को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?

0
Shares

–पहिलो लटमा तीन र दोस्रोमा चारको प्रतिस्पर्धा
–राजनीतिक नेतृत्वबाट ‘एसम्यान’को खोजी
–प्रतिस्पर्धामा सात सचिव, पछिल्लो चारमध्येबाट छानिने सम्भावना
–गुरागार्इंलाई पहिलो महिला मुख्य सचिव बन्ने अवसर

काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् ।

मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल शुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ ।

भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउन सकिने विषयमा समेत छलफल हुन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार उहाँलाई यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन सकिने छ ।

मुख्य सचिव वैरागीको पदावधि यही २०८० साल असोज १५ मा सकिने छ । पदावधि सकिन साढे पाँच महिना रहेकाले उहाँ यो अवधिमा ठूला र महत्वपूर्ण मानिएका देशहरूमा राजदूत भएर जान सक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । वैरागी आफंै पनि राजदूत वा यूएनको स्थायी प्रतिनिधि बन्ने गरी आन्तरिक लबिङमा लागेको बताइएको छ ।

वैरागी २०७७ साल असोज १५ मा मुख्य सचिव हुनुभएको थियो । मुख्य सचिवको पदावधि ३ वर्षको हुन्छ ।

पूरै अवधि मुख्य सचिवमा बस्दा राजदूत वा यूएनको स्थायी प्रतिनिधिमा नियुक्ति लिन कठिन हुने भएकाले वैरागी सेवानिवृत्त हुनुभन्दा केही महिनाअघि नै नियुक्ति भएर जाने चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चल्न थालेको छ । अतः मुख्य सचिव वैरागीको अन्यत्र नियुक्ति हुने समयले भावी मुख्य सचिव को हुने भन्ने कुराको निर्धारण गर्छ ।

मुख्य सचिव वैरागी आगामी २०८० साल वैशाख वा जेठ सम्ममा राजदूत भएर जाने अवस्था आएमा जेष्ठताका आधारमा तीन जना सचिवहरू मुख्य सचिवको प्रमुख दाबेदार हुनेछन् । सो समयमा मुख्य सचिवको दाबेदार हुनेमा राष्ट्रपति कार्यालयका सचिव यादव प्रसाद कोइराला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलिया रहनुभएको छ । तर, मुख्य सचिव वैरागी साउन तथा भदौमा मात्रै अन्यत्र नियुक्ति लिएर जाने अवस्था आएमा भने यी तीनजना सचिवको मुख्य सचिव हुन सक्ने सम्भावना न्यून रहने बताइन्छ । तर, मुख्य सचिव वैशाख जेठमा नै अन्यत्र नियुक्ति लिएर जाने सम्भावना पनि त्यतिकै रहेकाले यी तीन जना सचिव मुख्य सचिवको लबिङमा लागेको बताइएको छ ।

मुख्य सचिवले साउन तथा भदौमा अन्यत्र नियुक्ति लिएमा सोअगावै यी तीनैजना सचिव पाँच वर्षे पदावधिका कारण असारमा नै सेवानिवृत्त हुनेछन् । त्यसैले पनि उनीहरू मुख्य सचिवलाई वैशाख जेठमा नै अन्यत्र नियुक्त गराएर मुख्य सचिवको बाटो तय गर्ने गरी गृहकार्यमा लागेको बताइएको छ ।

कोइराला आगामी २०८० साल असार ४ गते सेवानिवृत्त हुनेछन् भने अर्याल २०८० साल असार ३ गते नै सेवानिवृत्त हुनेछन् । यसै गरी थपलिया २०८० साल असार २४ गते सेवानिवृत्त हुनेछन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले वैरागीलाई राजनीतिक नियुक्ति दिएर पठाउने र त्यसपछि माओवादी समर्थित सचिवलाई मुख्य सचिव बनाउने योजना बनाए पनि जेष्ठता र वरिष्ठताका क्रममा भने माओवादी निकट सचिवहरू नभएपछि तुलानात्मक रूपमा ‘एसम्यान’ स्वभाव भएको वरिष्ठ सचिवलाई मुख्य सचिव बनाउने गृहकार्य अघि बढाएको बताइन्छ ।

स्रोतका अनुसार मुख्य सचिव वैरागीले साउन तथा भदौमा राजदूतमा नियुक्ति लिएर गएको अवस्थामा भने त्यसपछि सबैभन्दा वरिष्ठतामा रहेका सूर्यप्रसाद गौतम, देवकुमारी गुरागार्इं, केवलप्रसाद भण्डारी र दिनेश कुमार घिमिरेमध्ये एकलाई मुख्य सचिव बन्ने बाटो खुल्ने छ ।

यी चारमध्ये गुरागाईं मुख्य सचिव बनेमा नेपालको इतिहासमा नै मुख्य सचिव हुने पहिलो महिला बन्नुहुनेछ । मुख्य सचिवको तीव्र प्रतिस्पर्धामा रहने गौतम हाल युवा तथा खेलकुद मन्त्रालयको सचिवको रूपमा रहनुभएको छ भने भण्डारी राष्ट्रिय योजना आयोगको सचिवको रूपमा रहनुभएको छ । यस्तै, गुरागार्इं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र घिमिरे ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको सचिवको रूपमा कार्यरत हुनुहुन्छ । मुख्य सचिवको प्रतिस्पर्धामा रहने मध्येका सूर्य गौतम अनुभवी सचिवको रूपमा रहनुभएको छ । उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम मन्त्रालयमा रहेर सफलतापूर्वक कार्य गरिसक्नुभएको छ । यस्तै, मुख्य सचिवको प्रतिस्पर्धामा रहने केवल भण्डारी पनि अर्थलगायतका निकायमा बसेर अनुभव लिइसकेका सचिव हुनुहुन्छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या र प्रशासन हेर्ने जिम्मेवारीमा रहेकी गुरागार्इं खासै अवसर नपाउनुभएकी सचिवको रूपमा रहनुभएको छ । ऊर्जा, जलश्रोत सिँचाई तथा जलश्रोत सचिवको रूपमा रहेका घिमिरे प्रशासन सेवाको नरहेकाले उहाँको मुख्य सचिव हुने सम्भावना भने कम रहेको बताइन्छ । हालसम्म प्रशासन सेवाकै सचिवहरूले मुख्य सचिव हुने अवसर पाउँदै आइरहेका छन् ।

मुख्य सचिव नियमित रूपमा सेवानिवृत्त भएको खण्डमा वा साउन भदौमा नयाँ नियुक्ति लिएर अन्यत्र गए पनि तिनै चारमध्ये एक जनाले नै मुख्य सचिव बन्ने अवसर पाउने छन् । मुख्य सचिव हुनेमध्ये एक जनाले तीन वर्ष मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् भने मुख्य सचिव हुन नसक्नेहरू पाँच वर्षे सचिव कार्यकालका कारण छिट्टै सेवानिवृत्त हुनेछन् । मुख्य सचिवको दाबेदार रहेका सूर्यप्रसाद गौतम मुख्य सचिव बन्न नसकेमा २०८० साल फागुन ६ गते सेवानिवृत्त हुनेछन् भने देव कुमारी गुरागार्इं पनि मुख्य सचिव बन्न नसकेमा २०८० साल फागुन २८ मा सेवानिवृत्त हुनेछिन् । यसै गरी मुख्य सचिव हुन नसक्ने स्थितिमा सचिवहरू केवलप्रसाद भण्डारी २०८० साल चैत्र ११ गते र दिनेशकुमार घिमिरे २०८० साल पुष ४ गते सेवानिवृत्त हुनुहुनेछ ।

निजामती सेवा ऐनअनुसार राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट जेष्ठता र कार्यकुशलताको आधारमा छनौट गर्नुपर्ने प्रावधान छ । एकैपटक बढुवा भएका सचिवहरू हुँदाहुँदै त्यसको केही महिनापछि बढुवा भएका अन्य सचिवहरू मुख्य सचिव बन्न पाउने छैनन् त्यसैले उनीहरू मुख्य सचिवको दौडबाट बाहिरिने छन् ।

मुख्य सचिवको प्रतिस्पर्धामा रहेका सचिवहरू

१ यादवप्रसाद कोइराला
२.वैकुण्ठ अर्याल
३.रामप्रसाद थपलिया
४.सूर्यप्रसाद गौतम
५केवलप्रसाद भण्डारी
६.देवकुमारी गुरागाईं
७.दिनेशकुमार घिमिरे