विकासका आयोजनामा जन निगरानी जरुरी  : पूर्व अर्थमन्त्री पौडेल

0
Shares

बुटवल ।  

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका आयोजनामा जन निगरानी जरुरी रहेको बताउनु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २२ औ वार्षिक साधारण सभामा शुक्रवार बुटवलमा बोल्ने व्यवसायीहरूले मुलुकमा देखिएको आर्थिक संकटले हरेक पेशा व्यवसाय  धरापमा परेको बताएका छन् । सोही समारोहमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकताले नै निर्माण भएको कारण सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो ।

रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनाहरूमा जनताको निगरानी महत्त्वपूर्ण भएको बताउँदै उहाँले ती योजनाहरूको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गर्नु भयो । ‘विमानस्थल सञ्चालन होस, यो सबैको चाहना छ । ढिलो भएको छ, यो चाहिन्छ, चाहिएर बनाएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौँ ।’–पौडेलले भन्नु भयो, ‘सञ्चालनमा ल्याउन कुन–कुन निकाएको कमजोरी छ त्यसलाई सुधार गरेर अघि बढौँ ।

यसै गरी बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थललाई जसरी पनि सञ्चालनमा ल्याइने बताए । सम्पन्न भएका सबै आयोजनाहरूलाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान गराइले उल्लेख गर्नु  भयो ।

लुम्बिनी प्रदेश राजधानीको विषयलाई अब छलफलको विषय नबनाउन आग्रह गर्नु भयो । ‘जे हुनु थियो, जे नहुनु थियो भयो, छोड्दिनुस, कति दिन पिरोलीने ?’– राजधानीको विषयमा उठ्ने गरेका प्रश्नहरूमाथि प्रतिप्रश्न गर्दै उहाँले–‘राजधानी सरेर आकाश खसेको हो ? बुटवल भासिन्छ ?  यस विषयमा धेरै नरोमलियौं ।’

राजधानी दाङ सरेपछि बुटवल सकियो, रुपन्देही सकियो भन्ने अतिरञ्जनाले आफैलाई सकाउने बताउँदै उहाँले उद्योगी व्यवसायीमा अब कसरी अघि बढ्ने भनी चिन्तन गर्न आग्रह गर्नु भयो  ।

 होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक संकट तथा चर्को ब्याजदरका कारण व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेको बताउनु भयो । अहिलेकै अवस्था लामो समय कायम रहे ७० प्रतिशत बढी होटल व्यवासयी विस्थापित हुने  बताउनु भयो ।

संघका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा भएको  कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघका निर्वतमान अध्यक्ष हिराध्वज साह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले पनि पर्यटन व्यवसायका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

पत्रकार यमलाल भुसाललाई कालीदास स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।भुसाललाई नगद १० हजार राशिसहित संघले सम्मान गरेको हो । अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।