आगामी शैक्षिक सत्रको पाठ्यपुस्तक म्याग्दी पुग्यो

0
Shares

म्याग्दी ।

आगामी शैक्षिक सत्र २०८० सालको लागि हिमाली जिल्ला म्याग्दीमा नयाँ पाठ्यपुस्तकहरु पुगेको छ । जिल्लामा सञ्चालित सामुदायिक विद्यालयहरुलाई लक्षित गरेर सरकारी पाठ्यपुस्तकहरु जिल्ला भित्रिएको हो ।

कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तकहरु सदरमुकाम बेनीमा ल्याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनाएको छ । महासंघको पहलमा सदरमुकाम बेनीमा पुस्तक बिक्री डिपो स्थापना गरेर बेनी बजारबाट बिक्री वितरण गर्ने गरी पाठ्यपुस्तक भिœयाइएको छ ।
हिजो (आइतबार)सम्म ८० प्रतिशत पाठ्यपुस्तक जिल्लामा आइपुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । गत वर्षको मागअनुसार कक्षा १ देखि ३ सम्मको १४ सय सेट, कक्षा ४ को १४ सय ५०, कक्षा ५ को १६ सय, ६ र ७ कक्षाको ११ सय, (कक्षा ७ को सामाजिक ५ सय सेट मात्र) र ८ कक्षाको १२ सय सेट पाठ्यपुस्तक ल्याइएको उहाँले बताउनुभयो ।

यसैगरी कक्षा ९ को १४ सय र १० कक्षाको १३ सय सेट पाठ्यपुस्तक पनि जिल्ला भित्रिएको छ । बाँकी पाठ्यपुस्तकहरु वैशाख महिनाभित्र मगाएर सामुदायिक विद्यालयमा पुर्‍याइने महासंघका जिल्ला अध्यक्ष पौडेलले बताउनुभयो । जिल्ला भित्रिएको पाठ्यपुस्तकहरु दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्ने तयारी थालिएको छ । कक्षा १–५ को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रको अनुमतिमा काठमाडौँ र कक्षा ६–१० को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र पोखरा डिपोबाट ल्याइएको हो ।

म्याग्दीलाई आवश्यक १४ हजार ६ सय ७० सेटमध्ये ८० प्रतिशत पाठ्यपुस्तक ल्याइएको हो । तीन वटा ट्रकमार्फत ढुवानी गरी जिल्लामा आयात गरिएको पाठ्यपुस्तक सबै विद्यार्थीहरुको हात हातमा पुर्‍याइनेछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विगतभन्दा यस वर्ष तदारुकताका साथ पुस्तक छपाई गरेकाले समयमै पाठ्यपुस्तकहरु उपलब्ध गराउन सम्भव भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको गण्डकी प्रदेश अध्यक्ष लीलाराम गौतमले बताउनुभयो । उहाँले महासंघको पहलमा प्रदेशभरिका सबै जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरिएकोमा दुर्गमका जिल्लाहरुलाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक उपलब्ध गराइएको जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले म्याग्दी जिल्लाको दुर्गम तथा ग्रामीण भेगमा रहेका विद्यालयहरुलाई सबै सेट उपलब्ध हुने गरी पहिलो प्राथमिकता दिएर पाठ्यपुस्तक वितरण गर्न सुझाव दिनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जिल्लाको सबै पालिकाको केन्द्रसम्म पाठ्यपुस्तक ढुवानी गर्ने भएको छ भने धवलागिरि, मालिका, रघुगंगा, अन्नपूर्ण, मंगला र बेनीलाई क्रमश: पाठ्यपुस्तकहरु उपलब्ध गराउने जनाएको छ ।

सरकारले आउँदो शैक्षिक सत्रका लागि कक्षा ५, कक्षा ८ र कक्षा १० को पाठ्युपुस्तकको पाठ्यक्रम परिवर्तन गरेको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक २ सय ३३, संस्थागत २४, क्याम्पस ३, अनौपचारिक १, धार्मिक १ र संस्कृत १ गरी कुल २ सय ६३ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् ।