हेल्थ टिप्स- कलेजो प्रत्यारोपण किन जटिल ?



काम गर्न नसक्ने अवस्थामा पुगेको कलेजोको उत्तम उपचार भनेको कलेजो प्रत्यारोपण नै हो । गाडीको इन्जिन बिग्रिएर नयाँ राख्नुपर्ने अवस्थाजस्तै नै हो । तर कलेजो प्रत्यारोपणलाई चिकित्सा विज्ञानले नै ज्यादै जटिल प्रक्रिया मानेको छ ।

यससम्बन्धमा कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारी भन्नुहुन्छ, ‘कलेजो धेरै रक्तनलीहरुले भरिएको जटिल अंग हो । त्यसकारण कलेजो काट्दा अत्यधिक रक्तस्रावको सम्भावना हुन्छ । अन्य अंगमा जस्तो यसमा हुने रक्तस्राव सहजै रोक्न सकिँदैन । त्यसैले कलेजोको शल्यक्रिया गर्दाको सबैभन्दा ठूलो समस्या भनेको, शल्यक्रिया गरेको ठाउँबाट रक्तस्राव बढी हुने समस्या नै हो । यसकै कारण कहिलेकाहीँ बिरामीको मृत्यु हुन पनि सक्छ ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि भन्दा पनि कलेजो प्रत्यारोपणका लागि बढी तयारी गर्नुपर्ने, परीक्षणहरु गर्नुपर्ने हुन्छ । यसका प्रक्रियाहरु धेरै भएकाले समय पनि बढी लाग्छ । कलेजो प्रत्यारोपणका लागि सिटिस्क्यान, एमआरआई, रक्तपरीक्षण आदि थुपै्र परीक्षणहरु गर्नुपर्ने हुन्छ ।

कुनै बिरामीको कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो भने तयारीका लागि ३–४ हप्तासम्म लाग्छ । साथै काटेको भागबाट पित्तनलीहरु लिक हुने, बिरामीमा रहेको कलेजोको भागले काम नगर्न सक्ने, शल्यक्रिया गर्दा नसा ड्यामेज भएमा कलेजो फेल हुनसक्ने हुन्छ । यसले गर्दा सबै अंगलाई असर गरी डायबिटिज, उच्च रक्तचाप, जन्डिस भई नियन्त्रण नै नहुने जोखिम बढ्छ । साथै कलेजो दाताको कलेजो निकाल्दा सिटिस्क्यान र एमआरआई गरेर रगत र पित्तको नसाहरु हेरेर कहाँनेर आधा पर्छ भन्ने आधारमा दुई भागमा बाँडिन्छ । यसरी बाँड्दा ४० देखि ६० प्रतिशतसम्म भाग लगाएर निकाल्ने गरिन्छ । वास्तवमा यो शल्यक्रिया अलि जटिल प्रकृतिकै छ ।

कलेजोको शल्यक्रिया गर्न धेरै समय लाग्ने, शल्यक्रिया गर्न विशेष किसिमका महँगा उपकरण आवश्यक पर्ने, दक्ष तथा अनुभवी जनशक्ति एवं पूर्वाधार चाहिने हुन्छ । शल्यक्रियाका लागि ५–६ घन्टासम्म लाग्नु सामान्य मानिन्छ । अन्य शल्यक्रियामा भन्दा यो शल्यक्रियामा रगत बढी आवश्यक पर्छ । यसमा रक्तस्राव बढी हुने र कलेजोको काममा असर पुग्ने भएको हुँदा धेरै रगत तयारी अवस्थामा राख्नुपर्छ । यी आदि कारणले गर्दा कलेजो प्रत्यारोपणलाई जटिल प्रकारको शल्यक्रिया मानिन्छ ।’

लामो तयारी गर्नुपर्ने

कलेजो प्रत्यारोपणका लागि पहिला त १८ देखि ५५ वर्षबीचको स्वस्थ कलेजोको दाता तयार हुनुपर्छ । यस्तो दाता कुनै अपरेसन नगरेको, नियमित रुपमा लामो समयदेखि कुनै औषधि नखाएको हुनुपर्छ । रक्तसमूह र अन्य परीक्षण गर्दा मिल्ने किसिमको भयो भने सिटिस्क्यान, एमआरआई गरेर हेरिन्छ । दिने मानिस पनि सुरक्षित छ कि छैन, त्यो हेर्नै पर्ने हुन्छ । दाताको कलेजो टुक्र्याएर लान मिल्ने हो कि होइन र लगेपछि बाँकीले दातालाई पुग्छ कि पुग्दैन, हेर्नुपर्छ । साथै काटेर लगिएको भागले लिने मानिसलाई पुग्छ कि पुग्दैन, त्यो सबै विस्तृत अध्ययन गर्नुपर्छ अनि मात्र कलेजो प्रत्यारोपणको चरण आउँछ ।

कलेजो प्रत्यारोपण दुई तरिकाको हुन्छ । एउटा, मस्तिष्क मृत्यु भएका मानिसको कलेजो झिकेर ल्याई पूरै प्रत्यारोपण गर्न सकिन्छ । अर्को, कानुनले तोकेअनुसारको जीवित ब्यक्तिबाट सामान्यतया स्वस्थ मानिसको आधाजति कलेजो झिकेर, बिरामीको कलेजो पूरै निकालेर फाली स्वस्थ कलेजो राखिन्छ । यस्तो टुक्रा कलेजो दुवैमा पछि आफैँ वृद्धि हुँदै जान्छ र ६ देखि ८ हप्तासम्ममा सामान्य साइजमा नै आउँछ ।

कलेजो शरीरको ज्यादै महत्वपूर्ण अंग हो र यसविना मानिसको जीवन चल्न सक्तैन । अन्य अंगहरुको सट्टामा यान्त्रिक अंगहरु बनिसकेको भए तापनि कलेजोको सट्टामा कुनै अंग बनेको छैन । कलेजो फेलियर भएको अवस्थामा बिरामीको उपचार भनेको मृत व्यक्तिको कलेजो वा जीवित व्यक्तिबाट केही भाग कलेजो लिएर प्रत्यारोपण गर्नु मात्र हो । यो ज्यादै जटिल र महँगो पनि भएकोले कलेजोलाई रोग लाग्नबाट बचाउनु नै उत्तम उपाय हो ।

कलेजो कसरी बचाउने ?

जोन्स हप्किन्स युनिभर्सिटीका क्लिनिकल लिवर रिसर्चर डा. सलेह अलक्वाटनी भन्छन्, ‘कलेजो शरीरका लागि अत्यन्तै महत्वपूर्ण अंग हो, यसले काम गर्न छोड्यो, विषाक्त वस्तुहरु निष्कासन गर्न र खाएको खानालाई मेटाबोलाइज गर्न छोड्यो, सेवन गरेका औषधिका हानिकारक वस्तुलाई त्याग्न छोड्यो भने केही दिनमै मानिसको मृत्यु हुने भएकाले यसलाई सुरक्षित र स्वस्थ राख्न विशेष ध्यान दिनुपर्छ ।

त्यसैले कलेजोलाई जोगाउन निम्न कार्य गर्न उनको सुझाव छ :

रक्सीबाट सावधान : यदि सधैँ मात्तिने गरी रक्सी खाँदा मात्र कलेजो खराब (सिरोसिस) हुन्छ भन्ने सोचेको छ भने त्यो ज्यादै गलत हुनेछ, किनकि दैनिक रुपमा एक वा दुई पेग रक्सी खाँदा पनि कलेजोमा दाग बस्न वा क्षति पु¥याउन शुरु हुनसक्छ, जसले पछि कलेजोलाई सिरोसिससम्म पु¥याउँछ ।

विषादीबाट सावधान : बालीहरुमा छर्किने विषादी, फलफूल तरकारी पकाउन प्रयोग गरिने रसायन तथा विषादीले कलेजोलाई हानि पु¥याउन सक्ने भएकाले त्यसबाट सावधान र सचेत रहनुपर्छ । त्यस्ता खाद्यवस्तुलाई राम्ररी धोई शुद्धीकरण गरेर मात्र खानुपर्छ ।

हेपाटाइटिसबाट सावधान : हेपाटाइटिस ए, बी र सीबाट कलेजोलाई जोगाउनुपर्छ । हेपाटाइटिस ए र बी कलेजोका भाइरल डिजिज हुन् । हाल बच्चालाई हेपाटाइटिस ए र बीको सुई लगाउन थालिएको अवस्थामा वयष्कमा आवश्यकता भए÷नभएको बारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । हेपाटाइटिस बी र सीले पनि दीर्घरोग भई अन्त्यमा कलेजोलाई क्षति पु¥याउँछ । यो रोग रगत र शरीरको तरल पदार्थबाट सर्ने हुन्छ । सुरक्षित (कन्डम प्रयोग) यौनसम्पर्क मात्र गर्नु यसबाट बच्ने प्रभावकारी उपाय हो । हेपाटाइटिस ए अशुद्ध खाना र पानीको माध्यमबाट सर्ने अनि यसले पनि कलेजोमा हानि पु¥याउने भएकाले सुरक्षित र स्वस्थ खाना मात्र खानुपर्छ । खानुअघि सधैँ हात धुनुपर्छ ।

औषधि र जटीबुटीमा सावधानी : कतिपय औषधि, जटीबुटी र सप्लिमेन्टहरुले कलेजोलाई हानि पु¥याइरहेकोले यसबाट सावधानी अपनाउनुपर्छ । औषधिको जथाभावी प्रयोग गर्नुहुँदैन । कतिपयले जडीबुटीले हानि गर्दैन भनेर जडीबुटीबाट बनाइएका औषधि वा बोटबिरुवाका अंश खाने गर्छन् । यो पनि गलत तरिका हो, किनकि यसले पनि कलेजोमा हानि गर्छ । शरीरलाई तन्दुरुस्त राख्न दिइने सप्लिमेन्टहरुले पनि कलेजोलाई हानि गर्छन् ।

तौल नियन्त्रण : अधिक मोटोपन पनि कलेजो फेलियरको कारण भएकाले शरीरको तौल सधैँ नियन्त्रणमा राख्नुपर्छ । यसका लागि व्यायाम र सन्तुलित खानपानमा जोड दिनुपर्छ ।

नेपालको सन्दर्भमा कलेजो बिग्रिएर अस्पतालमै पुग्नुपर्ने कारणमध्ये रक्सी नै प्रमुख कारण भएकोले रक्सी खाँदै नखाने सल्लाह दिनुहुन्छ कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारी । साथै कलेजोमा रोग लाग्ने अन्य कारक तत्वहरुबाट बच्न पनि डा. भण्डारीको सुझाव छ ।

(लक्ष्मण अधिकारी, साधना हेल्थ चैत्र २०७९ बाट साभार)

प्रतिक्रिया दिनुहोस्