहाराइनको क्लबमा आबद्ध

गत साउनमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनीष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध भएका थिए । मच्छिन्द्र क्लबले गत वर्ष ए डिभिजन लिगको उपाधि रक्षा गर्दा मनिष टोलीका सदस्य थिए ।

एनएसएल हुन सकेन

गत भदौमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तय गरिसकेपनि नेपाल सुपर लिग (एनएसएल) यो वर्ष हुन सकेन । एन्फाले एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेको समय दिएपनि प्रतियोगिता हुन सकेन ।

नेपाल उपविजेतामा सिमित

गत असोजमा बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्दा नेपाली टोलीले भने उपविजेतामा नै चित्त बुझाउनु परेको थियो । दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको थियो ।

पुनम, दीपा र इन्दिराको सन्यास

गत असोजमा नेपाली महिला फुटवल राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै रक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरेका थिए ।

रोकिएन फुटबल खेलाडी पलायन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल क्यालेन्डर अनुसार प्रतियोगिता आयोजना गर्न नसक्दा दर्जनौ नेपाली फुटबल खेलाडीहरु विदेश पलायन भए । वर्ष २०७९ मा यो क्रमले निरन्तरता पायो । विदेशिने खेलाडीको एउटा लामो सूची नै बनिसकेको छ । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसँगै अन्य अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया रहँदै आएको छ ।

अन्जनको ह्याट्रिकमा नेपालको जित

गत असोजमा फरवार्ड अन्जन विष्टले ह्याट्रिक गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएको थियो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको घरेलु मैदानमा बंगलादेशलाई ३–१ ले पराजित गरेको थियो ।

नेपाल महिला साफ यू १५ च्याम्पियन

यस वर्ष अपराजित रहँदै नेपाली टोलीले महिला साफ यू १५ च्याम्पियनसिपको उपाधि जितेको थियो । बंगलादेशमा सम्पन्न च्याम्पियनसिपको अन्तिम दिन घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएपनि नेपाल अपराजित रहेर च्याम्पियन बन्न सफल भएको थियो । महिला फुटबलमा नेपालको यो पहिलो उपाधि बनेको छ । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले यसअघि उपाधि जित्न सकेको थिएन ।

अन्जनको गोलमा नेपालको जित

यस वर्ष भएको पाकिस्तानविरुद्ध भएको अन्तर्राष्ट्रीय मैत्रीपूर्ण खेलमा फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले जित हासिल गरेको थियो । नेपालले घरेलु मैदानमा पाकिस्तानलाई १–० को पराजित गरेको थियो ।

सावित्रा, एन्जिला र गिता आई लिगमा

यस वर्ष राष्ट्रिय महिला टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी सम्बा र गिता राना भारतीय (आई) लिग खेलेका थिए । सावित्राले गोकुलम केरेला एफसी तथा एन्जिला र गिताले सेथु एफसीबाट खेलेका थिए । गोकुलममा सावित्राले यो समेत दोस्रो सिजन विताउँदा एन्जिला र गिताले भने पहिलो पटक भारतीय क्लबमा खेलेका थिए ।

ब्राजिली लेजेन्ड पेलेको निधन

गत मङ्सिरमा विश्व फुटबलका जादूगर तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको थियो । मल्टी अग्र्यान फेलका कारण उनको ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको थियो ।

आठ वर्षपछि एएफसीमा नेपाली

यस वर्ष एसियाली फुटबलको सर्वोच्च निकाय एसियाली फुटवल महासंघ (एएएफसी) को कार्यसमितिमा झण्डै आठ वर्षपछि नेपालबाट प्रतिनिधि चयन भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ बहराइनमा भएको ३३ औं एएफसी कंग्रेसबाट कार्यसमिति सदस्यमा निर्वाचित भएको थियो ।

किरण आइ लिगको उत्कृष्ट गोलकिपर

यसै वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ हिरो आइ लिग २०२२÷२३ को उत्कृष्ट गोलकिपर चुनिएका थिए । आइ लिगको समापनको दिनमा राउन्ड ग्लास पन्जाबका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो ।

अर्जेन्टीनालाई तेस्रो पटक फिफा विश्वकप

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म एसियाली राष्ट्र कतारमा २२औं संस्करणको फिफा विश्वकप सम्पन्न भयो । जसमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टीनाले तेस्रो पटक उपाधि उचाल्यो । निर्धारित ९० मिनेटको खेल दुई–दुई र थप ३० मिनेटपछि खेल तीन–तीन गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भयो । अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको यो फिफा विश्वकप विश्वभरि अर्बौं दर्शकले विभिन्न सञ्चारमाध्यमबाट हेरेका थिए ।

नेपाललाई थ्री नेसन्स कपको उपाधि

बर्ष २०७९ को चैतको तेस्रो साता सम्पन्न प्राइम मिनिस्टर्स थ्री नेसन्स कपको उपाधि नेपालले जितेको थियो । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।
क्रिकेट

नेपाल विश्वकपबाट बञ्चित

गत जेठमा मलेसियामा भएको आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपाल विश्वकप खेल्नबाट बञ्चित भएको थियो । उक्त प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

क्यानको निलम्बन फुकुवा

गत जेठमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन पूर्ण रुपमा हटाएको थियो । चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो ।

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

गत असारमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हात पारेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रच्न सफल भयो ।

प्रशिक्षक दासानायकेको राजिनामा

गत साउनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजीनामा दिएका थिए । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागे । टोलीको खराब नतिजाको कारण उनी दबाबमा परेपछि उनले राजीनामा दिएका थिए ।

नेपालको केन्यामाथि क्लिनस्विप

गत भदौमा नेपालले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा सानदार क्लिनस्विप गरेको थियो । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको थियो । पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो ।

ब्रेट ली सुटुक्क नेपालमा

गत भदौमा विश्व क्रिकेटकै उत्कृष्ट मध्यका तीव्र गतिका अस्ट्रेलियन बलर ब्रेट ली नेपाल आएका थिए । नेपाल टि २० लिगको दुतका रुपमा उनी सुटुक्क नेपाल आएका थिए ।

सन्दीप काण्ड

गत असोजमा बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आएलगत्तै त्रिभुवन बिमानस्थलबाट पक्राउ परेका थिए । भदौ २१ गते एक नाबालिगले आफूलाई बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, गत पुसको अन्तिम साता सन्दीप २० लाख धरौटीमा थुनामुक्त भए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए ।

इंग्ल्यान्ड टि२० विश्वकप च्याम्पियन

गत कार्तिकमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जित्न सफल भयो । इंग्ल्यान्डले सन् २०१० पछि पहिलो पटक टि२० विश्वकप उपाधि जितेको थियो ।

नेपाललाई सिरिज उपाधि

गत मङ्सिरमा नेपालले युएईसँग तीन ओडिआई खेलको सिरिज उपाधि जितेको थियो । नेपालले अन्तिम तथा तेस्रो ओडिआई खेलमा युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जित्न सफल भयो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपाल च्याम्पियन बन्दै विश्वकपमा

गत फागुनमा नेपाल आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा च्याम्पियन बन्दै विश्वकपमा पुग्यो । अन्तिम खेलमा नेपालले घरेलु टोली युएईमाथि ७ रनको अविश्वसनीय जित निकाल्दै शीर्ष स्थानमा रहँदै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनायो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोविनको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

ओडिआईमा अहिलेसम्मकै विशाल योगफल

गत फागुनमा ओपनर आसिफ शेखको सानदार शतकमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ सय ९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल बनेको छ ।

नेपाल सोझै विश्वकप छनोटमा

चैतको पहिलो साता नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेसँगै सोझै विश्वकप छनोटमा स्थान बनायो । खराब प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल पद्धतिमा विजयी बन्यो । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डिएलमा नेपाल विजयी हुँदै सोझै विश्वकप छनोटमा पुग्न सफल भयो ।

साबा महिला बास्केटबलमा नेपाल दोस्रो

गत असोजको दोस्रो साता भएको साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल उपविजेतामा सिमित बन्यो । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो ।तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा सिमित रहन पुग्यो ।

नेपाली टेबल टेनिस टोली उपविजेता

गत बैसाखको अन्तिम साता माल्दिभ्सको मालेमा भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनलसम्म प्रवेश गरेको थियो । फाइनलमा भने नेपाल भारतसँग पराजित भएको थियो ।

रत्नजितलाई अमेरिकामा दोहोरो उपाधि

गत साउनको अन्तिम साता नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले अमेरिकामा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा दोहोरो उपाधि जितेका थिए । सिनर्जी ब्याडमिन्टन एकेडेमी फ्रेमन्टमा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिपमा दोस्रो वरियताका रत्नले पुरुष एकल र मिक्स डबल्समा गरी दोहोरो उपाधि जितेका थिए ।

रोज र सानियालाई रजतपदक

गत असोजको दोस्रो साता भारतको गुवाहाटीमा भएको दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप अन्तर्गत यू१७ गल्र्स डबल्समा नेपाली खेलाडी रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक जितेका थिए । फाइनलमा रोज र सानियाको जोडी भारतीय जोडी ऐसानी तिवारी र रामु रुजुला सँग ४–२१ र ९–२१ ले पराजित हुँदै रजतमा सीमित बनेका थिए । त्यस्तै, यू१५ र १७ दुवै उमेर समूहको मिक्स टिम इभेन्ट्समा पनि नेपाली टिमले तेश्रो स्थान हासिल गरेका थिए । उक्त प्रतियोगितामा एक रजत र ६ कांस्यपदक गरी नेपालले सात पदक जित्न सफल भएको थियो ।

गौतम एसियन टेबल टेनिस युनियनको उपाध्यक्ष

गत मङ्सिरमा टेबल टेनिसका वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबल टेनिस युनियनको उपाध्यक्ष चयन भए । थाइल्यान्डमा भएको विशेष साधारण सभाले गौतमलाई दक्षिण एसियाली क्षेत्रको उपाध्यक्ष चयन गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ टेबल टेनिस प्रशिक्षक समेत रहेका ५७ वर्षे गौतम अखिल नेपाल टेबल टेनिस र दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव पनि हुन् ।

ओमानमा नेपाललाई स्वर्ण

गत माघको पहिलो साता ओमानको मस्कटमा जारी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण जितेको थियो । पुरुष ४५ बर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रत्न मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका थिए ।

बक्सिंगमा सुष्मालाई रजत

गत माघको दोस्रो साता नेपाली महिला बक्सिङ खेलाडी सुष्मा तामाङले थाइल्यान्डमा भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमसम्म यात्रा गर्दै ऐतिहासिक रजत पदक जित्न सफल भईन् ।

बैंककमा भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएपछि रजतमा चित्त बुझाएकी थिईन । यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुन् । त्यस्तै महिलातर्फको फेदर वैट ५४ देखि ५७ किलो तौल समूहमा हेमा राईले कास्य, महिला लाईट हेभि ७५ देखि ८१ किलो तौल समूहमा त्रिसा जवेगुले कास्य र पुरुष तर्फ क्रुजर वेट ८० देखि ८६ किलो तौल समूहमा विजय बाटाले कांस्य पदक प्राप्त गरेका थिए ।

आईटीएफ वल्र्ड टेनिस टुरमा स्वर्ण

गत माघको तेस्रो साता नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा पहिलो हुँदै स्वर्ण जितेका थिए । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगितामा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरेका थिए ।

सुभाषलाई भारतीय एकेडेमीको छात्रवृत्ति

गत असारको अन्तिम साता नेपाली राष्ट्रिय गल्फ टोलीका सदस्य तथा १३औं सागका दोहोरो स्वर्णधारी सुभाष तामाङलाई भारतको तरुण सरदेशाई गल्फ एकेडेमीले छात्रवृत्ति प्रदान गरेको थियो ।

नेपाललाई दुई स्वर्णसहित आठ पदक

गत फागुनको अन्तिम साता नेपालले १६औं एसियाली क्रस कन्ट्रीमा २ स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्दै ऐतिहासिक प्रदर्शन गर्न सफल भयो । नेपाल एथ्लेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको थियो । सिनियर पुरुषमा भने नेपालले कांस्य पदक प्राप्त गरे । त्यस्तै सिनियर महिला र जुनियर महिलामा नेपालले समान २ रजत पदक तथा जुनियर पुरुषतर्फ भने नेपालले टिम इभेन्टमा कांस्य पदक जितेको थियो । नेपालले ८ मध्ये ७ वटा इभेन्ट्समा पदक जितेको थियो ।

विश्व जुनियर कबड्डीमा नेपाललाई ऐतिहासिक पदक

गत फागुनको तेस्रो साता नेपालले इरानमा दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जित्दै इतिहास रचेको थियो । नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कांस्य पदक जितेको थियो । सेमिफाइनलमा नेपाल आयोजक इरानसँग ६०–३७ ले पराजित भएपछि कांश्यमा सिमित बनेको थियो ।

प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

गत मङ्सिरको अन्तिम साता नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी थिईन भने सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका थिए ।

प्रतियोगितामा नेपालले सात स्वर्ण र चार रजत पदक जितेको थियो । सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पारेका थिए । त्यस्तै मोहमद उमर खान र सुनिता विष्टले पेयर पुम्से तथा सक्षम चौधरीले एकल पुम्सेमा स्वर्ण पदक पक्का गरेका थिए । प्रतियोगितामा जाइनाब खातुनले एकल पुम्से, अब्बास खानले ग्योरोगीको ६८ केजी तौल समूह, सुनिता विष्टले एकल पुम्से र मोहमद उमर खानले पनि एकल पुम्सेमा रजत पदक जितेका थिए ।

विश्वकै उत्कृष्ट उसु खेलाडीमा तीन नेपाली

गत माघको तेस्रो साता १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दुई खेलाडीसहित तीन खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको २०२२ आईडब्लूयूएफ एथ्लिट अफ द इएयरको विभिन्न विधाको मनोनयमा परेका थिए । १३ औं सागका स्वर्ण पदक विजेता दीपक हमाल, जुनी राई र एलिस मारिक अलग अलग विधाको मनोनयमा परेका थिए ।
२०७९ मा बिदा भएका खेलकर्मी

सञ्जु चौधरी (भारोत्तोलन)

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणकी स्वर्णधारी भारोत्तोलनकी सन्जु चौधरीको गत बैशाख २७ गते २२ वर्षको अल्पायुमा नै निधन भएको थियो । सागको भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने स्व.सन्जु एक मात्र नेपाली महिला खेलाडी थिईन् ।

निसिम थापा (प्याराग्लाइडिङ)

नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङमा प्रतिस्पर्धा गर्ने क्रममा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको खसेर मृत्यु भएको थियो । निसमले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा भाग लिएका थिए । पोखरा महानगरपालिका १८ सराङकोटमा खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहँदा अकस्मात झण्डै एक सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए ।

किशोरबहादुर सिंह (पूर्व सदस्य सचिव)

गत मङ्सिर १५ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको थियो । अचानक स्वास्थ्यमा खराबी भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सिंहको निधन भएको थियो । सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव रहेका थिए । उनी छ पटकका राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन पनि थिए ।

हेम लामा (टेनिस)

गत जेठ २ गते नेपाल टेनिस संघका पूर्व अध्यक्ष हेम लामाको निधन भएको थियो । उनको ९५ वर्षको उमेरमा निधन भएको थियो । लामाको मनमोहन अस्पतालको आइसियुमा उपचार गराइरहेको अवस्थामा निधन भएको थियो ।

त्रिरत्न मानन्धर (ब्याडमिन्टन)

गत कार्तिक १६ मा नेपाली ब्याडमिन्टन विकासमा योगदान पु¥याएका त्रिरत्न मानन्धरको निधन भएको थियो । ९४ वर्षे मानन्धरको मनमोहन कार्डियोथोासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंजमा निधन भएको थियो । मानन्धर अफिसियल रुपमा प्रशिक्षक नभएपनि आफैले धेरैलाई ब्याडमिन्टनको ¥र्याकेट समात्न लगाएर खेल सिकाउँदै नेपाली ब्याडमिन्टनको विकास यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्