बैतडीमा जीप दुर्घटना : ६ जनाको मृत्यु

0
Shares

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।