नेपाली सेनाले आजबाट थाल्यो गोरखा–जितगढी पदयात्रा

0
Shares

गोरखा ।

नेपाली सेनाले गोरखादेखि रुपन्देहीको जितगढीसम्म पदयात्रा सुरु गरेको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोमा नेपाली सेनाले बुधबारदेखि पदयात्रा सुरु गरेको हो ।

नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी ९ श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख० र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित उनीहरु यात्रामा निस्किएका हुन् ।

यो टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ । तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी पुर्‍याएपछि यात्रा सम्पन्न हुने उनले जानकारी दिए ।

‘बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुनर्निर्माण गरेको ऐतिहासिक जितगढी वैशाख ७ गते प्रधान सेनापतिज्यूबाट उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ’, उनले भने, ‘सोही दिन गोरखा–जितगढी पदयात्रालाई समापन गर्ने योजना हो ।’

यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन् । गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा हुनेछ ।

यात्रामा निस्किएका टोलीलाई वुधबार एक कार्यक्रमकाबीच झण्डा हस्तान्तरण गरेर विदाइ गरिएको छ । नेपाली सेनाका पश्चित पृतनापति दीपककुमार बानियाँको उपस्थितिमा उनीहरुलाई झण्डा हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै बानियाँले राज्य विस्तारका क्रममा प्रयोग भएको पदमार्गको प्रचार प्रसार एवं संरक्षणका लागि पदयात्रा सुरु गरिएको बताए ।

विगत पाँच बर्षदेखि नेपाली सेनाको अगुवाइमा गोरखा काठमाडौ एकीकरण मार्गमा पदयात्रा हुदै आएको बताउदै उनले यो गोरखा–जितगढी यात्रालाई पनि निरन्तरता दिने बताए ।गोरखा नगरपालिका मेयर कृष्ण रानाले जिल्लाको पर्यटन प्रवर्द्धनमा पदयात्राले सहयोग पुग्ने धारणा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पुरातात्विक महत्वका बिषयलाई संरक्षण र प्रवद्र्धन गर्न पदयात्राले सहयोग पुग्ने बताए ।