माग सम्बोधन नभई फोहोर नउठाउने बालेनको स्पष्टोक्ति

0
Shares

काठमाडौंं । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको छ । सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गर्नुभएको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान लिनुभएको हो ।

मेयर साहका पूर्वाधारविज्ञ सुनिल लम्सालले गृहमन्त्री श्रेष्ठसंग भएको अनौपचारिक कुराकानीमा कामपाले आफ्नो अडान दोहो¥याएको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारसँग भन्नुभयो– ‘माग पुरा नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबाबाट फोहोर उठ्दैन । मेयर साहले १४ बँुदामा दिएको जवाफ सरकारको लागि काफी छ ।’

तीन दिनदेखि सिंहदरबारको फोहोर संकलन र ढुवानी हुन नसक्दा मुख्य सचिवको कार्यालयलगायत सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ । फोहोर नउठाएपछि केन्द्रीय सरकार सञ्चालन गर्ने निकाय वरपर थुप्रिएको फोहोर गन्हाएर नाक थुनेर हिडुनुपर्ने अवस्था आएको छ ।

सोमबार फोहोर उठाउने विषयमा विभिन्न निकायसँग अनौपचारिक कुराकानी भए पनि कुनै निष्कर्षमा पुग्न सकेन । आइतबार फोहोर संकलन र ढुवानी गर्ने निकाय परिवर्तन नेपाललाई गृह मन्त्रालय, सिँहदरबारस्थित प्रहरी वृतले फोहोर संकलन गर्न दबाब दिएको थियो । सोमबार मेयर साहले सरकारले महानगरप्रति गरेको व्यवहार खुलाउँदै १४ बुँदे भनाइ जारी गरेपछि भने फोहोर संकलन र ढुवानी गर्न दबाब दिएको छैन ।

यसैबीच कामपाका प्रवक्ता नवीन मानन्धरले वार्ताबाट समस्या समाधान नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने स्पष्ट पार्दै भन्नुभयो –‘अहिलेसम्म सरकारले वार्ता गर्न बोलाएको छैन, हामीले पनि कुनै निकायलाई फोहोर संकलन र ढुवानी गर्नु भनेका छैनांै ।’
सिंहदरबारलगायतको विशिष्ट क्षेत्रका फोहोर नउठाउने भनेर महानगरले लिएको अडानको पक्ष र विपक्षमा बहस जारी रहेको बेला मेयर साहले हिजो सोमबार बाध्य भएर १४ बुँदे धारणा सार्वजनिक गर्नुभएको थियो ।

उहाँले आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले बाध्य भई उक्त निर्णय लिनुपरेको जिकिर गर्दै सामाजिक संजालमा लेख्नुभएको छ– ‘संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोसिसपछि ९ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’

उहाँले शहरी विकास, भौतिक योजना निर्माण तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, स्वाथ्य, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक, अर्थ, सञ्चार प्रविधि, ऊर्जा तथा जलस्रोत, खानेपानी , भूमिसुधार तथा सहकारी, संघीय मामिला तथा स्थानीय र कृषि मन्त्रालयको विषयमा महानगरले गरेको पहल र छलफलको विषयलाई उदाहरण दिएर लेख्नुभएको छ ।

‘जुन सरकारले अर्काे सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ? उहाँले लेख्नुभएको छ ।

मेयर साहले अन्त्यमा लेख्नुभएको छ– ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’ मेयर साहले पछिल्लो समय खोला किनारामा बसेका सुकम्बासी हटाउन पुग्दा गृहमन्त्रालयले सहयोग नगरेपछि आक्रोसित भएर फोहोर ढुवानी रोक्नुभएको हो ।