गाईगोरु धमाधम मर्न थालेपछि किसान चिन्तित

0
Shares

डडेल्धुरा । लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनेका छन् । डडेल्धुराका बिभिन्न बस्तीहरुमा लम्पी स्किन रोग अनियन्त्रित रुपमा फैलिएको छ ।

आलिताल गाउँपालिका–२ गांखेतमा ६०–७० गाईगोरु मरेको वडाध्यक्ष प्रमोद मल्लले जानकारी दिनुभयो । करिब तीनसय घरधुरी रहेको गांखेतमा अधिकांश गाईगोरुमा लिम्पी स्किन देखिएको छ ।

दूधालु गाई, खेतीपाती लगाउन खेत जोत्ने गोरु मर्न थालेपछि किसान चिन्तित भएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

खेतीपाती गर्ने समयमा गोरु मर्न थालेपछि किसानलाई आर्थिक भार पर्ने किसानहरुको गुनासो छ । गाई, बाच्छा मर्न थालेपछि किसान चिन्तित भएको स्थानीय किसान शुसिल बोहराले बताए । लम्पी स्किन रोग लागेका गाईगोरुमा खटिरा देखिएसँगै घाउ भई किरा परेको उहाँले जानकारी दिनुभयो । आलिताल गाउँपालिका पशु स्वास्थ्य शाखा र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले औषधी पठाए पनि रोग नियन्त्रण हुन नसकेको किसानहरु बताउछन् ।

आलिताल गाँउपालिका–२ सँगै अमरगढी नगरपालिकाका बिभिन्न वडाहरुमा लम्पी स्किन अनियन्त्रित रूपमा फैलिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले बताउनु भयो । अमरगढी–३ का सबै बस्तीहरूमा बढी संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । भागेश्वर गाउँपालिका–३ को राडिल गाउँबाट डडेल्धुरामा रोगको संक्रमण फैलिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । हाल भागेश्वर गाउँपालिका–१,२,३ का विस्तडी, चुल्ल, खाल्टा गाउँमा संक्रमण फैलिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका अनुसार आकस्मिक रोग नियन्त्रण शाखामा मौजुद बजेटबाट औषधी खरिद गरि प्रभावित क्षेत्रमा पठाईएको थियो । लम्पी स्किनको भ्याम्सिन नबनेकाले नियन्त्रण गर्न समस्या देखिएको छ । यसको सुरुवातको संक्रमणमा रोकथाम गर्न सकिदैन । ‘दोस्रो उपचारमा घाउ, खटिरा निको पार्ने औषधीको प्रयोग गरिन्छ ।’ पशु चिकित्सक रतन भण्डारीले भन्नुभयो ।

आवश्यक जनशक्ति नभएकाले गाउँपालिकासंग समन्वय गरेर औषधी उपचार गरिन थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुराका गाउँमा गाईगोरुमा देखापरेको संक्रमण लम्पी स्किन भएको क्षेत्रीय प्रयोगशाला धनगढीले प्रमाणित गरिसकेको पशु चिकित्सकहरु बताउछन् । डडेल्धुरामा गत वर्ष परशुराम नगरपालिकाको साँदनी गाउँमा संक्रमण देखा परेको थियो । गत वर्ष प्रकोपका रूपमा भने फैलिएको थिएन ।

नेपालमा करिब पाँच वर्ष अघि झापा जिल्लामा संक्रमण देखिएको थियो । सुदूरपश्चिममा यसपटक बैतडीबाट रोगको संक्रमण शुरू भएको हो । नयाँ रोग भएको र भ्याक्सिन बनाउन नसकिएकाले लम्पी स्किन प्रकोपका रुपमा फैलन थालेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख भट्टले बताए ।