पनौतीको मुक्तिनाथमा त्रिदिवसीय धार्मिक अनुष्ठान 

0
Shares

काभ्रे। 

पनौती नगरपालिका वडा नम्बर ५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव चैत्र ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा आयोजना गरिएको छ । प्रथम व्रह्मोत्सवको तयारीका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुक्तिनाथ मन्दिर निर्माण तथा निर्माणका विषयमा प्रस्ट पारिएको थियो ।

‘संस्थापक अध्यक्ष स्व. गोपालबहादुर थापाको परिकल्पना अनुसार निर्माण गरिएको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठान गरिएको एक वर्ष पूरा भएको छ’– व्यवस्थापन समिति तथा व्रह्मोत्सव समितिका प्रचार प्रसार समितिका संयोजक भोला थापाले भन्नुभयो–‘पनौतीको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक क्षेत्रलाई मुक्तिनाथ मन्दिरले थप प्रसिद्धि बनाएको छ ।’

व्रह्मोत्सवको अवधिमा चैत्र ३० गते विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिनेछ भने नयाँ वर्षका दिन वैशाख १ गते द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिनेछ । मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइनेछ ।

वैशाख २ गते नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिनेछ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले २०७३ साल मसिर २ गतेबाट मन्दिर निर्माणका लागि संस्थापक अध्यक्ष गोपालबहादुर थापाले सप्ताह मार्फत कार्य प्रारम्भ गर्नु भएको थियो । २०७४ असोज २५ गते स्वामी कमलनयनाचार्यद्वरा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिर निर्माण कार्य कोरोना भाइरसका कारण चार वर्ष पछि धकेलिएको थियो ।

२०७८ असोज २५ गते देखि मुक्तिनाथ मन्दिरमा पूजा सुरु गरिएको भए पनि २०७९ वैशाख ८, ९ र १० गते प्राण प्रतिष्ठा गरिएको थियो । सोही तिथीलाई वार्षिक दिनको अवसर पारी यो वर्ष चैत्र ३० गते देखि वैशाख २ गतेसम्म प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक राजेन्द्र थापाले बताउनुभयो ।

१ सय ५१ सदस्य रहेको मूल व्यवस्थापन समितिले धार्मिक अनुष्ठान सम्पन्न गर्न विभिन्न उप समिति गठन गरेको छ । मन्दिर सजावट, प्रसाद व्यवस्थापन, अतिथि स्वागत, आर्थिक सङ्कलन तथा व्यवस्थापन, रथ यात्रा तयारी व्यवस्थापन तथा अन्य कार्यका लागि उप समिति मार्फत कार्य विभाजन गरिएको छ । पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापा, मूल समारोह समितिका संयोजक राजेन्द्र थापा, प्रचार प्रसार समितिका संयोजक भोला थापा, राधव सिं थापा तथा समितिका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नयाँ वर्षलाई धार्मिक अनुष्ठानका रुपमा धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर परिसरमा पाल्नु हुन समितिले भक्तालुहरुलाई आमन्त्रण गरेको छ ।

उक्त मन्दिरमा नियमित पूजा हुने गरेको छ । पुजारी तथा अन्य व्यवस्थापनका लागि भेटी तथा चन्दादान मार्फत संचालन भइरहेको समितिले जानकारी दिएको छ ।